चैत २९ गते
सिमकोट । शिक्षकहरूको आन्दोलनका कारण हिमाली जिल्ला हुम्लाका सामुदायिक विद्यालयहरुको पठनपाठन प्रत्यक्ष प्रभावित भएको छ । सङ्घीय संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलन गर्न काठमाडौंमा केन्द्रित भएपछि हुम्लाका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको हो ।
शिक्षकहरु आन्दोलनमा केन्द्रित भएपछि हुम्लाका सामुदायिक र निजी गरी एक सय ५१ विद्यालय हाल बन्द रहनुका साथै पठनपाठन समेत ठप्प रहेको छ । हुम्लामा १ सय, ४५ सामुदायिक, एउटा धार्मिक र पाँच संस्थागत विद्यालय छन् । जिल्लाका सात गाउँपालिकामध्ये नाम्खा गाउँपालिकामा १४ सामुदायिक, एक निजी गरी १५, सिमकोटमा २१ सामदुदायिक चार निजी गरी २५, खार्पुनाथमा १७ सामुदायिक, सर्केगाडमा ३२ सामुदायिक, एक निजी गरी ३३, चङ्खेलीमा २४ सामदाियक, अदानचुलीमा २० र ताँजाकोटमा १७ सामुदायिक विद्यालय छन् । जिल्लाका सामुदायिक र निजी गरी एक सय एकाउन्न विद्यालयको पठनपाठन दश दिनदेखि ठप्प रहेको शिक्षा विकास तथा समन्वय इकाई हुम्लाका निमित्त प्रमुख योगेश आले मगरले बताउनुभयो ।
यस्तै हुम्लाका एक हजार, एक सय जना शिक्षक आन्दोलीत भएका छन् । जिल्लामा बालविसकामा एक सय ६५ शिक्षक, कक्षा एकदेखि पाँचसम्मका चार सय ७३, कक्षा ६ देखि आठसम्म एक सय ७५, नौ देखि दश सम्म एक सय दश, कक्षा ११ र १२ मा ३२ र अन्यमा एक सय ६७ जना शिक्षक कार्यरत रहेका छन् । त्यसैगरी हुम्लामा बिस हजार, एक सय, ६२ जना विद्यार्थीको पढाई प्रभावित भएको छ । जिल्लामा ४ हजार तीन सय ४९ बालविकास, आठ हजार चार सय ८९ कक्षा एकदेखि पाँचसम्मका, कक्षा ६ देखि ८ सम्म ४ हजार २६, कक्षा नौ र दशमा दुई हजार ८७ र कक्षा ११, १२ मा एक हजार दुई सय ११ विद्यार्थीको पठनपाठन प्रभावित भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई समिति हुम्लाले जनाएको छ ।
हुम्लाका अधिकांस विद्यालयका शिक्षक काठमाण्डौँमा प्रतिनिधिमूलक सहभागी जनाउँदै आन्दोलनको समर्थनमा जुटेका छन् । भने जिल्लामा रहेका केही शिक्षकले आ आफ्नो गाउँपालिका केन्द्र र सिमकोट आसपासका शिक्षकले सदरमुकाममा रहेको शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा दैनिक धर्ना दिदैँ आइरहेका छन् । विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरुले आन्दोलनलाई समर्थन जनाउँदै विद्यालय नखुलाएपछि पठनपाठन प्रभावित बनेको हो ।
साविक कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोट जिल्ला सहित उच्च हिमाली भेगका विद्यालय साुमदायिक विद्यालय हिउँदे मिनपचास दिनमा विदा भएर फागुन २ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुने गर्दछ । फागुन दुई गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भएर हुम्लामा पठनपाठन जारी रहेको समयमा दश दिनसम्म विद्यालयहरु नखुलेर बन्द हुँदा यहाँका विद्यार्थी यसको प्रत्येक्ष असरमा परेका छन् । शिक्षकहरु आन्दोलनमा आफ्नो सहभागीता जनाउँदै विद्याथलय बन्द परेपछि विद्यार्थीको पढाइमा बाधा पुगेको हुम्ला आन्दोलन परिचालन समितिका संयोजक मेज बहादुर बुढाले बताउनुभयो । विद्यालय बन्द गर्नुपर्ने आफुहरुको रहर नभएर बाध्यता भएको संयोजक बुढाको भनाई थियो । हुम्लामा नियमीत पठनपाठन भइरहेका बेला विद्यालय बन्द हुँदा थप समस्या बनाएको छ । दशेभरका अन्य जिल्लामा नयाँ शैक्षिक सत्र सुरु नभएरका कारण त्यति पठनपाठनमा असर नगरेपनि हुम्लाका विद्यार्थीले यो आन्दोलनको प्रत्यक्ष असर परेको छ । हुम्लामा पुस १५ मा विद्यालय बन्द हुन्छन् फागुन २ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भएर पठनपाठन हुन्छ । तर देशभरका अन्य विद्यालयमा बैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुन्छ त्यस कारण पनि उनीहरुको पठनपाठनमा त्यति असर नगरेको शिक्षकहरुले बताउने गरेका छन् ।
आन्दोलनकै कार्यक्रमअन्तर्गत जिल्ला स्तरमा विभिन्न सङ्घ, सङ्गठनमा आबद्ध शिक्षक नेतृत्वहरु भ्ोला हुँदै आन्दोलन जारी राखेका छन् । शिक्षक महासङ्घको कार्यक्रम अनुसार जिल्लामा गर्ने आन्दोलनका क्रियाकलापमा आफूहरु सहभागी भएको शिक्षक जान बहादुर जेठाराले बताउनुभयो । यता शिक्षकहरुको आन्दोलनका कारण विद्यालय बन्द भई आफ्ना बालबालिकाको पढाइ प्रभावित भएपछि अभिभावक भने चिन्तित बनेका छन् । अभिभावकले बालबालिकाहरुको भविष्यप्रति गम्भीर बन्न शिक्षक र सरकारलाई आग्रह पनि गरेका छन् ।