काठमाडौं । भर्खर गठन भएको वालेन शाह नेतृत्वको सरकारले पुर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी र्मा ओलीलाई पक्राउ गर्ने निर्णय अनुसार प्रहरी निवाश पुगेपछि ओली र लेखकले फोनमा सल्लाह गरेरै गिरफ्तारी दिने निर्णय भएको खुलेको छ ।
मन्त्रीपरिषदको निर्णइ अनुसार गृहमन्त्रालयको पत्रले शुक्रबार राति २ बजे नै पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा २ गाडी प्रहरी पुगिसकेका थिए । सूचना पाएर भक्तपुरको गुण्डुस्थित निवासमा ओलीसँग सय हाराहारी नेता–कार्यकर्ता भेला भइसकेका थिए ।
ओली निवासको गेट बन्द थियो । शनिबार बिहान ५ बजेसम्म प्रहरीको संख्या थपिँदै थियो । उता भक्तपुरकै कटुन्जेमा तत्कालीन ओली सरकारकै गृहमन्त्री रमेश लेखकको निवासमा पनि प्रहरी रातिदेखि नै तैनाथ भइसकेका थिए ।
निवासभन्दा केही टाढा ओरालोमा थियो प्रहरीको गाडी । प्रहरी अधिकारीहरू पक्राउ गर्न आएपछि बिहान ओलीले रमेश लेखकलाई टेलिफोन गरेर भने, ‘तपाईं गिरफ्तारी दिएर जानुस्, म पनि आउँछु ।’
यसअघि शुक्रबार बेलुका पनि ओली र लेखकको भेट भएको थियो । सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन आफूहरूको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
प्रहरीका हकमा तत्काल कार्यान्वयन नगर्ने तर ओली, लेखक, तत्कालीन गृहमन्त्री गोकर्णमणि दुवाडी र काठमाडौँका त्यतिबेलाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको हकमा तत्काल कारबाही अगाडि बढाउन सरकारले सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद् बैठक लगतै गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षलाई आफ्नो कार्यकक्षमा बोलाएर यस विषयमा छलफल अगाडि बढाएका थिए ।
त्यतिबेलासम्म लेखकको घरको गेट बन्द थियो । त्यसपछि लेखकले पौने ६ बजेतिर गिरफ्तारी दिए । लेखकको घरमा भीड थिएन । सरक्कै प्रहरीको गाडीमा पसेर गए ।
लेखक र ओलीलाई एकसाथ पक्राउ गर्ने प्रहरीको योजना थियो । त्यहीअनुसार दुवैतर्फ प्रहरी अधिकारीहरू खटाइएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँ, भक्तपुर र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट टोली परिचालन गरिएको थियो ।
कटुन्जेबाट लेखक पक्राउ परेको खबर गुण्डुमा फैलियो । त्यसपछि प्रहरी ओली निवासतर्फ खघि बढ्यो । बन्द गेट बल प्रयोग गरेर खोल्यो ।
अनि प्रहरी अधिकारीहरू भित्र पसे। प्रहरीलाई अवरोध गर्ने प्रयासमा लागेका कार्यकर्तालाई लाठि चार्ज ग¥यो । बाहिर जति जटिल थियो, भित्र ओली भने निकै सहज देखिए ।
ओलीलाई जरुरी पक्राउ पुर्जी दिन गएका प्रहरीलाई ओलीले भने, ‘किन यति धेरै प्रहरी ल्याउनु भएको, हुल ल्याउनै पर्दैनथ्यो नि, म आफैँ गइहाल्थेँ नि !’
