काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा भद्रगोल भएको छ ।
गत विहिबारदेखि शुरु भएको महाधिवेशनको एक साता हुदा पनि नेतृत्व चयनको निर्वाचन प्रक्रियामा जान सकेको छैन । संगठनमा उमेर हद बारेको विवाद चुलिएपछि महाधिवेशननै अन्योलमा परेको हो ।
यस अघि पार्टीको निर्देशनमा मंगलबार उमेर हदको विवाद मतदानबाट टुंगाउने तयारी गरिएपनि विभिन्न गुटको विवादका करण निर्वाचन प्रकृया नै शुरु हुन सकेन । उमेर हद विवादनै टुंगिन नसकेपछि नेतृत्व चयनको विषय त अझै धेरै पछाडी रहेको महाधिवेशनमा सहभागी प्रतिनिधिले बताएका छन् । कैयौं प्रतिनिधि त महाधिवेशन अन्योल बनेपछि फर्किन थालेका छन् ।
अखिल क्रान्तिकारीमा नेताहरुको उमेर हद २८, ३० वा ३२ वर्षे राख्ने भन्ने विवाद रहेको छ । उमेर हद लागु भएमा अहिले नेतृत्वको दाबि गरेका लगभग सबै नेताहरुको विद्यार्थी राजनीति समाप्त हुने बताइएको छ । आफ्नो राजनीतिक क्यारियरनै सकिने भएपछि धेरै सिनियर विद्यार्थी नेताहरु उमेर हदको विपक्षमा उभिएका छन् ।
उमेर हदको विवादमा आपसमा कुर्सि हानाहानको अवस्था सिर्जना भएको थियो । अनेरास्ववियु क्रान्तिकारीमा विवाद बढेपछि पार्टीले हस्तक्षेपको तयारी गरेको छ । अब महाधिवेशन हलले उमेर हदको विवाद टुंगाउन नसकेपछि पार्टीले आज निर्णय लिन लागेको बताइएको छ । क्रान्तिकारीको महाधिवेशन बारे निर्णय लिन अध्यक्ष पुष्प कमल दाहालले आज आफ्नै निवासमा पदाधिकारीसँग छलफल गरिरहेको बताइएको छ । पार्टीले आज उमेर हदको विषयमा निर्णय लिएर नेतृत्व चयनको प्रक्रिया शुरु गर्नसक्ने बताइएको छ ।
अहिले क्रान्तिकारीको नेतृत्वको लागि इन्द्र भुसाल, जिपी मैनाली, नरेश रेग्मी, पवन कार्की, मदन भुल, मदन भट्टराई, नारायण खनाल, क्षितिज सापकोटा, केशव रावल, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रवीण अधिकारी, सूर्यनारायण साह, दीपेश पुनसहितका दर्जनौं नेता अध्यक्षका आकाङ्क्षी रहेका छन् ।
यस महाधिवेशनमा २ हजार ३२३ प्रतिनिधि सहभागी रहेका छन् भने अखिल क्रान्तिकारीले प्रत्यक्ष निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्व चयन गर्ने बताएको छ ।
बन्दशत्र स्थगित
आज हुने भनिएको बन्दसत्र स्थगित गरिएको छ । उमेर हद विवादको कारणले पक्ष विपक्षमा प्रतिनिधि तोडफोड उत्रिएपछि अध्यक्षमण्डलले बन्दसत्र स्थगित गरेको हो । आज रोकिएको बन्दसत्र भोलि १० बजेबाट सुरु हुने जनाइएको छ ।
खुमलटारमा छलफल
नेकपा माओवादी केन्द्रका पदाधिकारीहरू प्रचण्ड निवास खुमलटारमा भेला भएका छन् ।
बैठकमा बाढी पहिरोपछिको प्रकोप, पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको महासचिव देव गुरुङले बताए ।
उनले भने, ‘यो औपचारिक बैठक हाइन । तर, पछिल्ला समसाममिक विषयमा छलफल गर्न उपलब्ध साथीहरूलाई अध्यक्षले बोलाउनुभएको हो ।’
बैठकमा अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको विषयमा पनि छलफल भएको बताइन्छ । उमेरहद विवादमा अल्झिएपछि प्रचण्डले पदाधिकारीमा छलफल गरेर टुंग्याउने प्रयास गरेका हुन् । यसअघि बसेको पदाधिकारी बैठकले उमेर हद निर्वाचन प्रक्रियाबाट टुंग्याउने र नेतृत्व चयनमा हस्तक्षेत नगर्ने निर्णय गरेको थियो ।
तर, उमेर हदको विवादको कारणले बन्दसत्र पाँचौं दिन पनि अघि बढ्न नसकेको छैन । तर, विद्यार्थी सम्मेलनको विषयमा पार्टीले कुनै हस्तक्षेप नगर्ने महासचिव गुरुङ दाबी गर्छन् ।
उनी भन्छन्, ‘विद्यार्थीको सम्मेलन चलिरहेको छ । उमेर हदको विषय होस् वा नेतृत्व चयनको उहाँहरूले नै हलबाट टुंग्याउनुहुन्छ । पार्टीले कुनै हस्तक्षेप गर्दैन ।’
अन्तिम समयमा उमेरहदको विषय ल्याएको भन्दै चर्को आलोचनासँगै दिनहुँ सम्मेलनस्थलमा नारावाजी भइरहेको छ । उमेर हद लागू हुँदा अहिले पदाधिकारीमा भएका सबैजसो नेता बाहिरिने भएकाले विवाद सहजै मिल्ने छाँट छैन ।
अध्यक्षका आकांक्षी पवन कार्कीले खुमलटारमा पदाधिकारी बैठक चलिरहेको बेलामा संगठनको नीति, विधि, आगामी योजना र नेतृत्व निर्माण गर्ने सम्पूर्ण प्राधिकार सम्मेलनका प्रतिनिधिहरूमा रहन्छ र रहनुपर्ने लेखेका छन् ।
उनले भनेका छन्, ‘राष्ट्रिय सम्मेलनलाई अनिर्णयको बन्दी नबनाऔं । व्यक्तिगत स्वार्थबाटमाथि उठौं संगठनलाई केन्द्रमा राखेर सोचौं ।
अर्का आकांक्षी केशव रावलले पनि उमेर हदको विरोध गर्दै खुला प्रतिस्पर्धा गर्नुपर्ने बताए । उमेरहद लागेको खण्डमा प्रदेश, जिल्ला, पालिका र क्याम्पसका सम्मेलनहरू नयाँ विधान अनुसार तीन महिनाभित्र गरिसक्नुपर्ने झन्झटमा संगठन फस्ने उनको भनाइ छ ।