काठमाडौं । ग्यास अभावले चुलो नबल्ने अवस्थामा पुगेका उपभोक्ताको बाध्यतामाथि खेल्दै व्यवसायीरव्यापारीले ग्यासमा कालोबजारी गरिरहेका छन् ।
आफैँले तोकेको प्रतिसिलिन्डर २१ सय ६५ रुपैयाँ ३८ पैसा पर्ने ग्यास उनीहरूले चार हजारसम्ममा बिक्री गर्न थालेका छन् । आयल निगम र सरकार मूकदर्शक बनेका छन् ।
सिंगो देश भोटेकोशी बाढीले निम्त्याएको महाविपत्तिको सामना गरिरहेका वेला १९ भदौमा आयल निगमसमेतको मिलेमतोमा व्यवसायीहरूले ग्यासको मूल्य प्रतिसिलिन्डर १०५।३८ रुपैयाँ बढाएर दुई हजार १६५ रुपैयाँ ३८ पैसा पुर्याएका थिए । कृष्णभिरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक सडकबाट ल्याउँदा ढुवानी खर्च बढेको उनीहरूको तर्क थियो । तर, उनीहरू त्यतिमै रोकिएका छैनन्, विपत्तिका वेला मनपरी मूल्य उसुलेर उपभोक्तामाथि अत्याचार गरिरहेका छन् ।
मंगलबार मात्रै काठमाडौं– ६, तिनचुलेका दीपक रिजालले बौद्धस्थित सिमलटार ग्यास स्टोरबाट एभरेस्ट ग्यासको सिलिन्डर दुई हजार आठ सय रुपैयाँ तिरेर किने । उनले डिजिटल भुक्तानी ९क्युआर० मार्फत पैसा तिरेका थिए । ती डिलरले दिनभरि १३५ उपभाक्तालाई दुई हजार आठ सय रुपैयाँका दरले ग्यास बेचेका थिए । निर्धारित मूल्यभन्दा बढी असुलिएपछि रिजालले त्यसको जानकारी ग्यास उपभोक्ता महासंघका पूर्वमहासचिव राजेश दाहाललाई पनि गराएका थिए ।
सुविधानगरस्थित नेपाल र सगर ब्रान्डको ग्यास बिक्री गर्दै आएको मुना इन्टरप्राइजेजले पनि प्रतिसिलिन्डर दुई हजार आठ सय असुलिरहेको छ । अझ यसले त उपभाक्ताहरूबाट अग्रिम पैसा नै उठाइरहेको छ । ‘तराईबाट आफैँ ल्याउँदा महँगो पर्छ भनेर एक सिलिन्डर ग्यासको दुई हजार आठ सय पर्छ भनेपछि त्यति नै पैसा बुझाएको थिएँ, एउटा ग्यास पनि ल्याइसकेँ,’ एक उपभोक्ताले भने ।
बसुन्धराका एक उपभोक्ताले आफूले नियमित ग्यास ल्याइरहेको स्थानीय पसलले चार हजारमा ग्यास बेचिरहेको बताए । ‘१५–२० दिनदेखि ग्यास पाएको छैन, सधैँ ग्यास किन्ने पसलमा भनिरहन्थेँ, अस्ति ग्यास त छ, चार हजार पर्छ भन्यो,’ ती उपभोक्ताले भने, ‘साह्रै महँगो भनेर पैसा दिइनँ ।’
गोकर्णेश्वर नगरपालिका– १, आरुबारीको डिलरले पनि प्रतिसिलिन्डर दुई हजार ६ सयमा ग्यास उपलब्ध गराइरहेको छ । स्थानीय उपभोक्ताले सोहीअनुसार रकम उठाएर डिलरलाई बुझाइसकेका छन् । ‘हामीलाई ग्यास दिने डिलरमार्फत नै ल्याउने गरी स्थानीय टोल सुधार समितिमा रहेका ३५० वटा एकै थरीका सिलिन्डर जम्मा गर्यौँ,’ स्थानीय उपभोक्ता नारायण थापाले भने, ‘त्यसपछि ग्यासको दुई हजार १६५ रुपैयाँबाहेक ढुवानी खर्च ८० हजार पाँच सय जुटाएर डिलरलाई बुझाएका छौँ । ग्यास लिनका लागि खाली सिलिन्डरसहितको ट्रक तराई गइसकेको छ । प्रतिसिलिन्डर हाम्रो लागत २६ सय रुपैयाँजति हुन आउँछ ।’ डिलरले बिहीबारसम्म ग्यास आउने बताएको उनले सुनाए ।
