चैत २०, काठमाडौं । राष्ट्रिय विकास परिषदको बैठक आजदेखि सुरु हुँदैछ । राष्ट्रिय योजना आयोगले तयार पारेको पन्ध्रौं आवधिक योजनाबारे छलफल गर्न परिषदको बैठक काठमाडौंको सोल्टी होटलमा बस्न लागेको हो । बैठक भोलिसम्म चल्नेछ ।
बैठकको अध्यक्षता परिषदको अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने कार्यक्रम रहेको छ । दुई दिनसम्म चल्ने बैठकमा उप–प्रधामन्त्री तथा मन्त्रीहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, प्रदेशका मुख्यमन्त्रीहरु, संघीय संसदका समितिका सभापतिहरु सहभागी हुनेछन् ।
बैठकमा गभर्नर, योजना आयोगका सदस्यहरु, प्रदेश सरकारका योजना हेर्ने निकायहरु, जिल्ला समन्वय समितिका प्रमुखहरु, स्थानीय जनप्रतिनिधिलगायत करिब ३ सय ५० जना सहभागी हुँदैछन् । बैठकमा पन्ध्रौ आवधिक योजनाको मस्यौदाको आधारपत्र माथि छलफल र सुझाव ग्रहण गरी आधारपत्रको अन्तिम स्वरुप दिइनेछ ।
आयोगले आगामी २५ वर्षमा समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रसहितको समान अवसर प्राप्त, स्वस्थ, शिक्षित, मर्यादित र उच्च जीवनस्तर भएको मुलुकको परिकल्पना गरेको योजना आयोगका सदस्य मीनबहादुर शाहीले जानकारी दिनुभयो । आयोगले वि.सं २१०० सम्ममा प्रतिव्यक्ति आय १२ हजार ५ सय डलर पुर्याउने मार्गचित्रसहित सुख र सम्बृृद्धिको सिर्जना गर्न पन्ध्रौं पञ्चवर्षीय योजना तयार पारेको हो ।