विराटनगर । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ मुख्यमन्त्री नियुक्ती प्रक्रिया शुक्रबार (आज) अपराहन्ह ५ बजेपछि थाल्ने प्रतिक्रिया दिएका छन् ।
नेपाली काँग्रेस कोशी संसदीय दलमा विद्रोहको नेतृत्व गरेका सांसद केदार कार्कीले गरेको भेटघाटका क्रममा प्रदेश प्रमुख खापुङले यस्तो बताएका हुन् ।
विराटनगरस्थित काँग्रेस कार्यलयमा प्रदेश कार्यसम्पादन समितिको बैठक चलिरहँदा कार्कीसहितका केही काँग्रेस सांसदहरू भने प्रदेश प्रमुखलाई भेट्न गएका थिए।
प्रदेश प्रमुख कार्यालयका एक कर्मचारीका अनुसार कार्कीसहितको टोलीले मुख्यमन्त्री नियुक्ति प्रक्रियाबारे जिज्ञासा राखेको थियो।
‘उहाँहरूले अब प्रक्रिया कसरी अघि बढ्छ भन्ने जिज्ञासा राख्नुभयो’ ती कर्मचारीले भने ‘प्रमुखज्यूले अबको प्रक्रियाबारे बताउनुभयो।’
ती कर्मचारीका अनुसार प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा दाबी गर्न आफूले प्रदेशसभा सदस्यहरूलाई दिएको अन्तिम समय आज साँझ पाँच बजेसम्म भएको र त्यसपछि आवश्यक प्रक्रिया सुरू गर्ने जवाफ दिएका थिए।
‘आज साँझ ५ बजेसम्मको समय मैले दिएको छु’, काँग्रेस नेताहरूलाई खापुङले भने ‘ त्यो समय सकिएपछि आवश्यक प्रक्रिया थाल्नेछु।’
प्रदेश प्रमुखले त्यसपछि कानुनी परामर्श थाल्ने, अहिले परेका दाबीपत्रमाथि कारवाही थाल्ने तयारी गरेको प्रदेश प्रमुख कार्यालय स्रोतको भनाइ छ।
‘हामी कानुनी परामर्श गरेर, संविधान अनुसार प्रक्रिया अघि बढाउँछौं’, स्रोतले भन्यो। स्रोतका अनुसार प्रदेश प्रमुखले आवश्यक परे दुवै पक्षका सांसदलाई सनाखतका लागि बोलाउन सक्नेछन्। त्यो काम कहिले हुन्छ भन्ने् चाहिँ यकिन भइसकेको छैन।
कोशीमा मुख्यमन्त्री दाबी गर्दै सत्ता गठबन्धनबाट इन्द्रबहादुर आङ्बोले र एमालेको समर्थनमा काँग्रेसका ८ सांसदको हस्ताक्षरसहित केदार कार्कीले पनि बिहीबार दाबीपत्र पेश गरेका छन्।
मुख्यमन्त्रीमा दाबी गरेका कार्कीसहितका ८ जना आफ्ना सांसदलाई हस्ताक्षर फिर्ता लिएर गठबन्धनको निर्णय अनुसार माओवादी नेता आङ्बोलाई मुख्यमन्त्रीमा सघाउन काँग्रेसले आग्रह गरेको छ।
प्रदेश कार्यसम्पादन समितिको शुक्रबारको बैठकले यस्तो निर्णय गरेको हो।