बुढानीलकण्ठ नगरपालिका– १२, फैकाका गोपाल पोखरेलले दुई हजार ५५० हालेर ग्यास ल्याएको बताए । अर्को एक थान ग्यासका लागि डिलरमा नाम टिपाएको तीन महिना भइसक्दा पनि नपाएको उनले सुनाए ।
बुढानीलकण्ठ नगरपालिका– १०, आकासेधाराका ऋषिकेश भट्टराईले दुई हजार ३९० रुपैयाँमा ग्यास किनेको बताए । ‘डिलरबाट श्री ब्रान्डको ग्यास महँगोमा किनियो, त्यो पनि निकै दुःख पाएर मिल्यो,’ उनले भने । डिलरमार्फत तराईबाट ग्यास ल्याउन स्थानीयहरूले रकम उठाएर खाली सिलिन्डरसहितको ट्रक तराई पठाएको पनि उनले बताए । ‘एउटा सिलिन्डरको दुई हजार पाँच सय पर्न आएको छ,’ भट्टराईले भने ।
बजार मूल्य अधिकतम दुई हजार १६५ रुपैयाँ निर्धारण भएको ग्यासका लागि प्रतिसिलिन्डर दुई हजार आठ सय रुपैयाँ तिर्नुपरेपछि तिनचुलेका दीपक रिजालले अनलाइन भुक्तानी गरेको ‘स्टेटमेन्ट’सहित ग्यास बिक्रेता महासंघका पूर्वमहासचिव राजेश दाहाललाई पनि जानकारी गराएका थिए । डिलरले उपभोक्ताबाट बढी उठाएको रकम आफूले फिर्ता गराएको दाहालको दाबी छ ।
‘दुई हजार आठ सय रुपैयाँ भुक्तानी गरेको क्युआर पाएपछि डिलरसँग बुझेँ,’ दाहालले भने, ‘सुरुमा त लागत नै धेरै परेको बताउँदै थिए, उपभोक्ताले कानुनी उपचार खोज्ने चेतावनी दिएपछि भने सबै उपभोक्तालाई प्रतिसिलिन्डर चार सय रुपैयाँका दरले पैसा फिर्ता दिएको छ ।’
ग्यास डिलरहरू पनि बढी मूल्यमा बेचिरहेको हाकाहाकी बताउँछन् । आकासेधारास्थित भावना स्टोरका सञ्चालक जयकिसन शर्माले साईबाबा ग्यास बिक्री गर्दै आएको, तर लामो समयदेखि ग्यास नआएपछि स्थानीयसँग प्रतिसिलिन्डर दुई हजार पाँच सय रुपैयाँ उठाएर तराईबाट ग्यास ल्याएको बताए । ‘सबै स्थानीयलाई ढुवानी लागतबारे जानकारी गराएर सुरुमा दुई हजार पाँच सयका दरले पैसा उठाएँ । त्यसपछि, साईबाबा ब्रान्डको खाली सिलिन्डर ३५३ थान जम्मा गरेर तराईबाट ग्यास ल्याएको छु,’ उनले भने । बुधबार दिउँसो डिलरमा आइपुगेको ग्यास उनले स्थानीयलाई धमाधम बिक्री गरेका छन् । ८५ हजार गाडी भाडा र थप ३५ हजार लोड–अनलोड तथा तीन दिनसम्मका लागि चालक र सहचालकको खाजा–खानाबापत रकम दिएको बताए ।
कपनमा श्री, बाबा र लुम्बिनी ग्यासको डिलर रहेका दीपक भारतीले पनि प्रतिसिलिन्डर दुई हजार ४६० रुपैयाँका दरले ग्यास बिक्री गरिरहेको बताए । ‘मैल तराईबाट सयवटा श्री ग्यास ल्याएर उपभोक्तालाई बिक्री गरिसकेँ,’ उनले भने, ‘फेरि यो क्षेत्रका तीन–चारवटा डिलर मिलेर तीन सय खाली सिलिन्डर भेला गरी तराईबाट ग्यास भरेर ल्याउने योजनामा छौँ । त्यो ग्यासको मूल्य पनि दुई हजार पाँच सयहाराहारी नै हुन्छ ।’