त्यसपछि ओलीले दुई लाइनको पक्राउ पुर्जी सहजै बुझे र प्रहरीसँग जाने तयारी गरे । जानुअघि उनले पत्नी राधिकालाई अंकमाल गरे । अनि कार्यकर्ताको भिडबाट अगाडि बढे ।
ओलीलाई उनकै गाडिमा चढाएर लगिएको थियो । गुण्डुबाट सिधै जिल्ला प्रहरी परिसर काठमाडौँको भद्रकालीस्थित कार्यालयमा लगियो । त्यहाँको कानुन शाखामा लगेर ओलीलाई राखियो । अनि स्वास्थ्य जाँचका लागि कागजात तयार गरे ।
केही बेरमै उनलाई त्यहाँबाट फेरि त्रिवि शिक्षण अस्पताल महाराजगन्जतिर लगियो । यता रमेश लेखकको भने त्यतिबेलासम्म तीनकुनेको कान्तिपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिसकिएको थियो । लेखकलाई पनि परिसर लगिएको थियो । तर उनलाई छुट्टै कोठामा राखियो ।
त्यसपछि ओलीलाई त्रिवि शिक्षण अस्पतालमा राखियो । लेखकलाई भने महाराजगन्जकै प्रहरीको २ नं गणमा लगियो । गणमा लगेपछि लेखकसँग भेट्न बन्देज लगाइएको छ ।
उता शिक्षण अस्पतालमा ओलीलाई राखेपछि त्यहाँबाट अन्य बिरामीलाई भने बाहिर निकालिएको छ । ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
डाक्टरले निगरानीमै राख्नुपर्छ भनेपछि ओलीलाई टिचिङ अस्पतालमै भर्ना गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता, एसपी पवनकुमार भट्टराईले बताए ।
‘डाक्टरले उहाँलाई हाम्रै निगरानीमा राख्नुपर्छ भनेकाले अस्पतालमै भर्ना गरिएको हो’, एसपी भट्टराईले नेपालवोटलाई भने ।
आज ओली र लेखक दुवैजनालाई हिरासतमै राखिने छ । शनिबार भएकाले कानुनी प्रक्रिया अगाडि बढ्ने छैन ।
आइतबार अदालतमा म्याद थपका लागि उपस्थित गराउनुपर्नेछ । ओली र लेखकले त्यसका लागि तयारी पनि साथै अगाडि बढाएका छन् । यसअघिको भेटमै उनीहरूले कानुनी लडाइँ कसरी लड्ने भन्ने सल्लाह गरिसकेको लेखक निकट नेताले बताए ।
म्याद थपका लागि लैजाँदा त्यसकोविरुद्धमा बहस गर्ने र सँगै सर्वोच्च अदालतमा बन्दी प्रत्येक्षीकरणको निवेदन पनि दायर गर्न उनीहरूको तयारी छ । ओली र लेखकलाई ज्यान सम्बन्धी कसुरमा कारबाही अगाडि बढाउन जाँचबुझ आयोगको सिफारिस छ ।
आयोगले दुवै जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार कारबाही गर्न सिफारिस गरेको छ । अब यही दफा अनुसार प्रहरीले अनुसन्धान गरेर अदालतमा मुद्दा लैजाने प्रक्रिया अगाडि बढाउने छ । तर उनीहरूलाई थुनामै राखेर अनुसन्धान गर्ने कि नगर्ने भन्ने विषयमा भने अदालतको म्याद थप पछि मात्रै तय हुनेछ ।
उनीहरूले आफूलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न माग गर्नेछन । तर जिल्ला सरकारी वकिल कार्यालयले भने थुनामै राखेर अनुसन्धान गर्न अनुमति माग गर्नेछ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ७६ जना मारिएका थिए । प्रहरीको गोली लागेर ४२ जनाको मृत्यु भएको थियो । प्रहरीलाई गोली चलाउन आदेश दिएको आरोप उनीहरूलाई छ । तर आयोगको बयानमा भने दुवै जनाले आदेश दिएको अस्वीकार गरेका छन ्।
गोली चलाउने प्रहरीको हकमा भने थप अध्ययन गरेर मात्रै निर्णय गर्ने भएको छ । आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूलाई पनि कारबाही गर्न सिफारिस गरेको छ ।
उनीहरूलाई तत्काल कारबाही नगर्ने तर ओली र लेखकलाई तत्काल पक्राउ गर्न सुधनले शुक्रबार रातभर सुरक्षा प्रमुखहरू, गृहसचिव र कानुन सचिवसँग आईजीपी निवासमा छलफल गरेका थिए । त्यहि छलफलबाट अहिले नै पक्राउ गरेर कारबाही अगाडि बढाउने सहमति जुटेको थियो ।
यसैबिच आज आफ्ना नेता पक्राउ परेपछि एमालेले सचिवालय र कांग्रेसले पदाधिकारी बैठक राखेका छन् ।
शनिबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष ओलीको पक्राउविरुद्ध कानुनी र राजनीतिक कदम चाल्ने निर्णय गरेको छ ।
यो खबर लेख्दासम्म कांग्रेसको निर्णय भने आइसकेको छैन ।
प्रकाशित मिति: शनिबार, चैत १४, २०८२ १३:४३