सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा अत्याधिक जाडो बढ्दै गएको छ ।
पुस महिनामा अत्याधिक रुपमा बढ्दै गएको जाडोका कारण शैक्षिक शत्रको वार्षिक परिक्षामा परिक्षार्थीहरु घाममा बसेर परिक्षा दिइरहेका छन् । कक्षा कोठा भित्र धेरै जाडो हुन थालेपछि वालवालिकाहरु घाममा बसेर वार्षिक परीक्षा दिन थालेका छन् ।
हुम्लामा विगतका वर्ष झै हिमपात नभएपनि चिसो अत्याधिक हुने हुँदा खुल्ला चौरमा डेस्क, बेन्च राखेर विद्यार्थी यो वर्षको वार्षिक तथा अन्तीम परीक्षा दिइरहेका छन् । चिसोले सबैभन्दा वढी विद्यार्थीलाई समस्या बनाएको छ । चिसो बढेपछि यहाँका विद्यालयले खुला चौरमा परीक्षा सञ्चालन गरिरहेका छन् ।
कक्षा कोठा भित्र चिसो बढी हुने हुँदा सिमकोट गाउँपालिका वडा नम्वर ८ साँता गाउँमा रहेको बलभद्र आधारभूत विद्यालयका विद्यार्थीलाई घाममा राखेर परीक्षा सञ्चालन गरेको सोही विद्यालयका प्रधानध्यापक प्रेमकला बुढाले बताउनुभयो ।
प्रधानध्यापक बुढाले भनिन, ‘स–साना बालबालिकाले यो चिसोको समय हिउँद याममा कक्षा कोठा भित्र बसेर परीक्षा दिन नसक्ने अवस्था आएपछि चौरमै डेस्क, बेन्च राखेर वार्षिक परीक्षा सञ्चालन भइरहेको छ ।’
चिसोले कक्षा कोठा भित्र लेख्न नसक्ने भएपछि चौरमै बसेर परीक्षा दिने व्यवस्था गरिएको बताएकी प्रधानध्यापक बुढाका अनुसार विद्यार्थीले कक्षा कोठाभित्र चिसोले परीक्षा दिन समस्या भएको बताएपछि घाममा बसेर परीक्षा दिने व्यवस्था गरिएको हो ।
बलभद्र आधारभूत विद्यालय साँतामा १ सय ६२ जना विद्यार्थी रहेका छन् भने कक्षा एक देखि छ सम्म पठनपाठन हुँदै आएको छ । हाल ८ जना शिक्षक सोही विद्यालयमा कार्यरत रहेका छन् । वार्षिक परीक्षा सकिएपछि ४५ दिनका लागि विद्यालय हिउँदे विदा हुने गरिएको छ ।
सिमकोट गाउँपालिकाले वडा १ देखि ८ सम्म आफ्नो मातहतमा रहेका आधारभूत, निम्नमाध्यामि, माध्यामिक विद्यालयमा आजबाट एकसाथ वार्षिक परीक्षा सञ्चालन गरेको हो । सात गाउँपालिका रहेको जिल्लाका अधिकांश विद्यालयमा अहिले वार्षिक परीक्षा सञ्चालन भइरहेको छ । भने अधिकांश विद्यालयहरुले खुला चौरका पारिलो घाममा विद्यार्थीको परीक्षा लिइरहेका छन् ।
सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा थप चिसो अत्याधिक बढेको छ । जिल्लामा हिमपात नभएपनि हिउँदयाममा चिसो अत्याधिक हुने गरेको छ । यस्तै तापक्रम माइनसमा झरेको छ । हिमपात भयो भने जिल्लाको तापधक्रम माइनस १५ डिग्री भन्दा बढीमा झर्ने गरेको छ ।