व्यापारीले ग्यासमा मनलाग्दी मूल्य असुलिरहेको विषयमा उजुरी पनि परेका छन् । तर, कारबाही भएको छैन । आयल निगमका प्रवक्ता मनोज ठाकुरले तराईबाट ट्रकमा ग्यास ल्याउनुपर्दा महँगो परेको हुन सक्ने भन्दै घुमाउरो शैलीमा ‘कालोबजारी’कै पक्षपोषण गरे । ‘विगतदेखि नै ग्यास उद्योगबाट ५० किलोमिटरभन्दा पर लागतअनुसार बिक्री मूल्य निर्धारण गर्न पाउने व्यवस्था थियो,’ उनले भने, ‘सोही व्यवस्थाअनुसार अहिले तराईबाट ट्रकमा ग्यास ल्याउँदा ढुवानी भाडा जोडिएको हुनुपर्छ । तैपनि जतिसक्दो सहुलियत दिएर मूल्य निर्धारण गर्न हामीले आग्रह गरेका छौँ ।’
बुधबार दिउँसो वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा एक उपभोक्ताले गीता ग्यास दुई हजार पाँच सयमा खरिद गरेको क्युआर भुक्तानी रसिद नै पठाएका छन् । ‘उजुरी प्राप्त भएको छ । तर, अलि अस्पष्ट भएकाले थप बुझ्ने काम भइरहेको छ,’ विभागका निर्देशक अनिल किराँतीले भने, ‘उजुरीकर्तासँग सम्पर्क भइरहेको छैन ।’ अनुमगनका लागि उपत्यकामा खटिने र त्यसमध्ये पाँचवटाले ग्यासको अनुगमन गरिरहेको उनको भनाइ छ ।
बजारमा कति मूल्यमा ग्यास बिक्री गर्न दिने भन्नेबारे आयल निगमसँग पनि लिखित जानकारी मागेको किराँतीले बताए । ‘मूल्य जथाभावी निर्धारण हुन थाल्यो । त्यसैले, कति मूल्यसम्ममा बिक्री गर्न दिने भनेर बुधबार आयल निगमसँग लिखित जानकारी मागेका छौँ, जवाफ आएको छैन,’ उनले भने ।
३० प्रतिशत ग्यास होटेल तथा रेस्टुरेन्टमा खपत
काठमाडौं उपत्यकामा सामान्य अवस्थामा ३० प्रतिशत ग्यास होटेल तथा रेस्टुरेन्टमा खपत हुने गरेको छ । अहिले पनि न्यून मात्रामा आयात भएको ग्यासबाट पनि ३० प्रतिशत होटेल तथा रेस्टुरेन्टमा पुगिरहेको उद्योगीको भनाइ छ । ‘होटेल तथा रेस्टुरेन्टले आफैँ गाडी लिएर एकपटकमा १५० देखि चार सय सिलिन्डरसम्म ग्यास ल्याइरहेका छन्,’ उद्योगी शिवप्रसाद घिमिरेले भने, ‘यसबाहेक डिलरबाट पनि पक्कै साना होटेल तथा रेस्टुरेन्टमा थोरै भए पनि गएको हुनुपर्छ । किनभने, होटेल तथा रेस्टुरेन्टले नियमित रूपमा ठुलो मात्रामा ग्यास खपत गर्ने भएकाले यस्ता ग्राहकलाई कसैले गुमाउन चाहँदैन । अर्कातिर, होटेल तथा रेस्टुरेन्टलाई दिन नहुने भन्ने पनि छैन ।’
उद्योगीले तोकेको मूल्यमा विक्रेताको मनोमानी
आयल निगमले उद्योगबाट ५० किलोमिटर टाढाको दूरीमा ढुवानी लागतअनुसार मूल्य समायोजन गर्न फुक्का छाडेपछि उद्योगीले १९ भदौबाट लागू हुने गरी आफैँ ग्यासको मूल्य प्रतिसिलिन्डर दुई हजार १६५ रुपैयाँ ३८ पैसा निर्धारण गरेका थिए । तर, आयल निगमले भने प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँ मात्रै मूल्य तोकेको छ । उद्योगीले ढुवानी लागत भनेर यसमा १०५ रुपैयाँ ३८ पैसा जोडेर उपभोक्ता मूल्य तोकेका हुन् । अहिले भने डिलरले उक्त मूल्यमा ग्यास बिक्री गर्न नसक्ने भन्दै मनपरी रकम उठाइरहँदा उद्योगीदेखि सरकारसम्म मूकदर्शक छन् ।
