काठमाडौं । नेकपा (एमाले)को पोलिटब्युरो बैठक शनिबार फेरि बस्ने गरी स्थगित भएको छ । एमाले मुख्यालयमा भोलि बिहान ११ बजे बैठक फेरि बस्नेछ ।
आजको बैठकमा सात जनाले विधान मस्यौदामाथि धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार किरण गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशीनाथ अधिकारी, शेरधन राई, राजन भट्टराई र कर्ण थापाले आज धारणा राखेका छन् ।
बैठकमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने व्यवस्था र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा फर्कने निर्णय लगायतबारे नेताहरूले धारणा राखिरहेका छन् ।
को नेताले के बोले ?
शुक्रबार दिउँसो साढे २ बजेदेखि सुरू भएर ५ बजेसम्म चलेको बैठकमा उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमाथि सदस्यहरूले धारणा राखेका थिए।
शुक्रबार संगठन विभाग प्रमुख काशिनाथ अधिकारी, स्थायी कमिटी सदस्य शेरधन राई, किरण गुरूङ, कर्ण थापा लगायतले बोलेका थिए।
विधान संशोधन प्रस्तावमाथि धारणा राख्दै स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टीलाई अनावश्यक द्वन्द्वमा नधकेल्न ध्यानाकर्षण गराएका थिए।
‘पार्टीलाई विधि, व्यवस्थाबाट सञ्चालन गरौं। अनावश्यक द्वन्द्वमा पार्टीलाई धकेल्ने काम नगरौं। जबजको मार्गदर्शनमा नेपाली क्रान्तिको पूरा गर्न एकताबद्ध भएर अगाडि बढौं। एमाले आन्तरिक लोकतन्त्रलाई व्यवस्थित गर्ने गुरू पार्टी हो, यसले आफ्नो लोकतान्त्रिक पहिचानलाई पुनर्पुष्टि गर्नुपर्छ,’ उनले भनेका थिए।
पार्टीभित्र विभिन्न कालखण्डमा चलेका बहस र तिनको राजनीतिक निष्कर्षका आधारमा ७० वर्ष उमेरहद र दुई कार्यकाल एउटै पदमा रही कार्य गरिसकेको कमिटीको पदाधिकारी तेस्रो कार्यकालको लागि उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको उनले बताएका थिए।
‘यो कुनै सामान्य प्राविधिक विषय होइन भन्ने कुरा त विभिन्न कालखण्डमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको पार्टी लोकतान्त्रीकरण सम्बन्धी विचार, दृष्टिकोणले नै प्रमाणित गरेको छ। नेतृत्व निर्माण, विधि निर्माण र पार्टी सञ्चालनमा पार्टीका आम कार्यकर्ताको सार्वभौमिकता स्थापित गर्ने पार्टी नेकपा एमाले हो र यस विधिलाई जबजको मार्गदर्शनमा पार्टी जीवनको अभिन्न अंग बनाउने नेतृत्वकर्ता अध्यक्ष केपी शर्मा ओली नै हो भन्ने कुरा पनि जगजाहेरै छ। अन्तरपार्टी संघर्षको माध्यमबाट लामो बहस गरेर हामीले स्थापित गरेका असल मान्यतालाई आज हामीले सहज रूपमा पार्टी जीवनमा किन अपनाउन कन्जुस्याइँ गर्दैछौंरु,’ उनले प्रश्न गरेका थिए।
थापाले बैठकमा सातौं महाधिवेशनमा ओलीले प्रस्तुत गरेको पार्टी लोकतान्त्रीकरणको प्रस्ताव र त्यसपछि पनि विभिन्न मञ्चमा प्रस्तुत गरेका विचार सन्दर्भमा रूपमा प्रस्तुत गर्दै उनीमाथि प्रश्न उठाएका थिए।