काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा रमेश बडाललाई नियुक्त गरी आफ्नो टिम बनाउन सुरु गरेका छन् । ‘समृद्ध नेपाल सुखी नेपाली’ को मार्गचित्र लिएर निराशालाई चिर्ने नीति लिएका ओलीले बलियो टिम बनाउने तयारी गरेका छन् ।
प्रधानमन्त्रीको शपथ लिएकै दिन गत सोमबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका उनले सचिवालय टिम बनाएर मन्त्रिपरिषद् कार्यालयको कामलाई तीव्रता दिने जनाएका हुन् ।
पार्टीको शक्तिशाली अध्यक्ष ओली यसपटक पनि कांग्रेस–एमालेको बलियो प्रधानमन्त्रीका रूपमा रहेकाले मुलुकमा आशा जाग्ने गरी काम गर्ने दाबी गरेका छन् । त्यहीअनुसार उनले सचिवालयमा सक्षम व्यक्ति नियुक्त गर्ने उनीनिकट स्रोतले जनाएको छ । प्रधानमन्त्रीले बुधबार महान्यायाधिवक्तमा बडाल र प्रमुख स्वकीय सचिवमा राजेश बज्राचार्यलाई नियुक्त गरेका छन् । उनको सचिवालय स्रोतका अनुसार छिट्टै नै प्रमुख सल्लाहकार, अन्य सल्लाहकार र आवश्यक अरु पदमा नियुक्त गरी आफ्नो टिम बनाउने तयारी गरेका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् । राष्ट्रपतिको कार्यालयले महान्यायाधिवक्तामा बडाललाई बुधबार नियुक्त गरिएको जानकारी दिइसकेको छ । उनको शपथ बिहीबार हुने तयारी छ । यसअघि बडाल २०७७ चैतदेखि २०७८ असारसम्म ओली सरकारका महान्यायाधिवक्ता थिए ।
ओली आइतबार प्रधानमन्त्री हुनुअघि सचिवालयमा रहेका व्यक्तिहरूले हाल पनि काम गरिरहेका छन् । प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतमा सचिवालयमा कार्यरत स्वकीय सहसचिव रोशनी मेचे र प्रेस संयोजकमा रामशरण बजगार्इं, दीपेन्द्र दाहाललगायतको टिमले बालुवाटारमा काम गरिरहेको छ ।
प्रधानमन्त्रीका लागि महत्त्वपूर्ण मानिएको प्रमुख सल्लाहकारमा पार्टी उपमहासचिव विष्णु रिमाल नियुक्त हुने सम्भावना छ । यसअघि ओली प्रधानमन्त्री हुँदा उनी प्रमुख सल्लाहकारको भूमिकामा थिए । मन्त्रिपरिषद् कार्यालयका साथै अन्य मन्त्रालयसँग समन्वय गरी प्रधानमन्त्री ओलीको चाहनाअनुसार योजना र कार्यक्रम बनाउन सक्ने अनुभव रिमालसँग छ । एमालेको योजना, नीति निर्माणदेखि पार्टीका अभियान सञ्चालनमा ओलीले उनलाई अघि सार्ने गरेका छन् । प्रधानमन्त्री ओलीको दस्ताबेज, भाषण, आलेख, भिडियो निर्माण र सामाजिक सञ्जाल सञ्चालनमा रिमालको प्रमुख हात छ ।
प्रधानमन्त्रीको कस्तो टिम बन्दै छ भन्ने प्रश्नमा उपमहासचिव रिमालले प्रधानमन्त्री ओलीको स्प्रिटलाई पक्रन सक्ने बलियो सचिवालय बनाउने तयारी भएको बताए । ‘प्रधानमन्त्रीज्यूको अघिल्लो कार्यकालको सचिवालयको समीक्षा गर्दै उहाँको स्प्रिटलाई समाउन सक्ने टिम बन्दै छ,’ उनले भने, ‘यो कार्यकालमा मुलुकमा व्याप्त निराशालाई चिर्दै आशा जगाउने प्रधानमन्त्रीको लक्ष्यलाई सशक्त ढंगले अघि बढाउनुपर्नेछ । त्यसकारण सक्षम व्यक्तिहरूको सचिवालय बन्ने निश्चित छ ।’ यसपटक कांग्रेस–एमालेको गठबन्धन भएकाले कांग्रेसले लिएका मन्त्रालयसँग राम्रो समन्वय गर्ने गरी प्रधानमन्त्रीको सचिवालयले काम गर्नुपर्ने उनले बताए । ‘२०७४ पछि नेकपाको सरकार हुँदाको सचिवालयभन्दा अलि फरक ढंगले काम गरी परिणाम निकाल्नुपर्ने अवस्था छ,’ उनले भने, ‘बलियो सचिवालयले मात्र प्रधानमन्त्रीको योजनालाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन महत्त्वपूर्ण योगदान गर्न सक्छ ।’
