काठमाडौं । नाटकीय रुपमा अंकगणित जुटाएर मंगलबार साँझ कोशी प्रदेशको मुख्यमन्त्री भएका उद्धव थापा शपथ लिनलाई माओवादी केन्द्रबाट मन्त्री बन्नेको नामको पर्खाइमा छन्।
बुधबार बिहान ७ बजे नै थापाले शपथ लिने कार्यक्रम रहे पनि उनकै आग्रहमा अन्तिम समयमा शपथ रोकिएको थियो। प्रदेश प्रमुखका सूचना अधिकारी रामकुमार श्रेष्ठका अनुसार तयारी पूरा नभएपछि बिहानको शपथ स्थगित भएको थियो।
‘मंगलबार बिहान ७ बजेका लागि शपथ कार्यक्रम राखिएको थियो। फेरि मुख्यमन्त्रीकै आग्रहमा अहिले ५ बजेलाई सारिएको छ। तर अहिलेसम्म कुनै चहलपहल छैन,’ नेपाल लाईभसँग कुरा गर्दै श्रेष्ठले भने।
सभामुख त्यागेका गौतमलाई मन्त्रीमा अवरोध
असार २१ गते बहालवाला सभामुखको हैसियतमा हस्ताक्षर गरेर मुख्यमन्त्रीमा थापालाई बहुमत जुटाइदिएका तत्कालीन सभामुख बाबुराम गौतमले मंगलबार राजीनामा दिएर पुनस् थापालई नै मुख्यमन्त्रीका लागि बहुमत पुर्याइदिए।
त्यसबीचमा सभामुखको हैसियतको हस्ताक्षरलाई सर्वोच्चले बदर गरिदिएको थियो। गौतम राजीनामा नदिने अडानमा थिए। तर, मंगलबार बिहान पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा बोलाएर ‘मन्त्रणा’ गरेपछि राजीनमा दिन तयार भएका गौतम आज बिहान कोशी प्रदेशको आर्थिक योजना मन्त्रीको शपथ लिने तयारीमा थिए।
तर, बीचमा उनको नाममा पार्टी भित्रैबाट विरोध हुन गयो। जसका कारण थापाले आफ्नो शपथ नै सार्नुपर्यो। गौतमलाई उक्त मन्त्रालय दिने निर्णयको विरोध यसअघि थापाले नै आर्थिक योजना मन्त्री बनाएका माओवादीकै जीवन आचार्यले गरेको नेताहरु बताउँछन्।
आफूले जिम्मेवारी पाए पनि काम गर्न नपाएकोले सो मन्त्रालयमा आफैं हुनुपर्ने उनको दाबी रहेकोले सहमतिका लागि माओवादीले समय मागेको एक सांसदले बताए।
आचार्य पार्टी अध्यक्ष प्रचण्डका ज्वाइँ हुन्। मंगलबारको सहमतिअनुसार थापाले शपथ लिँदा सबै दलबाट एकरएक जना मन्त्रीलाई पनि शपथ दिलाउने तय भएको र सोही अनुसार माओवादीबाट गौतमको नाम आए पनि बिहानसम्ममा परिस्थिति फेरिएको बताउँछन् कांग्रेसका सचेतक भूपेन्द्र राई।
‘मुख्यमन्त्रीले शपथ लिँदा मन्त्रीहरुलाई पनि शपथ दिलाउने र मन्त्रालय पनि तोक्ने सहमति भएको थियो। हिजो माओवादीबाट बाबुराम गौतमको नाम आएको थियो। तर आज फेरि उहाँहरुले समय माग्नु भएको छ। हामी उहाँहरुको निर्णय कुरिरहेका छौं,’ राईले भने।
माओवादीका सांसद नारायण बुर्जामगर भने पार्टीले अहिलेसम्म नाम टुंग्याएको आफूलाई जानकारी नभएको बताउँछन्।
‘कसलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीले निर्णय गरेर पठाउने हो। तर को मन्त्री बनेर जाँदैछ मलाई जानकारी छैन। पार्टी नेतृत्वले छलफल गरिरहेको होला,’ नेपाल लाईभसँग कुरा गर्दै मगरले भने।