सिमकोट । हिउँदको समय लागेसँगै विभिन्न कामको बहानामा हुम्लाको दक्षिण क्षेत्रका दश हजार बढि नागरिले गाउँ छोडेका छन् । 
असारमा लगाइएको धान, मकै, कोदो, सिमि लगायतको बर्खे बाली भित्राएर सकिएसँगै यहाँका नागरिकले जाडो छल्न र हिउँदको समयमा मौशमी रोजागारीको खोजिका लागि गाउँ छोडेका हुन् । 
गएको एक सातामा मात्रै जिल्लाको सर्केगाड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका १० हजार ३ सय नागरीकले जिल्लाबाट बाहिर जाने टिकट काटेको संयुक्त टिकट बुकिङ काउन्टर प्रालि हुम्लाले जनाएको छ । 
‘केही धन कमाउनका लागि भारत गएका छन् भने केही विभिन्न शहरमा पढ्नका लागि भन्दै गाउँ छोडेर गएका छन्’, संयुक्त टिकट बुकिङ काउन्टर प्रालि अदानचुलीका प्रमुख प्रमोदजंग बोगटीले भने, ‘जिल्लाको दक्षिण क्षेत्रमा भएका सबै बुकिङ काउन्टरहरुको रेकर्ड अनुसार केहि दिनयता ठूलो संख्यामा जिल्ला बाहिर जाने व्यक्तिहरुले टिकट लिएका छन् ।’
संयुक्त टिकट बुकिङ काउन्टर प्रा.लि.बाट टिकट लिएको रकेर्ड अनुसार ७ हजार १ सय ४५ जना पुरुष र ३ हजार १ सय ५५ जना महिला छन् । उनिहरुमध्ये केहि युवा विद्यार्थीहरु अध्यनन गर्न गएको भएपनि अन्य नागरिक रोजगारीका लागि भारत गएको बताइएको छ ।
बिहिबार जिल्ला बाहिरका लागि ३ वटा बस भरिभराउ भएर छुटेपनि केही नागरीक गाडी नपाउँदा सर्केगाडमै बस्नु परेको छ । गाउँको सबै काम सकेर खेतबारीमा गहुँ छरेपछि हिउँदको समय गाउँमा काम नहुने भएपछि आफूहरु मौशमी रोजगारीका लागि भारत गएको सर्केगाड गाउँपालिका–४ का पाण्डप शाहीले बताए ।  खेतबारीको कामले घरपरिवार पाल्न नपुग्ने भएपछि उपचार लगायत केहि आम्दानी गर्ने ध्येयले आफूहरु हिउँदका महिना दक्षिणको छिमेकी मुलुक भारत लागेको भनाई शाहीको छ । भारत जान खुला सिमाना भएकाले पनि हुम्ला लगायत कर्णाली क्षेत्रका नागरिकहरु मौशमी रोजगारीका लागि हिउँदमा भारततर्फ जाने पुरानै प्रचालन हो । 
पछिल्लो समय हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि गाउँ छोडेनेको संख्यामा उल्लेख्य वृद्धि भएको बताएका शाहीले गाउँमा रोजागारका कुनै काम नभएपछि परिवारका लागि एकसरो लुगाफाटोको जोहो गर्नका लागि पनि आफूहरु भारत धाउन बाध्य भएको प्रतिक्रिया दिए । 
  
                            
                            
                            
                                
                                    प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  ०७:५६