सुर्खेत । आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा अपाङ्गताका सवाल समावेश गर्न माग गरिएको छ ।
आगामी वर्षका लागि निर्माण गर्न लागिएको योजना छनोट प्रक्रियामा अपाङ्गता भएका व्यक्तिको सहभागितामा योजना छनोट गर्न माग गरिएको हो ।
शनिवार वीरेन्द्रनगरमा भएको छलफल कार्यक्रमका सहभागिहरुले यस्तो माग गरेका हुन् । नेपालको घरेलु कानुन तथा अन्तराष्ट्रिय कानुनले समेत अपाङ्गता भएकाव्यक्तिहरुको अधिकार सुनिश्चित गरेकाले स्थानीय तहको नीति कार्यक्रम र बजेटमा अपाङ्गता भएका व्यक्तिका सवाललाई प्राथमिकतामा राख्न माग गरिएको अपाङ्गता मानव अधिकार एवम् विकास केन्द्रका सचिव झक्कप्रसाद पोखरेलले बताए । आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि वडा स्तरीय योजना, कार्यक्रम तर्जुमा तथा कार्यान्वयनमा सम्बन्धित टोल बस्ती र वडा तहका समितिमा रहेका अपाङ्गता भएकाव्यक्तिहरुलाई सहभागि गराउन माग गरिएको उनले जानकारी दिए ।
अपाङ्गता मानव अधिकार एवम् विकास केन्द्रले वीरेन्द्रनगर नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख मोहनमाया ढकालले बस्तीस्तरबाट योजना छनोट गर्दा अनिवार्य रुपमा लक्षित वर्ग र उनीहरुका सवाल समावेश गर्न भनिएको बताइन् । अब छनोट हुने योजनामा अपाङ्गता भएकाव्यक्तिहरुका सवाल समावेश हुने उनले जानकारी दिइन् । चालु आर्थिक वर्षमा समेत लक्षित वर्ग विशेष कार्यक्रमलाई जोड दिएको उनको भनाइ छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यले संविधानले दिएको अधिकार कार्यान्वयन गर्नेगरी नीति तथा कार्यक्रम बनाउन सुझाव दिए । योजना छनोट गर्दा सकेसम्म अपाङ्गता भएका व्यक्तिलाई सहभागि गराउनुपर्नेमा उनको जोड थियो । अन्य सरोकारवालाहरुले समेत अपाङ्गता भएका व्यक्ति अनुकुलका पूर्वाधार निर्माण गर्नुपर्ने, बजेट नीति तथा कार्यक्रममा समेत प्राथमिकतामा राख्नुपर्ने बताएका थिए ।
कर्णालीमा ५२ हजार अपाङ्गता भएका व्यक्ति
कर्णाली प्रदेशको कूल जनसंख्याको ३.११ प्रतिशत अर्थात् ५२ हजार ६०४जना अपाङ्गता भएका व्यक्ति छन् । तीमध्ये सबैभन्दा बढी शारीरिक अपाङ्गता भएका व्यक्ति छन् ।
प्रदेशभर २३ हजार ९०१ जना अपाङ्गता भएका व्यक्ति रहेको जनाइएको छ । यसैगरी प्रदेशमा दृष्टीविहीन र न्यून दृष्टीविहीनसम्बन्धी अपाङ्गता भएका व्यक्ति नौ हजार ७३९ जना छन् ।
बहिरा र सुस्त श्रवण गरी आठ हजार ८३३ जना, श्रवण दृष्टीविहीन ८२२ जना, स्वर बोलाइसम्बन्धी तीन हजार २१५, बौद्धिक अपाङ्गता ५३०, हेमोफिलिया १७४, अटिजम ३०९, बहुअपाङ्गता तीन हजार ६ २३ जना रहेका छन् । यस्तै, २.८ प्रतिशत अर्थात् एक हजार ४५८ जना मनोसामाजिक अपाङ्गता भएका व्यक्ति छन् । मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरू सामाजिक विभेद र अवरोधका कारण अझै खुल्न सकेका छैनन् ।