उद्योगीकै सिलिन्डर ल्याएर विक्रेताले बेचिरहेका छन् । ग्यास विक्रेता महासंघका पूर्वमहासचिव राजेश दाहालले एउटै ठाउँबाट ल्याएको ग्यास उद्योगीले दुई हजार १६५ मा बिक्री गर्न सक्ने, तर डिलरले दुई हजार आठ सय रुपैयाँसम्ममा बिक्री गर्नु गलत भएको बताए । ‘उद्योगीले आफ्नो ग्यास सिलिन्डरको मूल्य दुई हजार १६५ रुपैयाँ तोकेका छन् । तर, त्यो ग्यास सिलिन्डर डिलरले दुई हजार आठ सय रुपैयाँसम्ममा बेच्दा किन चुप छन् भन्ने प्रश्न जटिल छ,’ उनले भने, ‘अर्कातिर, उद्योगी आफैँले एउटै बाटो हुँदै ल्याएको ग्यास दुई हजार १६५ मै बेचिरहेका छन् । डिलरले भने ढुवानी महँगो पर्छ भनेर बढीमा बिक्री गर्नुपरेको तर्क नै बेठिक छ ।’
डिलरको समन्वयमा होटेलले ठुलो मात्रामा ल्याइरहेका छन् ग्यास
चाबहिलमा नेपाल ग्यास बिक्री गर्दै आएका ग्यास विक्रेता महासंघका कोषाध्यक्ष रविन कार्कीले होटेलहरूलाई नै ग्यास लिन ट्रक तराई पठाइरहेको बताए । ‘मेरो डिलरबाट सामान्य अवस्थामा दैनिक तीन सय नेपाल ग्यासको सिलिन्डर बिक्री हुने गरेको छ । तर, १४ भदौयता एकपटक ८० सिलिन्डर मात्र ग्यास आयो,’ उनले भने, ‘यस्तो अवस्थामा मैले पसल खोलेर सेवा दिन सक्ने अवस्था छैन । त्यसैले, म आफैँले समन्वय गरेर चाबहिल क्षेत्रका होटेलका लागि ग्यास लिन ट्रक तराई पठाइरहेको छु ।’
ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले पनि तराई गएर होटेल तथा रेस्टुरेन्टले ठुलो संख्यामा ग्यास ल्याइरहेको बताए । ‘उद्योगले ल्याएको ग्यास सकेसम्म डिलरमार्फत उपभोक्तालाई मात्रै दिनुपर्छ भनेका छौँ,’ उनले भने, ‘त्यसैले होटेलहरूले आफैँ ल्याइरहेका छन् ।’
निगमले मिलेमतोमै ग्यासको मूल्य निर्धारण खुला छाडिदिँदा कालोबजारी
ग्यास र पेट्रोलियम पदार्थको मूल्य आयल निगमले निर्धारण गर्छ । तर, १९ भदौमा निगमकै मिलेमतोमा व्यवसायीहरूले ग्यासको मूल्य प्रतिसिलिन्डर दुई हजार १६५ रुपैयाँ ३८ पैसा तोकिदिए । निगम सञ्चालक समितिको अध्यक्ष उद्योग मन्त्रालयका सचिव नै हुन्छन् । मूल्यवृद्धिपछि पनि ग्यासको आपूर्ति थप असहज मात्रै होइन, कालोबजारी पनि सुरु भयो ।
