काठमाडौं । विभिन्न पाँच वटा महत्त्वपूर्ण निर्णय गर्दै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलन गरी बैठक सकिएको जानकारी सहित निर्णयहरू सार्वजनिक गरेका हुन्।
बैठकले १३ देशमा नेपाली राजदूत नियुक्तिको सिफारिस गरी संसदीय सुनुवाइका लागि संघीय संसद्समक्ष पठाउने निर्णय गरेको छ।
भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा, जर्मनीका लागि शरू जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिग्यानकुमार थापा, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा। डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरिबहादुर सुनारलाई राजदूत पदमा नियुक्त गर्न सिफारिस गरिएको छ।
त्यस्तै, मन्त्रिपरिषद्को बैठकले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। त्यसैगरी साबिकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ संशोधन गरिएको छ।
यसैगरी मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गर्ने र सहसचिव रुद्रसिंह तामाङलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ।
प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३ २१:०३