रुपन्देही । शनिबारदेखि सुरू भएको नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा नयाँ नेतृत्वका लागि सबै पदमा आवश्यकभन्दा बढी उम्मेदवारी परेको छ ।
निर्वाचन समितिले पार्टी प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको चयनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरेको छ । निर्वाचन कमिटीले जारी गरेको प्रारम्भिक नामावलीको सूचनामा अध्यक्षमा दुई, उपाध्यक्षमा चार, सचिवमा दुई र उपसचिवमा ७ जनाको उम्मेदवारी परेको हो ।
अध्यक्षमा हरि रिजाल प्यूठान र राधाकृष्ण कँडेल पाल्पाको उम्मेदवारी परेको छ । उपाध्यक्ष पुजन विक बाँके, भोजप्रसाद श्रेष्ठ रुपन्देही, विश्वराज बराल रुपन्देही, शान्ताकुमारी वली रोल्पाले उम्मेदवारी दिएका छन् । यस्तै सचिवमा लक्ष्मण आचार्य दाङ र सोमनाथ सापकोटा गुल्मीले उम्मेदवारी दिएका छन् ।
उपसचिव पुरुषतर्फ उपेन्द्रलाल कामी, दुर्गाप्रसाद थारु, हीरा एसी र पूर्णबहादुर बुढा मगरले उम्मेदवारी दिएका छन् भने महिला उपसचिवमा आरती पौडेल, लीला राना मगर र बसन्ती अधिकारीले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी सदस्यहरूमा ३ सय ६४ जनाको उम्मेदवारी परेको छ । ५ पदाधिकारीमा १४ र २ सय सदस्यमा त्यो भन्दा धेरै उम्मेदवारी परेपछि निर्वाचन प्रकृया थालिएको हो । अहिले दावी विरोधको समय चलिरहेको र त्यसपछि उम्मेदवरी फिर्ताको समय दिइएको निर्वाचन समितिका सदस्य विष्णु खनालले बताए ।
उनका अनुसार दावीविरोधपछि साढे २ बजेपछि पुनः उम्मेदवारहरुको नमावली प्रकाशन गरिने छ । अन्य निर्वाचन प्रकृयाको समय भने अहिले तोकिएको छैन ।