वैशाख १९, काठमाडौँ । पहिलो पटक मानिसमा प्राण घातक रोग बर्ड फ्लू देखा परेको छ । पशुपंक्षिमा लाग्ने बर्ड फ्लूका कारण काभ्रेका २१ वर्षीय एक युवकको मृत्यु भएको हो । मृतकको नाम भने खुलाइएको छैन ।
बिहीबार स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले ती व्यक्तिको एच फाइभ एन वान (बर्ड फ्लू) का कारण मृत्यु भएको पुष्टि गर्दै ‘अप्रत्यासित घटना भएको’ बताइन्।
ती युवा गत चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका थिए। उनको र्यालको परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। उनलाई चैत ११ गते नै इन्फ्लुएन्जाको औषधि दिइएको थियो ।
तर, स्वासप्रस्वासमा समस्या भई चैत १५ गते नै उनको उपचारका क्रममा मृत्यु भएको थियो। उनको मृत्युपछि प्रयोगशालामा परीक्षणका लागि पठाइएको र्यालमा कुन भाइरस हो भन्ने प्रमाणित भएको थिएन । नमुनालाई थप परीक्षणका लागि जापान पठाइएको थियो।
नमुनाको नतिजा बैसाख १७ गते मंगलबार नेपाल आएको थियो। नमुनामा बर्ड फ्लु भएको उल्लेख थियो। प्रधानमन्त्री कार्यालयको परामर्शपछि बिहीबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरिएको हो।
मानिसमा पनि बर्ड फ्लू भेटिएको यो नेपालमा पहिलो पटक हो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनका अनुसार बर्ड फ्लु भनेको एभियन इन्फ्लुएन्जा टाइप ए नामक सूक्ष्म भाइरसका कारण लाग्ने प्राणघातक रोग हो ।
यस प्रकारका भाइरसले अतिछिट्टै आफ्नो वंशाणुगत स्वरुपमा परिवर्तन गर्नसक्ने क्षमता बोकेको हुन्छ। यस क्रममा शरीरका कोषसँग समायोजन भएर नयाँ किसिमका हानिकारक जीवाणु जन्मन्छ, जुन पशुबाट मानिसमा सर्छ।