सिमकोट । वर्षासँगैको हिमपातले जिल्ला सदरमुकामसँगको अवरुद्ध बाटो खुलाउने माग गर्दै नाम्खा ६ लिमीका जनप्रतिनिधिहरुको डेलिकेशन सदरमुकाम पुगेको छ ।
वडा अध्यक्ष पाल्जोर तामाङ नेतृत्वको टोली हिउँ पञ्छाउने कार्य रोकिएपछि सुचारु गर्ने माग सहित सिमकोट पुगेको हो ।
गएको असोज ९ गतेदेखि निरन्तर ४ दिन परेको वर्षासँगैको हिमपातका कारण लिमी प्रवेश गर्ने न्यालु लेककने बाटो अवरुद्ध भएपछि बाटोमा जमेको हिउँ पञ्छाउने माग लिएर आफू सदरमुकाम पुगेको वडा अध्यक्ष तामाङले जानकारी दिए ।
सदरमुकाम सिमकोट पुगेर एउटा जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै उनले न्यालु लेकको लिमीतर्फको हिउँ जसरी पनि फाल्ने कार्य गर्न आग्रह गरेका छन् । यसअघि पुर्वाधार बिकास कार्यालयले न्यालु लेकको सिमकोटतर्फको हिउ पञ्छाउने कार्य सुरु गरेको थियो ।
'बाटो नखोल्दै विनियोजित बजेट सकिएको भनेर न्यालुको हिउँ पञ्छाउने काम रोकिएको छ । हामी लिमीका वासिन्दालाई गाउँबाट आवत जावत गर्न संभव नभएपछि हामीले जिल्ला प्रशासन कार्यालय मार्फत विकासे कार्यालयको ध्यानाकर्षण गराउन बाध्य भएका हौं', अध्यक्ष तामाङले नेपालवोटसँग थपे, 'हाम्रै आग्रहमा शुरु भएको हिउँ पञ्छाउने कार्य अचानक रोकिएपछि म पैदलै हिडेर सिमकोट आई पुगेको हुँ ।'
हिउँले बाटो अवरुद्ध भएपछि खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडको खाद्यान्न नपुगेको, नयाँ लगाएको बाली हिउँले क्षति पुर्याएको र चीनको ताक्लाकोटबाट खाद्यान्न ल्याउन नसकिएको कारण हिउँदमा ठूलो समस्या हुने भन्दै उनीहरु सदरमुकाम सिमकोटमा डेलिगेशन आएका हुन् ।
न्यालु लेकको सडकमा जमेको हिउँ जसरी पनि बेलैमा पन्छाउनु पर्ने भनाई उनिहरुको छ । त्यो हिउँ पन्छाएर तत्काल लिमीको समस्या समाधान नभए केहि दिनमै हिउँ थपिदै जाने र ठूलो समस्या हुने डरले पनि दवाव दिन खोजिएको तर्क लिमीवासिको छ ।
ध्यानाकर्ष०ा पश्चात जिल्ला प्रशासन कार्यालयले अव सरोकारवाला पक्षसँग कुरा गरेर न्यालु लेकको हिउँ पन्छाउने कार्यमा लाग्ने जनाएको छ ।
यसअघि सुरु भएको लिमी प्रवेश गर्ने न्यालु लेकमा हिउ पन्छाउने कार्य रोकिएको छ । पुर्वाधार बिकास कार्यालयले केही दिन अगाडी सल्ली हुँदै लगेको जेसिवीले सेलिवाङ दहबाट माथि जमेको हिउ पन्छाउने कार्य गरेको भएपनि वजेट सकिएको भन्दै न्यालु लेकबाट लिमीतर्फको सडकमा जमेको हिउ पन्छाउने कार्य नगरेरै काम रोकिएको हो ।
तीनदेखि पाँच फिट हिउँ न्यालु लेकको सडकमा जमेको भएपनि त्यो पन्छाउने कार्य केही दिन गरेर रोकिएको होे । हिउँ पन्छाउने भनेर नै जिल्ला विपद ब्यवस्थापन समितिले निर्णय गरेर न्यालु लेकको हिउँ फाल्न सुरु गरेको भएपनि हाल त्यो काम अगाडी बढ्न सकेको छैन । न्यालु लकेबाट लिमीतर्फ निक्कै लामो सडकमा हिउ जमेको छ ।
अझ लेकको पछाडीपट्टि त धेरै हिउँ जमेको छ । न्यालु लेकमा जमेको हिउ फाल्ने कार्य रोकिएकाले त्यसलाई सुचारु गर्न आवश्यक देखिएको छ । यसअघि लिमीको तुम्लिङमा रोकिएका चार जना न्यालु लेकको हिउ छिचौल्दै सिमकोट पुग्नु भएको थियो । त्यसैगरि वडा अध्यक्ष तामाङ सहित तीन जनाको टोली पनि न्यालु लेकबाट सिमकोट आई पुगेको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३ २०:३७