काठमाडौं । नेकपा एमालेका पूर्व-उपाध्यक्षसमेत रहनुभएका नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम अन्ततः नेकपा एकीकृत समाजवादी (नेकपा एस) मा समाहित हुने हुनुभएको छ ।
नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच एकता गर्ने सहमति भएको हो । शुक्रबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमसहितका नेताहरूबीच छलफलपछि पार्टी एकता गर्ने सहमति भएको छ ।
नेपाल र गौतमले संयुक्त रूपमा हस्ताक्षर गर्दै जारी वक्तव्यमा राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै एकताबद्ध भएर अघि बढ्ने सहमति भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीत र कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै एकताबद्ध हुने सहमति गरियो ।’
उक्त वक्तव्यमा उल्लेख भएअनुसार २०८२ साउन २ गते एकताको घोषणा गर्ने कार्यक्रम तय भएको छ । अध्यक्ष नेपालसँग एकता गर्ने सहमतिपछि गौतमले भन्नुभयो, ‘एकीकृत समाजवादीको कार्यदिशा, विचार र सिद्धान्त मान्न तयार भएर एकता गर्ने निर्णयमा पुगियो । साउन २ गते एकता घोषणा सभा हुन्छ । त्यसैमा जेजे हुने हो हुन्छ । एकतापछि नेकपा एकीकृत समाजवादी नै रहन्छ । हामी नेकपा एकीकृत समाजवादीमा एकीकृत हुने हो ।’
यसअघि, नेपाल र गौतमबीच पटक(पटक एकताका लागि छलफल भए पनि निचोड निस्केको थिएन । नेकपा एमालेले औपचारिक रूपमा गौतमसँग सहकार्य गर्ने निर्णय गरेको थियो । तर, अन्तिम समयमा यसले मूर्त रूप पाउन सकेको थिएन । २०७७ सालमा नेकपा विभाजनका बेला गौतमले छुट्टै अभियानको घोषणा गर्दै नेकपा एकता अभियान चलाउनुभएको थियो । नेकपा विभाजनपछि एमाले र माओवादी अलग भएका थिए भने २०७८ मा माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गर्नुभएको थियो । त्यसयता कहिले एमालेसँग त कहिले नेकपा एकीकृत समाजवादीसँग एकता गर्ने बताउँदै आउनुभएका गौतम अन्ततः एकीकृत समाजवादीसँग एकता गर्न तयार हुनुभएको हो ।
वामदेवलाई तेस्रो वरीयता
पूर्व(उपप्रधानमन्त्री तथा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा तेस्रो वरीयताको वरिष्ठ नेता दिने सहमति भएको छ । नेकपा एसका अध्यक्ष नेपाल र गौतमबीच पार्टी एकता गर्ने सहमतिसँगै एकीकृत पार्टीमा गौतमको वरीयताबारे पनि टुंगो लागेको हो ।
दुई पार्टीबीच एकता गर्ने सहमतिका क्रममा गौतमलाई तेस्रो वरीयताको वरिष्ठ नेता बनाउने सहमति भएको जानकारी दिँदै नेकपा एसका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले भन्नुभयो, ‘हाम्रो विधानमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता र वरिष्ठ उपाध्यक्षलगायत पद रहने व्यवस्था छ । वामदेव कमरेडलाई सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरीयतामा वरिष्ठ नेता दिने सहमति भएको छ ।’
हाल एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल पहिलो वरीयता, सम्मानित नेता झलनाथ खनाल दोस्रो वरीयतामा रहनुभएको छ । गौतम खनालपछिको वरीयतामा हुनुहुने छ । यस अगाडि नै गौतम नेकपा एकीकृत समाजवादीमा जान खोजे पनि त्यसबेला गौतमले मागेको पद एकीकृत समाजवादीले दिन आनाकानी गरेपछि एमालेमा जान छलफल चलाउनुभएको थियो ।
