काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाजले प्रविधिमा जति विकास गरे पनि मानिसलाई खानको लागि अन्न नै चाहिने बताउनुभयो ।
शनिबार अखिल नेपाल किसान महासंघ काठमाडौं र कागेश्वरी नगरपालिकाद्वारा २१ औँ राष्ट्रिय धान दिवसका अवसरमा आयोजित कार्यक्रम बोल्दै पोखरेलले भौतिक हिसाबले शिखर नै चुमे पनि मान्छेले बाँच्नको लागि अन्न खानै पर्ने बताउनुभयो । ‘अरू प्रकारका समृद्धिले मानिसलाई सुख दिन सक्दछ, जीवन दिन सक्दैन’, उहाँले भन्नुभयो ।
उहाँले किसानले श्रम नगर्ने हो भने मानव जीवन सम्भव नभएको बताउनुभयो । ‘त्यसैले किसान मानव जीवनका भाग्य विधाता हुन्, तर पनि किसानलाई समाजले जुन प्रकारले सम्मान दिनु पर्दथ्यो, त्यो सम्मान स्थापित हुन सकेको छैन’, उहाँले भन्नुभयो । मानव जीवनको लागि खाद्यान्न उत्पादन गर्ने किसान स्तुत्य रहेका उहाँले बताउनुभयो । उनीहरू मानव जातिको सम्माननीय रहेको पोखरेलले स्पष्ट पार्नुभयो ।
जनसङ्ख्याको ठुलो हिस्सा अहिले पनि कृषिमा जोडिएका भए पनि नेपालमा अहिले पनि कृषिले जीवन धान्नको लागि आम्दानी दिन नसकेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । कृषि अहिले पनि निर्वाहमुखी उत्पादन प्रणालीमा नै रहेको पोखरेलले बताउनुभयो ।
समृद्ध नेपाल, सुखी नेपालीको संकल्प पुरा गर्न कृषि प्रणालीलाई आधुनिकीकरण गर्नुपर्नेमा पोखरेलले जोड दिनुभयो । निर्वाहमुखी उत्पादन प्रणालीलाई व्यावसायिक र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा ध्यान दिन नसक्दा समाज अघि बढ्न नसकेको पोखरेलले बताउनुभयो ।
पुरानो पुस्ताले राजनीतिक परिवर्तनको लागि जीवन बलिदान गरेको भन्दै उहाँले राजनीतिक परिवर्तनले मात्र देश नबन्ने बताउनुभयो । समाज विकासको लागि अब आर्थिक, सामाजिक समृद्धिको दिशामा अघि बढ्नु पर्ने पोखरेलले धारणा राख्नु भयो ।
एमालेका नेता कार्यकर्ता उत्पादन, विकास र समृद्धिको यात्रामा अघि अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । एमालेका नेता कार्यकर्ताले समाजलाई समृद्धिको पथमा डोर्याउनु पर्ने पोखरेलले बताउनुभयो ।
राष्ट्रको विकासको लागि बचत आवश्यक भएको बताउँदै उहाँले बचतले नै राष्ट्रिय पुँजीलाई विकसित गर्ने बताउनुभयो । ‘देश बनाउनका लागि सानै कामबाट यात्रा आरम्भ गर्नुपर्दछ, त्यो यात्रा बचतबाटै सुरु गर्नुपर्दछ, हरेक नागरिकले आफ्नो कमाइको एउटा हिस्सा बचत गर्ने संस्कृति बाट नै देश निर्माणको यात्रा सुरु हुन्छ’, उहाँले भन्नुभयो ।
आज जागिर खोज्ने नाममा युवाहरू विदेश पलायन भइरहेका उहाँले बताउनुभयो । नेपालका केही समुदाय कहिल्यै पनि जागिरको खोजीमा नहिँडेका पोखरेलले सुनाउनुभयो । व्यवसायको ज्ञान भएका थकाली लगायतका केही समुदायका मानिस कहिल्यै जागिरको खोजीमा नभौँतारिएका उहाँले बताउनुभयो ।
व्यापार, व्यवसाय नगरी देशमा रोजगारी सिर्जना नहुने उहाँले बताउनुभयो । जब नागरिक व्यापार व्यवसायमा लाग्छन् तब मात्र देशमा रोजगारीको अवसर सिर्जन हुने कुरा नबिर्सन उहाँले आग्रह गर्नुभयो । यो आवश्यकता पुरा गर्न नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउन आवश्यक रहेको पोखरेलले बताउनुभयो ।
देशमा अहिले विभिन्न कोणबाट अराजकता भड्काउने र सामाजिक सद्भाव बिथोल्ने प्रयास भइरहेको भन्दै उहाँले सचेत हुन आग्रह गर्नुभयो । देश अहिले चरम आर्थिक संकटमा रहेकोले त्यसको जगमा टेकेर केही अराजक समूहले सामाजिक सद्भाव भड्काउन खोजेका पोखरेलले बताउनुभयो । यी सबै कुरालाई रोक्न एमालेले मिसन २०८४ भनेको उहाँले प्रष्ट पार्नुभयो ।