सिमकोट । सरकारले हरेक काममा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि हुम्ला लगायत दुर्गमका नागरिकलाई अहिले राष्ट्रिय परिचय पत्र बनाउन निकै सास्ती भोग्नु परेको छ ।
राष्ट्रिय परिचय पत्र बनाउन जिल्ला सदरमुकाम सिमकोटमै पुग्नु पर्ने बाध्यताका बीच अपांग, ज्येष्ठ नागरिकले लामो दूरीको पैदाल हिड्नु पर्ने भएपछि थप सनस्ती व्यहोर्नु परेको हो । पछिल्लो समय नेपाल सरकारले सबै निकायमा राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरेपछि दुर्गम गाँउका जेष्ठ नागरिकहरुलाई बोकेर सदरमुकाम लिनुपर्ने बाध्यता आइ लागेको हो ।
हुम्लाको खार्पुनाथ गाउँपालिका–३ स्थित राया गाउँकी ८२ वर्षीया जेष्ठ नागरिक धनसरा बुढालाई गाउँबाट सदरमुकाम सिमकोट पुर्याउनका लागि स्टेचरमा बोकेर ल्याउनु पर्याे । गत साउन २७ गते मंगलबार घरबाट सदरमुकाम सिमकोटमा रहेको जिल्ला प्रशासन कार्यालयमा पुर्याएको उहाँका छोरा सत्या बुढाले बताए ।
‘घरबाट करीव दुई घण्टा स्टेचरमा बोकेर गाडी सञ्चालन भएको मुख्य सडक रहेको बोक्च्या गौँडामा पुगाइयो । त्यहाँबाट सोही दिन ८ हजार रुपियाँमा गाडि रिर्जभ गरेर सदरमुकाम सिमकोट पुगियो’, एक परिचय पत्र बनाउन चर्को रकम र संकट व्यहोरेका बुढाले रिसिएर नेपालवोटसँग भने, ‘आँखा नदेख्ने र अन्य स्वास्थ्यमा निकै समस्या भएकी आमालाई राष्ट्रिय परिचयपत्र बनाउनकै लागि सिमकोट धाउनु पर्र्यो । नेपाल सरकारको निति अनुसार पछिल्लो समय अनिवार्य रुपमा सामाजिक सुरक्षा भत्ता र बैंक खाता खोल्नु पर्ने भएपछि म जस्तै थुप्रैले आप्mना अविभावकलाई बोकेर सदरमुकाम लिनुको विकल्प रहेन् । सिंहदरबरमा नीति बनाउने सरकारलाई हुम्लाका समस्याको के जानकारी ? ’

बुढेसकाल लागेर बिरामीले थला परेकी आप्mनी आमाको राष्ट्रिय परिचयपत्र बनाउने उदेश्यमा सिमकोट पुगेका बुढाले त्यति कष्ट गरेर पनि राष्ट्रिय परिचयपत्र नबने पछि थप दुखेसो व्यक्त गरे । राष्ट्रिय परिचयपत्र बनाउनकै लागि आठ दिन बितिसक्यो तर आमाको राष्ट्रिय परिचयपत्र बनेन ।
केही दिन त फर्म भर्ने मान्छे नैं पाएन । पहिले जिल्ला प्रशासन कार्यालय हुम्लाका कर्मचारीले नै फर्म भरिदिने गरेको भएपनि पछिल्लो समय कर्मचारीले उक्त फर्म नभरेका कारण राष्ट्रिय परिचयपत्र बनाउने काम थप लम्बीदै गएकोे गुनासो उनको छ ।
केहि समय फर्म भर्ने मान्छे नपाएर ढिला भएको काम केहि समय प्रशासन कार्यालयका कर्मचारीले नेटइन्टरनेको समस्या देखाएर काम नगर्ने गर्दा थप बिलम्ब भएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लामा फर्म भर्ने सुविधा नभएका कारण स्थानीय नागरिकले बजारमा रहेका आइटिहरूमा धाउनु पर्ने बाध्यता र फर्म भर्ने ठाँउनै थाहा नभए का कारणले अन्यौलमै दिन बितेको गुनासो बुढाले गरे ।
सदरमुकाम सिमकोटको एउटा मात्रै फर्म भर्ने आइटि पसल भएकाले ७६ वर्षीय टोपे बुढाको पनि उस्तै समस्या छ । उहाँको पनि तीनदिनदेखि राष्ट्रिय परिचयपत्र बन्न नसकेको उहाँका छोरा चिन बुढाले गुनासो गरे । विहानदेखि वेलुकासम्म लाइनमा लागेर पनि पालो नआएपछि बेलुका रित्तो हातमा होटेलमा फर्कनु पर्ने बाध्यता रहेको भनाई बुढाको छ । बजारमा रहेको आइटि पसलमा स्थानीय नागरिकले २ सय ५० रुपियाँ तिर्नु पर्ने बाध्यता छ ।
‘यदि जिल्ला प्रशासन कार्यालय हुम्लामै फर्म भर्ने व्यवस्था भएको भए हामी जस्ता गरिवहरूलाई केही राहत हुने थियो’, स्थानीय बुढाले थपे, ‘गाउँमा अधिकांस अपङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक लगायतले सदरमुकाम सिमकोट आएर राष्ट्रिय परिचयपत्र बनाउँदा खर्चिलो हुने गरेको छ । गाँउपालिका हुदै वडा स्तरसम्म राष्ट्रिय परिचयपत्र बनाउन सुरु गरेको भए सबै खर्च पनि बच्ने र गाँउका नागरिकहरुले घर दैलोमा सिंहदरवार आएको महसुस गर्न पाउने थियौ तर हाम्रा भावना कसले बुभ्mदीने ?’
यस विषयमा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले आफुलाई जानकारी नभएको र आठ दिनसमम के कती कारणले बनेन त्यसका लागि आफुलाई भेटेपछि तत्काल उहाँको समस्या समधान गर्ने प्रतिक्रिया दिए । ‘इन्टरनेटका कारण कहिले सप्mटवेयर नचल्ने गरेको छ’, प्रजिअ पाण्डेयले भने, ‘फारम भर्ने र अन्य बहानामा ज्येष्ठ नागरिकलाई आठआठ दिन झुलाउने काम नहुनु पर्ने हो, यदि त्यस्तो भएको भए म सोधीखोजि गरेर तत्काल सहजिकरणको काम गर्छु ।’
जिल्ला प्रशासन कार्यालयको सहजिकरणमा जिल्लाका दक्षिण भेगका स्थानीय तहमै गएर राष्ट्रिय परिचय पत्र बनाउन टोली खटाएको भएपनि इन्टरनेटको सहज पहुँच नभएका कारण अपेक्षित का मगर्न नसकिएको बताइएको छ ।
चालु आर्थिक वर्षको साउन १ गतेदेखि नैं सरकारले सामाजिक सुरक्षा भत्ता लिन, बैंक खाता अपडेट लगायतका हरेक काममा राष्ट्रिय परिचलय पत्र अनिवार्य गरेको छ ।