काठमाडौं । तत्कालीन नेकपा एसबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकतामा सामेल दुई समूहको विवादले प्रवेश पाएको छ ।
केन्द्रीय कमिटीमा एसका तत्कालीन अध्यक्ष माधव नेपाल पक्ष र अर्का नेता झलनाथ खनाललाई अलग्गै कोटा तोकिएको छ । खनाललाई दिइएको कोटामा नेपालले गम्भीर आपत्ति जनाएको नेकपा स्रोतले बतायो ।
अलग्गै घटकका रूपमा एकतामा सामेल भएका नेता भीम रावलले छैठौँ वरीयता पाउँदा एसबाट एकतामा सामेल डा। बेदुराम भुसाल असन्तुष्ट छन् । भुसालको अपमान भएको विषयमा पनि नेपालले आपत्ति जनाएका छन् । रावल एमालेको नवौँ महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित हुँदा भुसाल सोही केन्द्रीय कमिटीमा पोलिटब्युरो सदस्यमात्रै थिए ।
एकतापछि नवगठित नेपाली कम्युनिष्ट पार्टीको केन्द्र, प्रदेश, जिल्ला र जनसङ्गठनलाई समायोजन गर्ने विषयमा बिहीबार संयोजक प्रचण्ड र सहसंयोजक नेपालबीचको छलफलमा क्रममा नेपालले खनालसँग भएको भनिएको अलग्गै सहमति नमान्ने बताएका हुन् । त्यही क्रममा भुसालको वरिष्ठताक्रमको प्रसङ्गमा चर्चा भएको छलफलमा सहभागी एक नेताले बताए ।
एकतामा सामेल नेताहरूको व्यवस्थापन गरिनसक्दै अशोक राई नेतृत्वको जसपा पनि सामेल हुँदैछ । राई नेता वामदेव गौतमको चौथो वरीयतामुनि रहने गरी सहमत भएको स्रोतले जनायो । नेपालले यो सहमति पनि स्वीकार गरेका छैनन् ।
नेपालले प्रचण्डसँगको छलफलका क्रममा साविक नेकपा एसका नेतापिच्छेका कोटाको कुरा गरे एकता नटिक्ने चेतावनी दिएका छन् । प्रचण्ड–झलनाथबीचको सहमति तलमाथि भए एकता भङ्ग हुने झलनाथपक्षीय नेता कृपाराम धमलाले बताए । ‘हामी माधव नेपालको पछि लागेर एकतामा गएका हैनौँ, झलनाथ कमरेडसँग प्रचण्डले अलग्गै २ घण्टा कुरा गरेपछि हामी एकतामा गएका हौँ, उनले भने ।
एकताअघि तत्कालीन एकीकृत समाजवादी र माओवादी केन्द्रबीच ४५–५५ प्रतिशतका दरले केन्द्रीय कमिटी गठनको सहमति भएको धमलाले बताए ।
उनले भने, ‘एकीकृत समाजवादीको ४५ प्रतिशतभित्र झलनाथ खनाल, घनश्याम भुसाल र रामकुमारी झाँक्रीहरु पनि हुन्, तर घनश्याम र रामकुमारी एकतामा आउनुभएन । झलनाथ पनि अलग्गै वार्ता गरेर आउनुभएको छ । माधव कमरेडको सानो टुकडीका निम्ति तत्कालीन एकीकृत समाजवादीको सिङ्गो भाग एकलौटी हुनसक्दैन । हामी झलनाथ कमरेडको नेतृत्वमा एकतामा गएका हौँ, माधव कमरेडसँग होइन ।’
यद्यपि प्रचण्ड भने झलनाथसँगको अलग्गै सहमति कार्यान्वयनको पक्षमा रहेको उनले बताए । यदि झलनाथसँगको सहमति कार्यान्वयन नभए एकताबाट अलग हुने धमला बताउँछन् । उनले भने– ‘अहिले झलनाथ कमरेड बाहिर ९दिल्लीमा० हुनुहुन्छ, आएपछि उहाँले प्रचण्ड कमरेडसित कुरा गर्नुहुन्छ । कुरा मिलेन भने हामी अलग हुन्छौँ, माधव नेपालसित हाम्रो कुरा हुँदैन । संयोजक प्रचण्ड कमरेड हो, माधव कमरेड होइन ।’
प्रचण्डले माधवको कुरा मानेर झलनाथसँगको सहमतिलाई वेवास्ता गरे घनश्याम भुसालसहितको मोर्चा निर्माण हुने चेतावनी उनले दिए । ‘यदि अर्को मोर्चाबन्दी गर्नुपर्ने भयो भने घनश्याम कमरेडहरुसहित हुन्छौँ, २७–२८ गतेपछि एमालेको एउटा टीम पनि हामीसितै हुन्छ’, उनले भने ।
तर, धमलाले भनेजस्तो वा चर्चामा आएजस्तो कुरा नभएको माधवपक्षीय नेता प्रकाश ज्वाला बताउँछन् । ‘उहाँ (झलनाथ) उता (एमालेमा) कुरा नमिलेपछि आउनुभयो, आएपछि माधव कमरेडसहित प्रचण्ड कमरेडसँग कुरा भएको हो, अलग्गै हैन’, उनले भने ।
अलग अलग ‘डिल’ गरेको वा कसैले मानेको वा नमानेको भन्ने कुरा आफ्नो जानकारीमा नभएको ज्वालाले बताए । उनले झलनाथसँग बेग्लै सहमति भएको पनि अस्वीकार गरे । ‘हामी एउटै पार्टीबाट एकतामा सामेल भएका हौँ, हाम्रा कुरा पनि एकै ढङ्गबाट हल हुन्छ ।’ उनले भने ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२ १७:०९