जेठ १७, गमगढी । मुगु जिल्लाको कार्मारोङ गाउँपालिकाका डोल्पु र मुगु गाउँको पाटन क्षेत्रमा यार्सा संकलन गर्ने समय फेरी सरेको छ।
यार्सा संकलन सम्बन्धि गाउँपालिका र स्थानीयबीच विवाद भएपछि सर्वसाधारणका लागि यार्सा संकलनको समय दुई दिन पछि सरेको हो। गाउँपालिकाले संकलकलाई जेठ १० गतेदेखि १५ गतेसम्म पाटन प्रवेशका लागि समय तोकेकोमा यस पटक फेरी संकलन समय सारिएको हो ।
जिल्लाभित्रकालाई दुई हजार र बाहिरका संकलकका लागि तीन हजार शुल्क तोकिएको थियो। शुल्क उठाउने विषयमा विवाद हुँदा प्रवेश समय सरेको गाउँपालिकाले जानकारी दिएको छ। प्रवेश शुल्क उठाउन कर्मचारीसहित गाउँपालिकाका प्रतिनिधि जेठ पहिलो साता नै मुगु गाउँको शिरानी चौरमा पुगेका थिए।
तर, मुगु गाउँका स्थानीयले सामुदायिक वनक्षेत्र भएकाले यार्सा संकलनकर्ताबाट आउने प्रवेश शुल्क आफूले उठाउनुपर्ने भन्दै विवाद गरेका थिए। स्थानीय र गाउँपालिकाबीच प्रवेश शुल्क कसले लिने भन्ने विषयमा सहमति हुन नसक्दा समय थप्नुपरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास शर्मा रिजालले बताए।
१३ गतेको संयुक्त बैठकले ३५ प्रतिशत गाउँपालिका, ४० प्रतिशत मुगु गाउँ र २५ प्रतिशत संकलनको निगरानीका लागि खटिएका कर्मचारी व्यवस्थापनका लागि खर्च गर्ने सहमति भएको छ। बुधबारदेखि गाउँपालिकाले पाटन प्रवेश गर्ने यार्सा संकलनकर्ताबाट प्रवेश शुल्क उठाउन थालेको छ।
पहिले नै प्रवेश अनुमति पाएका यार्सा संकलनकर्ता बाटैमा पाल टाँगेर बसेको जुम्ला गोठीचौर–४ का धनबहादुर भण्डारीले बताए। एक हजार पाँच सय संकलनकर्ता शिरानीचौरमै रोकिएको भण्डारीले जानकारी दिए।