काठमाडौं । सरकारले तीनवटै सुरक्षा निकायका लागि साढे दुई सय सवारीसाधन खरिद गर्न स्वीकृति दिएको छ । अर्थ मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई २ सय ५१ वटा चारपांग्रे सवारी खरिद गर्न सवा अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको हो ।
गृह मन्त्रालयले प्रहरीका लागि १ सय ७५, सशस्त्रलाई ७० र विभागलाई ६ वटा सवारी किन्न अर्थबाट बजेटको स्रोत सुनिश्चित भएर आएको जनाएको छ । यसका लागि प्रहरीलाई ८० करोड, सशस्त्रलाई ४४ करोड र विभागलाई ३ करोड रुपैयाँको बजेट सुनिश्चित गरिएको हो ।
यसमध्ये प्रहरीको ३५ करोड र सशस्त्रको २१ करोड रुपैयाँ चालु आवका लागि विनियोजन गरिएको बजेटभित्रैबाट खरिद गर्ने गरी व्यवस्थापन गरिएको हो । दुवै प्रहरीलाई थप ४८ करोड भने भैपरी शीर्षकबाट बजेट व्यवस्थापन गरिएको छ । स्रोत सुनिश्चित गरिएको बजेटबाट सवारीसाधन खरिद प्रक्रिया छिट्टै अघि बढाइने दुवै सुरक्षा निकायका अधिकारीहरूले जानकारी दिए ।
२४ भदौको प्रदर्शनमा प्रहरीका ५ सय २५ र सशस्त्रका ६२ सवारीसाधनमा तोडफोड र आगजनी भएको थियो । त्यसपछि तीनवटै सुरक्षा संयन्त्रले गृहमार्फत भौतिक संरचना व्यवस्थापनका लागि आवश्यक बजेट जोहो गरिदिन आग्रह गर्दै अर्थ मन्त्रालयमा पत्र पठाएका थिए । क्षति पुगेका सवारीसाधनबारे प्रारम्भिक अध्ययनपछि हाललाई सवा अर्ब रुपैयाँ बराबरका सवारीसाधन खरिद गर्न बजेट व्यवस्थापन गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
२४ भदौमा तोडफोड र आगजनीमा प्रहरीका मात्रै ४ सय ५५ ब्यारेक तथा कार्यालयमा क्षति पुर्याइएको थियो । यसमध्ये २ सय ५८ ब्यारेकरकार्यालयमा पूर्ण र १ सय ९७ मा आंशिक क्षति पुगेको थियो । त्यसपछिको विषम परिस्थितिमा पनि समुदायसँगको सहकार्यमा ४ सय १ कार्यालयलाई अस्थायी मर्मत र रङरोगन गरी प्रहरी नियमित काममा फर्केका थिए ।
जलेर ध्वस्त भएका भवनहरूको क्षति मूल्यांकन भइनसकेको, सञ्चार उपकरण भइरहेकाबाटै काम चलाइएको र सवारीसाधनको हकमा माग भएभन्दा निकै कम मात्रामा खरिद गर्न बजेट सुनिश्चित भएर आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तोडफोड तथा आगजनी भएपछि अस्थायी व्यवस्थापन गरेर काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसहित देशभर क्षति पुगेका युनिटलाई अस्थायी व्यवस्थापन गरी सुचारु गरिएको थियो । आंशिक क्षति पुगेका कार्यालयहरू भने रङरोगन र र मर्मत गरी पुरानै ठाउँबाट काम सुचारु गरिएकामा सवारीसाधनको भने अभाव देखिएको थियो ।
प्रदर्शनको मौका छोपेर २८ कारागार र बाल सुधारगृहबाट १४ हजार बढी कैदीबन्दीहरू जेल तोडेर भागेका थिए । प्रहरीका मात्रै १ हजार २ सय ७६ नाल हतियार र करिब १ लाख राउन्ड गोली लुटपाट र गायब पारिएका थिए । ब्यारेक मात्र होइन, सुरक्षा निकायका पोसाक र सञ्चार उपकरणहरू पनि लुटपाट भएका थिए ।
प्रहरी प्रधान कार्यालयका अनुसार जेल र प्रहरी हिरासत कक्षबाट भागेका करीब ५ हजार कैदीबन्दी र थुनुवा अहिले पनि बाहिरै छन् । लुटिएकामध्ये २ सय ५८ नाल इन्सास र एसएलआर तथा २ सय ७१ नाल साना हतियार नियन्त्रणमा आउन सकेका छैनन् । जेन–जी प्रदर्शनको भोलिपल्ट ३ प्रहरीको हत्यासहित सरकारी, सार्वजनिक र निजी तथा औद्योगिक प्रतिष्ठानरकार्यालयमा तोडफोड र आगजनीमा संलग्नमध्ये २ सय ३७ जना पक्राउ परिसकेका छन् । अपराधमा संलग्न पहिचान भएका अरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२ ०६:४४