काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी अधिकृतहरुको गोप्य बैठक बसेको छ ।
तीन घन्टाभन्दा लामो समयदेखि प्रहरी उच्च अधिकृतहरुको बैठक चलिरहेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बोलाएको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक यतिबेलासम्म जारी रहेको हो ।
आईजीपी कार्कीलाई सरकारले हटाउने तयारी गरेको भन्दै आएका विवरणहरुपछि उत्पन्न परिस्थितिका बीच समसामयिक विषयमा छलफल गर्न भन्दै यो बैठक बोलाइएको थियो । प्रहरी नायब महानिरीक्षक (डीआईजी) देखि माथिल्लो तहका अधिकारीहरू सहभागी बैठकमा आईजीपीलाई हटाउने भन्दै आएका विषयवस्तुप्रति नै केन्द्रित रहेर छलफल भइरहेको छ ।
प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार, महानिरीक्षक कार्कीको ब्रिफिङपछि हरेक अधिकारीहरूले आफ्नो धारणा राखिरहेका छन् । धारणा राखेका कतिपय अधिकारीहरूले बाहिर आएका विषयवस्तुले राम्रो सन्देश नजाने भन्दै प्रधानमन्त्री कार्यालयमा सामूहिक रुपमा उपस्थित भएर आफूहरुको कुरा राख्नुपर्ने बताएका छन् ।
‘संगठन बनाउने हो, जाउँ साथी हो भन्ने खालको कुरा कतिपयले गरेका छन्,’ प्रहरी स्रोतले भन्यो, ‘केही अधिकृतहरूले चाहिँ प्रहरी अधिकृतहरू आफैं अनुशासित नभएको, संगठन बिगारेका कारण सरकारले प्रवेश गर्न खोजेको हो भनेका छन् । आफैंले ठाउँ नभएको भए यस्तो हुन्थेन भन्ने पनि केहीले कुरा राखेका छन् ।’
यो बैठकका लागि सातै प्रदेशका प्रहरी प्रमुख रहेका डीआईजीहरूलाई पनि आकस्मिक रुपमा काठमाडौं बोलाइएको थियो । आईजीपी कार्कीले बुधबार मात्रै उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्र र जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूदेखि प्रहरी निरीक्षक तहसम्मका कार्यालय प्रमुखलाई भर्चुअल कन्फरेन्समार्फत सम्बोधन गरेका थिए । त्यसक्रममा उनले प्रहरी अधिकारीहरू एकअर्काविरुद्ध र आफ्नै संगठनका सहकर्मीविरुद्ध लाग्ने गरेको भन्दै त्यसो नगर्न सचेत गराएका थिए ।
ब्याचीहरूबीचसमेत सौहार्दपूर्ण सम्बन्ध कायम हुन छाडेको भन्दै आईजीपी कार्कीले त्यसमा सुधार ल्याउन खोजेको बताएका थिए । ‘ती विषयहरू फेरि पनि उठ्नेछन्,’ एक अधिकृतले भने ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३ २०:१२