काठमाडौं । सरकारले बोलाएको वार्ता र संवादमा शिक्षक नआउँदा थप चर्किएको छ ।
आइतबार दिउँसो नयाँ बानेश्वर सडकमा प्रहरी र शिक्षकबीच झडप भयो । आन्दोलनको नेतृत्व गरेको शिक्षक महासंघको सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार झडपमा परी ६० जना शिक्षक घाइते भएका छन् । ‘कोही डिस्चार्ज भएका छन् । कोही अस्पतालमा उपचाररत छन्,’ उनले भनिन् ।

झडप भएपछि शिक्षक महासंघको आइतबार बसेको बैठकले सरकारबाट दमन भएको आरोप लगाउँदै आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । ‘आज सरकारको पक्षबाट निन्दनीय काम भयो । यसको घोर भर्त्सना गरेका छौं। घाइतेहरूको उपचार गर्नुपर्ने छ । बाटोमा बस्नुभएको शिक्षकहरूमाथि समेत आक्रमण भएको छ,’ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, ‘शिक्षकलाई दमन गरेर घर फर्काउने योजना सरकारले लियो । यसले थप आक्रोश बढेको छ । आन्दोलन त्यही अनुसार अब अगाडि बढ्छ ।’
आइतबारको घटनाले वार्ता र संवादको वातवरणसमेत बिगारेको निष्कर्ष शिक्षक महासंघको छ । सोमबारदेखि थप शिक्षक कर्मचारी देशभरबाट आउने महासंघले जनाएको छ । ‘भोलि यो भन्दा तीन गुणा बढी शिक्षक भेला हुनेछन् । शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको छ । आन्दोलनलाई कमजोर ठान्ने दुस्साहस नगरियोस्,’ महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने ।

‘शिक्षक पनि वार्तामा आउनुपर्थ्यो । यतिका दिनसम्म शिक्षकले पनि वार्ताको कुरा गरेनन् । औपचारिक छलफल भयो तर वार्ता गरेनन्,’ उनले भने । शनिबार शिक्षक र सरकारबीच औपचारिक वार्ता भएको थियो । वार्ता र संवादलाई निरन्तरता दिने सहमति भयो । तर आइतबार परिस्थितिले अर्कै मोड लियो ।
प्रहरीले फाल्यो पानीको फोहोरा
बिगत २६ दिन देखी आन्दोलनरत शिक्षकले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोडन थाले पछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ।
नयाँ बानेश्वरमा प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि पानीको फोहोरा प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले जानकारी दिए ।

“प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि पानीको फोहोरा प्रहार भएको छ, अहिलेसम्म स्थिति नियन्त्रणमा नै छ, कुनै अप्रिय घटना घटेको छैन्’ उनले सञ्चारकर्मीसँग भने ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित बिगत २६ दिनयता शिक्षक महासंघ काठमाडौंकेन्द्रित सडक आन्दोलनमा रहेको छ । सरकारसँग बार्ता सफल नभए पछि उनीहरू बिहानै ११ः०० बजे देखी नयाँ बानेश्वर–माइतीघर सडक अबरूद्द गरेर बसिरहेका छन् ।

शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग भएको झडपमा केही शिक्षकहरु घाइते भएका छन् । घाइते शिक्षकहरुलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ ।
आन्दोलित शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोज्दै ढुंगा हानेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
माइतीघरमा भेला भएर आएका शिक्षकहरू बानेश्वरबाट संसद भवनतर्फ अघि बढ्न खोज्दा प्रहरीले पछाडि हट्न अनुरोध गरेको थियो । तर अवस्था तनावग्रस्त बन्ने देखेपछि प्रहरीले पानीको फोहरा हानेको थियो ।
आन्दोलनमा सरकारले घुसपैठ गराएको शिक्षक महासंघको आरोप
प्राज्ञहरू आजको घटनाले दुवै पक्ष आक्रमक हुने जोखिम औंल्याउँछन् । ‘वार्ता र संवाद हुनुपर्ने हो । तर अब झन शिक्षक र सरकार दुवै आक्रामक हुने स्थिति देखियो,’ प्रा।डा।कोइरालाले भने ।

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको पहलमा शनिबार वार्ता भएपछि सकारात्मक वातावरण बनेको थियो । तर शिक्षककै कारण वातावरण बिग्रिएको सरकारको बुझाइ छ । ‘वार्ता सकारात्मक भएको थियो । आज जे घटना भयो त्यो शिक्षकको आन्दोलन नियन्त्रणमा देखिएन । शिक्षकले सरकारलाई नै बल प्रयोग गर्नुपर्ने स्थितिमा पुर्याएको त होइन भन्ने प्रश्न उठेको छ,’ शिक्षा मन्त्रालयका एक अधिकारीले भने ।
सरकारले अझैं पनि वार्ता र संवादको पक्षमा रहेको बताउँदै आएको छ । तर सरकार नै शिक्षकको माग सम्बोधन गर्न गम्भीर नरहेको महासंघको निष्कर्ष छ । ‘सरकारले शनिबार वार्तामा बोलाएको थियो । हाम्रो धारणा राख्यौं । मन्त्रीज्यूले वार्ता र संवादलाई निरन्तरता राखौं भनेपछि हामी पनि सहमत भएर निस्किएको हो । तर त्यसपछि केही खबर आएको छैन,’ महासंघ सहअध्यक्ष पराजुलीले भनिन् ।
शिक्षक महासंघले मन्त्रिपरिषद्बाट हल गर्न सक्ने विषय शिक्षा मन्त्रालयलाई बुझाएको पनि छ । तर सरकारबाट थप प्रतिक्रिया नआएको महासंघका पदाधिकारीहरू बताउँछन् ।२७ दिनदेखि शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन् । जसका कारण शैक्षिकसत्र नै प्रभावित भएको छ ।

सामुदायिक विद्यालयका विद्यार्थीको पठनपाठन ठप्प छ । सरकार र शिक्षक महासंघ भने आआफ्नो अडानमा छन् । निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले सहमतिका लागि ७ बुँदे प्रस्ताव तयार गरेकी थिइन् । त्यसैलाई आधार मानेर सहमति गर्न प्राज्ञहरूले सुझाव दिएका छन्।
‘७० लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । निवर्तमान मन्त्री विद्या भट्टराईले तयार परेको ७ बुँदाबाट सहमति खोज्न उपयुक्त हुन्छ,’ प्रा.डा. कोइरालाले भने । निवर्तमान मन्त्री भट्टराईले बनाएको ७ बुँदा कार्यान्यन गर्न करिब ८ अर्ब रकम सरकारले सुनिश्चत गर्नुपर्ने हुन्छ ।