काठमाडौं । सत्ता समीकरण परिवर्तन हुने निश्चित भएपछि नयाँ समीकरण निर्माणका लागि प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेता सहभागी छन् ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल सहभागी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि बालुवाटार बैठकमा छन् । नेताहरूबिच आजै नयाँ मन्त्रिमण्डल पुनर्गठन गर्नेबारे छलफल भइरहेको छ ।
हिजो राति बालुवाटारमा भएको सहमति अनुसार कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमालेसहितको नयाँ सत्ता समीकरण बनाउन नेताहरू सहमत भएका छन् । सोही अनुसार एमाले सचिवालय बैठक बसेर नयाँ सरकार गठन, सरकारमा सहभागी हुने दल, दलबाट पहिलो चरणमा पठाइने मन्त्री र मन्त्रालयको भागबन्डा गर्न नेताहरू बालुवाटारमा छलफलमा जुटेका हुन् ।
नेताहरूका अनुसार नयाँ गठबन्धनमा एमाले, माओवादी, रास्वपा, जसपा, जनमत र नाउपाको बन्ने लगभग पक्का भए पनि अन्तिम निर्णय गर्न बाँकी रहेको छ ।
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन भई सानो आकारको मन्त्रीमण्डल बन्ने बताएका छन्। सत्ता गठबन्धन टुटका संकेत आइरहँदा एमाले उपाध्यक्ष पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत् आजै सानो आकारको मन्त्रीमणडलले शपथ लिने जानकारी दिएका हुन्।
यता, बालकोटमा आज बिहान बसेको एमालेको सचिवालय बैठकपश्चात् एमालेका उप(महासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले कांग्रेससँगको गठबन्धन तोडे आफूहरू सरकारमा जान तयार भएको बताएका थिए।
यो पनि पढ्नूहोस्स् नयाँ सत्ता समीकरणमा रास्वपाको भूमिकाको निर्णय गर्ने जिम्मा लामिछानेलाई
एमालेसँग यसअघिको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थममन्त्री प्रकाशशरण महतका कारण आफूलाई सरकार चलाउन असजिलो भइरहेको बताएको ज्ञवालीले जानकारी गराएका हुन्।
‘प्रधानमन्त्रीले अर्थमन्त्रीले लिएका गलत नीतिका कारण अर्थतन्त्र असजिलोमा पर्यो भन्नु भएको छ। जसकारण आफूलाई सरकार चलाउन अप्ठ्यारो परेको पनि बताउनु भएको छ,’ ज्ञवालीले भनेका थिए।
सत्ता गठबन्धनमा रहेका कांग्रेसलगायतका दलबीच समझदारी नमिल्दा हिजोदेखि नै सत्ता तथा प्रतिपक्षीय दलहरू सरकार परिवर्तनको दौडमा छन् ।
प्रतिनिधिसभा बैठक स्थगित
विकसित राजनीतिक घटनाक्रमपछि प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक स्थगित हुने भएको छ । संसद सचिवालयका एक अधिकारीले बैठक स्थगित हुनेबारेको मौखिक जानकारी आएको भन्दै केहीबेरमै बैठक स्थगितबारे सूचना निकाल्ने तयारी भएको जानकारी दिए ।
प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेका लागि तय भएको थियो भने प्रधानमन्त्री प्रचण्डले संसदलाई सम्बोधन गर्ने कार्यसूची थियो ।