प्रमुख स्वकीय सचिव नियुक्त बज्राचार्यले लामो समयदेखि ओलीको टिममा रहेर काम गर्दै आएका छन् । उनले ओलीको राजनीतिक भेटघाट र व्यक्तिगत काममा सघाउँदै आएका छन् । ‘राम्रो काम गर्न सक्ने टिम बनाउने प्रधानमन्त्रीज्यूको चाहना छ,’ उनले भने, ‘त्यहीअनुसार सचिवालय बन्छ होला ।’
यसपटक ओलीले ‘जागिरका लागि कुनै व्यक्तिलाई आफ्नो टिममा नराख्ने’ बताइसकेका छन् । ‘अब जागिर खानका लागि होइन, साँच्चिकै काम गर्नका लागि सचिवालय बनाइनेछ,’ ओलीले मातहतका नेताहरूलाई भनेका छन् ।
ओलीले आफ्नो सचिवालमा रहेर काम गर्ने कर्मचारीबारे पनि छानबिन सुरु गरेका छन् । एमालेनिकट रहेर काम गर्दै आएका सचिव, सहसचिव र उपसचिवलाई प्रधानमन्त्रीको सचिवालयमा सरुवा गर्ने तयारी चलेको छ । राजनीतिक नियुक्ति र अनुकूल कर्मचारीको संयोजनबाट भनेजस्तो काम गर्न सकिने ओलीको बुझाइ छ । ओलीले सोमबार मन्त्रिपरिषद्को पहिलो बैठकमा परिणाम निकाल्ने गरी काम गर्ने निर्देशन दिएका थिए । मन्त्रालयका योजनाहरूलाई समयसीमा राखेर लक्ष्य तोक्ने र हरेक मन्त्रालयको काम भए, नभएको निरन्तर अनुगमन गर्ने ओलीको तयारी छ ।
सरकारले देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकाय राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त गर्नुपर्नेछ । हाल आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल सरकारले नियुक्त गरेका श्रेष्ठले राजीनामा दिएपछि आयोगको नयाँ उपाध्यक्ष र रिक्त सदस्यहरू नियुक्त गर्नुपर्नेछ । ओलीको तेस्रो कार्यकालमा एमाले नेता पुष्प कँडेल उपाध्यक्ष थिए ।
प्रधानमन्त्रीले आर्थिक, परराष्ट्र, प्रेस, सुरक्षा, जनसम्पर्क, प्रशासनिक, सुरक्षालगायत सल्लाहकार र विज्ञ नियुक्त गर्न सक्छन् । पूर्वअर्थमन्त्री युवराज खतिवडाले आर्थिक विषयमा ओलीलाई सल्लाह दिँदै आएका छन् । तेस्रो कार्यकालमा एमाले नेता राजन भट्टराई परराष्ट्र र प्रेस सल्लाहकार सूर्य थापा थिए । थापा गत निर्वाचनमा प्यूठानबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् । ओलीले परराष्ट्र मामलामा भट्टराईसँग परामर्श गर्दै आएका छन् । सुरक्षा सल्लाहकारमा पूर्वसुरक्षा अधिकारी र अरु सल्लाहकार विषय विज्ञताका आधारमा नियुक्त गर्ने परम्परा छ ।
‘प्रधानमन्त्रीका विभिन्न सल्लाहकार र विज्ञबारे पार्टी सचिवालयमा रहेका नेताले गृहकार्य गरिरहेका छन्,’ ओलीनिटक स्रोतले भन्यो, ‘केही नाम टुंगो लागेपछि नियुक्तिका लागि प्रधानमन्त्रीसमक्ष पेस गरिनेछ । त्यसपछि मात्र सल्लाहकार विज्ञको नियुक्ति हुनेछ ।’ एमालेले अधिकांश नियुक्ति पार्टी सचिवालयमा छलफल गरेपछि हुने परम्परा छ ।
२०७४ पछि साढे तीन वर्ष प्रधानमन्त्री हुँदा ओलीले शक्तिशाली सचिवालय बनाएका थिए । त्यसबेला उनले सरकारले महत्त्वपूर्ण निर्णय गर्नुअघि प्रमुख सल्लाहकार विष्णु रिमाल, तत्कालीन मुख्य सचिव लोकदर्शन रेग्मीलाई अघि सार्थे । त्यस्तै उनले संवैधानिक र कानुनी निर्णयका लागि तत्कालीन न्यायाधिवक्ता अग्नि खरेललाई गृहकार्यमा व्यस्त राख्थे । त्यतिबेला मन्त्रालयको काममा ओलीको सचिवालय हाबी भएको आरोपसमेत लागेको थियो । त्यतिबेला उनले कर्मचारीतन्त्रलाई मन्त्रीभन्दा आफ्नो मन्त्रिपरिषद् सचिवालयप्रति उत्तरदायी बनाएको चर्चा चलेको थियो ।