१६ भदौमा निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजनबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा एलपी ग्यासको हकमा उद्योगदेखि ५० किलोमिटरसम्मका लागि दुई हजार ६० रुपैयाँ प्रतिसिलिन्डर मूल्य कायम गरिएको उल्लेख थियो । यसको अर्थ ग्यास उद्योगदेखि ५० किलोमिटरभन्दा टाढाका उपभोक्तालाई भने ढुवानी लागतअनुसार मूल्य तोक्न निगमले स्वीकृति दिएको थियो । त्यसअघिका कुनै पनि विज्ञप्तिमा निगमले ग्यासको भाउ ५० किलोमिटरभन्दा परको दूरीमा ढुवानी लागतअनुसार निर्धारण हुनेबारे केही उल्लेख गरेको थिएन । यसैलाई आधार बनाएर ग्यास उद्योग संघले प्रतिसिलिन्डर एक सय पाँच रुपैयाँ ३८ पैसा मूल्य बढाएर दुई हजार १६५ रुपैयाँ पुर्याएको थियो । यसरी पहिलोपटक ग्यासको मूल्य निर्धारण प्रणाली नै आयल निगमको नियन्त्रणबाट बाहिर गएको हो । अहिले विक्रेताले त मनपरी मूल्य उठाएर उपभोक्तामाथि अत्याचार गरिरहेका छन् । यसप्रति उद्योगी, निगम र सरकारसमेत मौन छन् ।
संसदीय समितिमा उद्योगमन्त्री गौरीकुमारी यादवले भनिन्–उद्योगीलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन
आयल निगमकै मिलेमतोमै ग्यास व्यवसायीहरूले १९ भदौदेखि लागू हुने गरी एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा बढाएर दुई हजार १६५ रुपैयाँ ३८ पैसा कायम गरेका थिए । निगम सञ्चालक समितिको अध्यक्ष उद्योग मन्त्रालयका सचिव हुन्छन् । तर, मूल्यवृद्धिपछि पनि ग्यासको आपूर्ति सहज नभएको मात्रै होइन, कालोबजारी सुरु भएको छ ।
उद्योगमन्त्री गौरीकुमारी यादवले बुधबार संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा उद्योगी तथा कर्मचारीतन्त्रका कारण ग्यास आपूर्ति र उद्योग क्षेत्र सुधार हुन नसकेको दाबी गरिन् । उनले उद्योगीलाई पाता नफर्काएसम्म आपूर्ति सहज नहुने भन्दै आक्रोश व्यक्त गरिन् । मूल्य बढाउन सरकारसँग सहमति खोज्ने, तर उपभोक्तालाई नियमित र सहज रूपमा ग्यास उपलब्ध गराउने जिम्मेवारीबाट उद्योगी पन्छिएको उनको भनाइ छ ।
हात जोडेर ग्यासको आपूर्ति सहज बनाइदिनुस् भन्दै उद्योगीहरूलाई आग्रह गर्दा पनि समस्या समाधान नभएको उनले सुनाइन् । ‘उद्योगीहरूलाई पाता नफर्काएसम्म चाहिँ यो ग्यास सहज हुँदैन भन्ने मेरो अन्तिम विश्लेषण हो,’ उनले बैठकमा भनिन् ।
मन्त्री यादवले नेपालमा दुईवटाभन्दा बढी ग्यास उद्योग नचाहिने भन्दै हाल सञ्चालनमा रहेका ५८ वटा ग्यास उद्योगको संरचनामाथि पुनर्विचार गर्नुपर्ने बताइन् । ‘हाम्रो देशलाई ५८ वटा ग्यास उद्योग चाहिएको होइन । ठुलो–ठुलो देशमा तीनवटा भन्दा बढी छैन भने यहाँ ग्यास उद्योग किन ५८ वटा छ रु’ उनले भनिन्, ‘किनभने करोडौँ लिएर उनीहरूलाई लाइसेन्स दिएको छ । ती उद्योगीहरूले विगतमा बुझाएको करोड त उठाउनुपर्यो नि । अहिले उनीहरू उठाइरहेका छन् ।’ उनले ५८ उद्योगलाई मर्ज वा खारेज गर्नुपर्ने आवश्यकता रहेको पनि बताइन् ।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३ ०७:५६