काठमाडौं । नेपाली कांग्रेसको आठ दशक लामो इतिहासमा पहिलो महिला महामन्त्री बन्ने अवसर डा. डिला संग्रौला (पन्त) लाई मिलेको छ। कांग्रेसको १५औं महाधिवेशनको हलबाट विधान संशोधन गरी सिर्जना गरिएको महिला महामन्त्रीमा संग्रौलाले बाजी मारेकी हुन्।
महिला महामन्त्रीका तीन उम्मेदवारमध्ये संग्रौला तीन हजार ११८ मतसहित विजयी भइन्। प्रतिस्पर्धी उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले दुई हजार ८६४ मत र रीता खनालले ८०४ मत प्राप्त गरिन्। पूर्वसहमहामन्त्री उपाध्यायलाई बाहलवाला सहमहामन्त्री संग्रौलाले २५४ मतान्तरले पराजित गरिन्।
कांग्रेसको केन्द्रीय राजनीतिमा उपाध्यायभन्दा निकैपछि आइपुगेकी संग्रौलाले नेतृत्व तहमा छलाङ मारेकी छन्। २०२० सालमा दाङमा जन्मिएकी संग्रौला १६ वर्षको उमेरमै कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा अबद्ध भएर पञ्चायतविरुद्धको अभियानमा सक्रिए भइन्।
२०३६ सालको जनमतसंग्रहमा नेविसंघमार्फत सक्रिय रूपमा उनको विद्यार्थी राजनीति सुरु भयो। दाङ नेविसंघको जिल्ला कार्यसमिति सदस्य रहेकी उनी २०३८ सालमा घोराहीस्थिति महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सदस्य भइन्। २०४० सालमा मोरङका सूर्य संग्रौलासँग विवाह भएपछि उनको राजनीतिक मैदान पनि फेरियो।
त्यसपछि उनले मोरङ जिल्लालाई आफ्नो मुख्य राजनीतिक थलो बनाइन्। उनी विराटनर महानगरापालिका–११ की कांग्रेसको वडा सभापति भइन्। राजनीतिसँग उनले प्राध्यापनलाई पनि अगाडि बढाइन्। कांग्रेसको आठौंं महाधिवेशनबाट अहिलेसम्म निरन्तर महाधिवेशन प्रतिनिधि रहिन्।
२०५९ सालमा शेरबहादुर देउवाले कांग्रेस विभाजन गरी नेपाली कांग्रेस प्रजातान्त्रिक बनाएपछि संग्रौलाले साथ दिइन्। तत्काली कांग्रेस प्रजातान्त्रिकमा नीति प्रशिक्षण प्रतिष्ठानमा सदस्य भइन्।
२०७४ सालमा कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकता भएपछि संग्रौला कांग्रेस मोरङको जिल्ला उपसभापतिको जिम्मेवारीमा आइन्। त्यसपछि प्राध्यापन पेशा छोडेर पूर्णकालीन राजनीतिमा प्रवेश गरेको उनी सुनाउँछिन्।
२०६७ सालमा भएको १२औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएकी संग्रौला २०६८ सालमा नेपाल महिला संघ केन्द्रीय तदर्थ समितिको अध्यक्षमा मनोनित भइन्। तत्कालीन वरिष्ठ नेता देउवाको कोटामा महिला संघको अध्यक्ष बनेकी उनी २०७२ सालमा भएको १३औं महाधिवेशनमा केन्द्रीय सदस्य बनिन्।
२०७३ सालमा तेस्रो राष्ट्रिय महाधिवेशन गरी उमा रेग्मीलाई महिला संघको जिम्मेवारी सुम्पेर उनी पार्टी राजनीतिमा केन्द्रित भइन्। २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकबाट संग्रौलाका लागि संघीय सांसदको ढोका खुल्यो।
त्यसपछि २०७९ र २०८२ सालको प्रतिनिधि सभा चुनावी मैदान बाहिर रहिन्।
त्यस्तै, २०७८ सालमा भएको कांग्रेसको १४औं महाधिवेशनमा महिलातर्फ एक नम्बरमा मत प्राप्त गरी केन्द्रीय सदस्य निर्वाचित भइन्। गत पुसमा भएको विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेकी उनी १० महिनामै महामन्त्री बन्न सफल भइन्। देउवाको साथ छाडेर विशेष महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुनु संग्रौलाका लागि शुभ साइत बन्यो।
महामन्त्री निर्वाचित भएपछि उनले कांग्रेसलाई नयाँ उचाइ र नयाँ बाटोमा लैजान आफू प्रतिबद्ध भएर लाग्ने बताइन्। ‘कांग्रेसलाई नयाँ उचाइ र नयाँ बाटोमा लैजानेछौँ,’ संग्रौलाले नेपालखबरसँग भनिन्, ‘अहिलेको युवा पुस्ताले चाहेजस्तो कांग्रेस बनाउने हाम्रो महान् अभियानमा प्रतिबद्ध भएर लाग्नेछु।’
कांग्रेसको पहिलो महिला महामन्त्री बनेको विषयलाई आफ्नो व्यक्तिगत उपलब्धिभन्दा समग्र महिलाको गौरव र योगदानका रूपमा उनले व्याख्या गरिन्। ‘अग्रपंक्तिमा हाम्रो दिदीबहिनीहरू उभिनुभयो, युवा साथीहरू उभिनुभयो। आदरणीय दाइहरू उभिनुभयो,’ उनले भनिन्, ‘यो मेरो जित होइन कि समग्र संगठनमा भुइँमान्छेको कथा हो। महिला दिदीबहिनीका लागि गौरव हो।’
कांग्रेसभित्र आगामी दिनमा आफ्नो भूमिका थप सशक्त बनाउने संग्रौलाको भनाइ छ। ‘अब पार्टीको संगठन पुरानै ढंगले लिएर हिँडेर हुँदैन,’ उनी भन्छिन्, ‘म सधैँ रूपान्तरण र पुस्तान्तरणको पक्षमा उभिएँ। सुशासनका पक्षमा उभिएँ। अब पनि म अविचलित रूपमा लागिरहनेछु।’
प्रकाशित मिति: सोमबार, असोज २६, २०८३ १९:१७