काठमाडौं । सत्ताको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।
यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट ९भेप० मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।
महरालाई रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट काठमाडौं ल्याइएको छ । उनलाई बिहान १० बजेर २७ मिनेटमा एती एयरलाइन्सको उडान नम्बर वाईटी ८९२ बाट काठमाडौं ल्याइएको छ ।
पस्केको भात छोडेर भारत भाग्दै थिए महरा
घडीको सुईले बिहानको ९ बजेको संकेत गर्दै थियो । सुन तस्करीमा संलग्न भएको भनिएका माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुको मायादेवी १ पकडी स्थित वकिल मुसलमानको घरमा बिहानको खाना खाने तयारीमा थिए ।
स्रोत भन्छ, ‘महराले खाना खानलाई साबुन पानीले हात धोइसकेका थिए । त्यसैबेला उनलाई प्रहरीले पछ्याइरहेको सूचना पुग्यो । अनि उनी भात नै नखाई बाग्मती ०१०२७ च १९९३ नम्बरको रातो प्राडो गाडीमा चढेर अलिगढवा नाकातिर हुइँकिए ।’
महरा सवार गाडी रोक्न पकडी प्रहरी चौकीले ब्यारियर तेर्स्याएको स्रोतको भनाइ छ । तर, गाडी ब्यारियर छलेर भाग्यो । केही पर पुगेपछि प्रहरीले उनलाई घेरा हालेर पक्राउ गरेको थियो ।
स्रोतका अनुसार कपिलवस्तुको अमरगढवा नाका हुँदै भारत भाग्ने योजनाका साथ कपिलवस्तु पुगेका थिए । उनलाई अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको कार्यालयमा राखिएको छ ।
विमानस्थलबाट प्रधानमन्त्रीलाई फोनः विप्लवसँग जम्काभेट
सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा सोमबार पक्राउ परे । उनलाई बर्दघाटबाट पिछा गरेको प्रहरीले कपिलवस्तुको पकडी पुगेर पक्राउ गरेको हो ।
महरालाई रुपन्देही छिरेर गाडी फेरेर जान निकटस्थले दिएको सल्लाह नमानीकन महरा रातो गाडीमा गन्तव्यमा हिँडेका थिए । प्रहरीले रुपन्देहीमै उनलाई पक्राउ गर्न खोजे पनि ब्यारियरमा नरोकी गाडी हुइँक्याइएको थियो । तर पछि ब्यारियर नै रोकेर समातिएको हो ।
पक्राउपछि रुपन्देही प्रहरीको गाडीमा राखेर एयरपोर्ट ल्याइएको प्रहरी स्रोतले बताएको छ । ९ बजे उड्ने यति एयरलाइन्समा उनलाई काठमाडौं फर्काउन खोजिएको थियो । तर, जहाज डिले भयो ।
भैरहवा विमानस्थल पुगेपछि पूर्वमाओवादी नेता नेत्रविक्रम चन्द विप्लवसँग उनको जम्काभेट भयो । सोही समयमा महराले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि मोबाइलमा कुरा गरेका थिए । प्रचण्डले ‘आउनुहोस्, प्रहरीले समातेपछि यही बसेर कुरा गरौला, अब रोक्ने कुरा भएन’ भनेको स्रोतले जनाएको छ ।
सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले माओवादी उपाध्यक्ष महरामाथि पनि मुद्दा चलाउन सिफारिस गरेको थियो । आयोगले चैत १ गते प्रतिवेदन बुझाएसँगै महराले चलखेल सुरु गरेका थिए । गृहमन्त्री रवि लामिछानेले जाँचबुझ आयोगको प्रतिवेदन पढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए । त्यसको भोलिपल्ट प्रधानमन्त्री दाहाललाई प्रतिवेदन बुझाएका थिए ।
प्रधानमन्त्रीसँगको भेटमा गृहमन्त्री लामिछानेले माओवादी उपाध्यक्ष महराका विषयमा पनि कुराकानी गरेको स्रोतले जनाएको छ ।
त्यसपछि महरा भाग्न खोजेका थिए । उनले काठमाडौं छोडेको खबर प्रहरीमा पुगेको थियो । त्यसपछि प्रहरीले कडाइ गरेको थियो ।
स्रोतका अनुसार महरा भारततर्फ जानको लागि तयारी गरेका थिए । यो सूचना पाएको प्रहरीले नाकामा कडाइ गरिरहेको चाल पाएपछि महरा अर्को बाटोबाट लागेका हुनसक्ने अनुमान गरिएको छ । राजमार्ग छाडेर हुलाकी मार्ग प्रयोग गरेकाले यो सम्भावना बलियो रहेको प्रहरी अधिकृत बताउँछन् ।
विद्युतीय चुरोट (भेप) मा सुन तस्करी गरेर ल्याएको आरोपमा महराका छोरा राहुल विरुद्ध मुद्दा चलिरहेको छ । राहुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जिल्ला अदालत, काठमाडौंमा दर्ता गरेको अभियोग पत्रमा उल्लेख छ ।
सुन तस्करीमा संलग्न व्यक्तिसँग माओवादी नेता महराको बारम्बार टेलिफोन संवाद भएको अनुसन्धानमा देखिएको थियो । त्यसका आधारमा सीआईबीले अनुसन्धान अगाडि बढाएको थियो । तर राहुलमाथि मुद्दा दर्ता गरिएको भए पनि महरालाई उन्मुक्ति दिइएको थियो ।