सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको अस्तव्यस्त फुटपाथ व्यवस्थापन गर्न लागिएको छ ।
वीरेन्द्रनगर नगरपालिकाको पहलमा प्रदेशको मुटु मानिने यो शहरको मुख्य क्षेत्रमा भएका फुटपाथहरुको व्यवस्थापन गर्न नयाँ योजना ल्याइएको हो । नगरपालिका आफैले गरेको पहलमा अव्यवस्थित फुटपाथलाई व्यवस्थित गराउन लागिएको हो ।
फुटपाथ व्यवस्थापनका लागि नगरपालिकाले तीन वटा क्षेत्र छुट्याएको छ । ‘रेड जोन’, ‘एल्लो जोन’ र ‘ग्रिन जोन’ छुट्याएर फुटपाथ व्यवस्थित गर्न लागिएको नगर प्रमुख मोहनमाया ढकालले बताइन् । नगर प्रमुख ढकालका अनुसार फुटपाथमा व्यवसाय गर्न निषेध गरिएको क्षेत्रलाई रेड जोनमा राखिएको छ । जहाँ कुनै पनि प्रकारका व्यवसाय फुटपाथमा राख्न पाइने छैन । सडक तथा सार्वजनिक स्थलहरूमा अनियन्त्रित, अव्यवस्थित र अतिक्रमित ढंगबाट व्यापार–व्यवसाय गर्नेको संख्या बढेपछि दिगो समाधानसहित रेड जोन क्षेत्र तोकिएको भनाई उनको छ ।
सडक फोहोर व्यवस्थापन, ट्राफिक जाम र सहरी सौन्दर्यमा असर पर्न थालेपछि नगरपालिकाको कार्यपालिका बैठकले फुटपाथ व्यवस्थापनको योजना अघि बढाएको हो । बढी भिडभाड हुने तथा अतिक्रमित ढंगबाट व्यापार–व्यवसाय भइरहेका स्थानलाई निगरानीमा राखिएको नगरपालिकाले जनाएको छ । ती क्षेत्रहरूलाई सफा र पैदल यात्रीलाई समेत सहज आउँजाउँका लागि वातावरण निर्माण गरिने नगरप्रमुख ढकालले जानकारी दिनुभयो ।
एयरपोर्ट चोकको तिनकुने क्षेत्र, बसपार्कभित्र जाने दुवै गेट र मंगलगढीमा फुटपाथ व्यवसाय गर्न पूर्ण निषेध गरिने भएको छ । रेड जोनमा परेका अन्य क्षेत्रहरूमा बुलबुले गेट, एरिचोक, प्रदेश अस्पताल गेट, एयरपोर्ट गेट, सरकारी कार्यालय र नगरपालिकाको कार्यालयदेखि ५० मिटर आसपासको क्षेत्रमा पनि फुटपाथ निषेधित गरिएको छ ।
यस्तै, रत्न राजमार्ग, हटीयालाइन सडक किनारादेखि पाँच मिटर तथा विरुवा लगाएको तीन मिटर बाहिरि क्षेत्र, नगरभित्रका सडक किनारा र वडा कार्यालयले तोकेका अन्य क्षेत्रहरूमा फुटपाथ राख्न पाइने छैन । निषेधित क्षेत्र तोकिएका ठाउँमा फलफूल, तरकारी, सडक खाजा–खाना, अन्य आवश्यक खुद्रा वस्तुहरू, डोके व्यवसाय र ठेला व्यवसाय गर्न पाइने छैन ।
भइरहेका व्यवसायलाई स्थानान्तरण गर्ने तयारी पनि गरिएको छ । ठेलामा गरिने चाट र अन्य व्यवसायलाई वीरेन्द्रनगर–६ को भानुपार्क आसपास, एमाले पार्टी कार्यालय पश्चिममा रहेका फलफूल, तरकारी पसल तथा वीरेन्द्र चोक नजिकै सडकमा व्यवसाय गरिरहेकालाई डाँडास्कुलको पूर्व–दक्षिणतर्फको खाली क्षेत्रमा राखिनेछ । धमाला चोक क्षेत्रमा मकै पोलेर बिक्री गर्ने तथा चाट व्यवसाय गर्नेहरू रेडियो भेरीको पश्चिम क्षेत्रको खाली क्षेत्रमा सर्नुपर्नेछ । यसैगरी एल्लो जोनमा भने आंशिकरूपमा फुटपाथ व्यवसाय सञ्चालन हुने दिइनेछ । फुटपाथ सञ्चालन गर्न सकिने क्षेत्रहरूमा पिपल चौतारा, घण्टाघर दक्षिण नगरपालिका, खेलकुद चोक जाने सडकको दक्षिणतर्फ, घण्टाघर–कालुञ्चोक क्षेत्र बाहेकको क्षेत्रमा सडक खाजा, कर्णालीबासी उद्यमीहरूले उत्पादन गरेका बस्तुहरूको बिक्री वितरण गर्नमा रोक लगाइने छैन । यी स्थानमा गर्मी समयमा बिहान ६–९, साँझ ४–७ र अन्य समयमा ५–८ बजेसम्म व्यवसाय गर्न पाइनेछ ।
नगरपालिकाले निर्धारण गरेको ग्रिन जोनमा भने व्यवसाय गर्न सकिने छ । जसमा बुलबुले गेटको उत्तरतर्फको विश्वविद्यालयको पर्खालमा खुद्रा सामान र जिल्ला प्रहरी कार्यालयको पूर्वी चोकबाट श्रीकृष्ण माविको अगाडि खाजा तथा खुद्रा व्यवसाय सञ्चालन गर्न सकिनेछ नगरलाई सफा स्वच्छ र सुन्दर बनाउने, अव्यवस्थित व्यवसायीलाई दिगो व्यवस्थापनसहितको व्यवस्थित गर्ने, फुटपाथलाई नियमन गर्ने र करको दायरा बढाएर नगरको आयश्रोत बढाउने उदेश्य नगरको छ ।
नगरले तोकेको क्षेत्रमा बस्ने फुटपाथ व्यवसायीहरूले अनुमति शुल्क, नविकरण शुल्क, बहाल विटौरी, व्यवसाय कर र सरसफाई सेवा शुल्क भने तिर्नुपर्नेछ । वीरेन्द्रनगरका अधिकांश सडकमा व्यवस्थित फुटपाथ छैनन् । भएका पनि साँघुरा छन् । कर्णालीको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा उस्तै सवारी चाप, त्यही सडकमै हिँड्नुपर्ने बाध्यता पैदलयात्रीको छ । सामान्यतया फुटपाथ एक दशमलव आठ मिटरको हुनुपर्ने मापदण्ड छ । बनेका फुटपाथ हेर्ने हो भने मापदण्डअनुसार बन्न सकेका छैनन् । फुटपाथ मापदण्डअनुसार बन्न नसक्नुमा ठाउँकै अभाव रहेको नगरपालिकाले बताउने गरेको छ ।