काठमाडौं । प्रमुख राजनीतिक दलहरुबीच संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि एकजुट बनेका छन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आयोजना गर्नुभएको शान्ति सम्झौतामा नेतृत्वदायी भूमिका खेल्ने दलहरुको सर्वदलीय बैठकमा प्रमुख दलहरुले यस्तो सहमति गरेका हुन ।
बैठकमा पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध संगठितरुपमा जनतामा उत्तेजना फैलाउने र यसका नेतृत्वकर्तामाथि आपत्तिजनक लाञ्छना लगाउने क्रम बढेको निश्कर्षसहित एकजुट बनेका हुन । बैठकले केही समययता प्रमुख दलका शीर्ष नेता र ब्यवस्थाबिरुद्ध भइरहेको गतिबिधि सुनियोजित रहेको ठहरसमेत गरेको छ ।
बैठकमा सहभागी नेकपा माओवादी केन्द्रीकी उपाध्यक्ष पम्फा भुसालले शान्ति र संविधानमाथिको प्रहारलाई एकजुट बनेर प्रतिवाद गर्ने निचोड बैठकले निकालेको जानकारी दिनुभयो ।
‘यदाकदा पानीको फोकाजस्तो छिटफुट देखापरेका प्रहारविरुद्ध मिलेर प्रतिवाद गर्ने सर्वसम्मत निष्कर्ष निस्कियो,’ बैठकको निर्णय सुनाउँदै भुसालले भन्नुभयो, ‘जीवनभरी लडेका परिवर्तन गरेका नेताहरू गणतन्त्रको रक्षा गर्नेमा प्रतिवद्ध छौं ।’
बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार निरिह बनेकोले ब्यवस्थाबिरोधी तत्वहरु सल्बलाएको भन्दै गम्भीर ध्यानाकर्षण गराउनु भएको थियो । एमाले सचेतक महेश बर्तौलाका अनुसार सरकारको अकर्मण्यताले छाडातन्त्र मौलाएको, गृहप्रशासन कमजोर भएको विषयमा ध्यानाकर्षण गराइएको हो ।
‘शान्ति, संविधान र व्यवस्था भड्काउने जनतामा निराशा जगाउने प्रवृत्तिबारे ध्यानाकर्षण गरायौं । जनस्तर र सामाजिक सञ्जालबाट भ्रामक टिकाटिप्पणी गराउने खेती भइरहेको छ । यसबारे गम्भीर बन्न प्रधानमन्त्रीलाई भनेका छौं’, बैठकपछि बर्तौलाले भन्नुभयो ।
बैठकमा राजनीतिक परिवर्तनको सापेक्षतामा जनता सन्तुष्ट भने नभएको अहिलेको परिवेशमा दल, सरकारी निकाय र सरोकारवाला बसेर वर्तमान आर्थिक चित्र प्रस्तुत गरी निष्कर्षमा पुर्याउने गरी योजना बनाउन प्रधानमन्त्री दाहालले प्रतिवद्धता जनाउनु भएको छ ।
बैठकमा शीर्ष नेताले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति आफूहरुको निष्ठा अविछिन्न रहेको प्रतिबद्धता व्यक्त गर्दै त्यसको विरुद्ध हुने अराजकताको विरूद्ध डटेर सामना गर्ने बताउनु भएको छ ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शान्ति सम्झौतामा नेतृत्वदायी भूमिका खेल्ने पार्टीहरु बीचको समिक्षा बैठक मात्र भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘परिवर्तनका बाहकहरु एकठाउँमा बसेर सामान्य समिक्षा गर्ने कुरा आफैंमा एउटा परिणाम भएको ठान्दै महत्वपूर्ण यस छलफललाई मैले भएको मानेको छु ।’
उहाँले छलफलमा सबै दलहरुबाट संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानप्रति पूर्ण प्रतिवद्ध रहेको कुरा सबलरुपमा उठेको उल्लेख गर्दै यसको रक्षाको लागि मैदानमै उत्रिनेसम्मको भावना ऐतिहासिक प्रक्रियामा दुरगामी अर्थ राख्ने बताउनुभयो । प्रधानमन्त्रीले आफूले धेरै ठूलो संकट परेर बैठक बोलाएको नभई अराजकता र अस्थिरताका प्रवृत्तिहरु देखा परेकाले परिवर्तनका बाहक शक्तिहरुले आफ्नै समिक्षा गर्नुपर्ने भएको बताउनुभयो ।
यस्ता छलफलले नै त्यसप्रकारका प्रवृत्तिको प्रतिवाद हुने र परिवर्तनलाई कार्यान्वयन र परिमार्जनमा सहयोग पुग्ने उहाँको धारणा थियो । प्रधानमन्त्रीले बैठकको औचित्य, आवश्यकता र संघीय लोकतान्त्रिक गणतन्त्र बारे सहभागी सबै दलहरु एकै छौं भन्ने प्रष्ट देखिएको बताउनुभयो ।