जाजरकोट । जाजरकोट भुकम्प प्रभावितहरुको खोज, उद्धार तथा पुनःनिर्माणमा लागि नेकपा (एमाले)को एक सय सदस्यीय स्वयम्सेवक टोली जाजरकोट जिल्ला सदरमुकाम खलंगा पुगेको छ ।
भुकम्पले भग्नावशेष भएका वस्तीहरुको खोज, उद्धार र अस्थायी घर/टहरा निर्माण गर्न एमाले पोलिटव्युरो सदस्य विनोद श्रेष्ठ नेतृत्वको एक सय सदस्यीय केन्द्रीय फोर्स भुकम्प प्रभावित क्षेत्र पुगेको हो ।
पार्टी केन्द्रको निर्णय अनुसार भग्नावशेष हटाउन, अवरुद्ध बाटो पञ्छाउने, खुला आकाशमुनि बसेकाहरुका लागि अस्थायी टहरा बनाउने कामका लागि जाजरकोट पुगेको स्वयम्सेवक टिम (भोली) मंसिर एक गतेदेखि परिचालन हुने टोलीको नेतृत्व गर्नु भएका पार्टीका पोलिटव्यूरो सदस्य तथा एमालेको मजदुर संगठन ट्रेटयुनियमन महासंघ (जिफण्ट) का अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिनुभयो ।
‘एमालेको एक सय सदस्यीय केन्द्रीय फोर्स भुकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेको छ’ नेता श्रेष्ठले भन्नुभयो, ‘भुकम्प प्रभावित क्षेत्रको खोज, उद्धार र अस्थायी आवास निर्माणको काममा दुई सय जना स्वयम्सेवकको टोलीले भोली मंसिर १ गते भेरी नगरपालिका वडा नम्बर ३ माथिल्लो थाप्लेबाट काम शुरु गर्नेछ ।’
एमालेको स्वयम्सेवक टोलीले पहिलो काम भग्नावशेष पञ्छाउने, बन्द भएका बाटोघाटोहरु खुलाउने, खुल्ला आकाशमुनी बसेकालाई सुरक्षित आवासमा सार्ने, अस्थायी सौचलाय निर्माण गर्ने काम गर्ने टोली नेता श्रेष्ठले जानकारी दिनुभयो ।
पार्टी केन्द्रको निर्णय अनुसार १५ दिनसम्म स्वयम्सेवकले भुकम्प प्रभावित क्षेत्रमा निरन्तर काम गर्ने बताउनु भएका श्रेष्ठका अनुसार अन्य स्वयम्सेवक केहि दिनमा जोडिदै जानु हुनेछ ।
एमालेले २३ वटा जनसंडगठनबाट ४ सय, प्रदेश सम्पर्क किमिटबाट एक सय, लुम्बीनी प्रदेशबाट २५०, कर्णाली १५०, कोशी र मधेश प्रदेशबाट २५/२५, गण्डकी, बाग्मती र सुदूरपश्चिम प्रदेशबाट ५०/५० र उपत्यका प्रदेशबाट २५ जना गरी एक हजार स्वयम्सेवक परिचालन गर्ने निर्णय गरेको छ ।