चैत २०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार विकास गर्नका लागि लागिपरेको बताउनुभएको छ ।
राष्ट्रिय विकास परिषद बैठकको काठमाण्डौमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार गफ गर्ने गरी वादविवाद प्रतियोगितामा भाग नलिएको भन्दै इतिहासकै धेरै सडक कालोपत्रे यो वर्ष बनेको दाबी गरे । उनले कृषिमा यान्त्रिकरण र आधुनिकीकरण गरिने बताए ।
शिक्षामा सरकारले ध्यान दिएको पनि उल्लेख गर्ने प्रधानमन्त्री ओलीले विद्यालय बाहिर विद्यालय उमेरका विद्यार्थी यो वर्षदेखि नहुनेमा जोड दिए ।
कम्युनिष्टले विकास गर्न सक्दैन भन्ने आलोकलाई प्रधानमन्त्रीले जवाफ फर्काउदै कम्युनिष्टको सरकार बनेपछि ६० वर्षमाथिका मान्छे मार्ने हल्ला चलाएको स्मरण गराउदै जनतालाई तर्साउने गरी अधिनायकवाद आउँदै छ भनेर झुठको खेती नगर्न उनले प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आग्रह गरे । ओलीले कोसी नदीमा डुंगाको ठाउँमा स्टीमर चलेको बताए ।
राष्ट्रिय योजना आयोगले तयार पारेको २५ वर्षे दीर्घकालीन सोचसहितको १५औं योजनाको आधार पत्रको मस्यौदालाई अन्तिम रूप दिन दुई दिने राष्ट्रिय विकास परिषदको बैठक बोलाइएको हो ।
बैठकमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार, उपप्रधानमन्त्री, मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, संघीय संसद विषयगत समितिका सभापति, सांसद, विज्ञसहित ३ सय ५० जनाभन्दा बढीको सहभागिता रहेको छ । मुलुकलाई समृद्ध बनाउने सूचकसहितको १५ औं योजनाको आधार पत्रलाई अन्तिम रूप दिन प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेका राष्ट्रिय विकास परिषदको बैठक बोलाइएको राष्ट्रिय योजना आयोगका प्रवक्ता किरण रुपाखेतीले जानकारी दिए ।
आयोगले ‘समृद्ध नेपालः सुःखी नेपाली’ बनाउने मुख्य लक्ष्यका साथ १५ औं योजनाको आधार पत्रको मस्यौदा तयार पारेको हो । मस्यौदालाई अन्तिम रूप दिन राष्ट्रिय विकास परिषदको बैठक बोलाइएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले पनि जानकारी दिए । उनले परिषद बैठकले आवश्यक सुझाव दिएपछि दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्र वैशाख पहिलो हप्ताभित्र सार्वजनिक गरिसक्ने पनि बताए ।
आयोगले तयार पारेको १५ औं योजनाको आधार पत्रको मस्यौंदामा कृषि, उर्जा, खनिज र पर्यटन क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने उल्लेख गरिएको छ । २५ वर्षे दीर्घकालीन सोचसहितको सो आधार पत्रको मस्यौदामा ५ वर्षभित्र मुलुकमा समृद्धको सृजना गर्ने, १० वर्ष्भित्र समृद्धिका लागि आवश्यक काममा तीव्रता दिने कार्यक्रम पनि समावेश गरिएको आयोगका प्रवक्ता रुपाखेतीले बताए ।