एमालेले अपमान गरेपछि समाजवादीमा जोडिएँ: गौतम
नेकपा एससँग पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षरपछि नेता वामदेव गौतमले एमालेले अपमान गरेकाले आफू अन्ततः समाजवादीसँग एकता गर्ने निचोडमा पुगेको प्रतिक्रिया दिनुभएको छ । नेकपा एकीकृत समाजवादीसँग झण्डै चार वर्षदेखि वार्ता प्रक्रियाको कुरा चलेको र अहिले आएर त्यो प्रयासलाई एकतामा परिणत गरेको उल्लेख गर्दै गौतमले भन्नुभयो, ‘कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने हाम्रो साझा उद्देश्य हो ।
यसका लागि हामी छरिएर होइन, एकीकृत भएर मात्रै यी कामलाई सम्पन्न गर्न सक्छौँ । यसैले हामी एकताको निचोडमा पुगेका हौँ । एमालेसँग पनि वार्ता गरेकै हो । तर, एमालेले हामीलाई अपमान गरेपछि समाजवादीमा आउने कुरालाई उचित ठानेका हौँ । २०८४ को निर्वाचनमा बहुमत ल्याउने गरी अगाडि बढ्ने योजना बनाउँछौँ ।’
कारबाहीको तयारीबीच माधव र रामकुमारी एकै मञ्चमा
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री शुक्रबार एउटै मञ्चमा देखिनुभएको छ । अध्यक्ष नेपाललाई पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेपछि ‘मरेको सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनको प्रस्ताव राख्नुभएकी झाँक्री शुक्रबार एउटै कार्यक्रममा सहभागी हुनुभएको हो । पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूको कीर्तिपुरमा भएको प्रथम बैठकमा अध्यक्ष नेपाल र नेतृ झाँक्री सहभागी हुनुभएको थियो ।
बैठकमा प्रमुख अतिथि हुनुहुन्थ्यो अध्यक्ष नेपाल । झाँक्री विद्यार्थी संगठनको इञ्चार्ज भएको नाताले पार्टीभित्र विवाद भए पनि सहभागी भएको नेताहरूले बताएका छन् । अध्यक्ष नेपालप्रतिको अभिव्यक्तिपछि पार्टी पंक्ति झाँक्रीसँग रुष्ट छ । उहाँलाई सचिवालय बैठकले चित्तबुझ्दो जवाफ दिएर माफी नमागे पार्टीबाट निष्कासन गर्ने चेतावनीसहितको स्पष्टीकरण मागेको छ । तर, झाँक्रीले आफूले बोलेको कुरा सच्याउन नसक्ने सार्वजनिक रूपमा बताइसक्नु भएको छ ।
पार्टीले चाहृयो भने बिदा लिन तयार छु :नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लागेको मुद्दाका कारण पार्टीले निर्णय गरे बिदा लिन तयार रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा पार्टीनिकट अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी निर्माणमा आफूले खेलेको भूमिका स्मरण गर्दै भन्नुभयो, ‘यदि पार्टी कमिटीले निर्णय गर्छ भने म बिदा लिन तयार छु ।’
पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका नेपालले जीवनमा एक पैसा पनि घुस नलिएको दाबी गर्दै आफूमा कुनै डर नरहेको उल्लेख गर्नुभयो । ‘सरकारका नीतिगत निर्णयमा अख्तियारले छानविन गर्न नपाउने संवैधानिक व्यवस्था छ, तर प्रतिशोधको आधारमा मुद्दा लगाइएको छ’, उहाँले आरोप लगाउनुभयो । नेपालले आफूमाथि मुद्दा चलाउनेहरू नै भविष्यमा आफैँले खनेको खाल्डोमा पर्नसक्ने चेतावनीसमेत दिनुभयो । साथै, पार्टी निर्माणमा आफ्नो दृढता र चुनौतीहरूका बाबजुद निरन्तर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।