काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि सुरक्षा चुनौती बढेको भन्दै देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयले देशभर सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’ गराएका हुन् ।
बदलिँदो परिस्थतिका कारण देशभर सुरक्षा सतर्कता अपनाउँदो सुरक्षाकर्मीलाई ‘स्ट्यान्डबाई’ राखिएको नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) अबिनारायण काफ्लेले रातोपाटीलाई बताए । उनले भने, ‘सुरक्षा चुक हुन नदिन संगठन प्रमुखबाट स्पष्ट निर्देशन भएको छ ।’
प्रहरी जवानदेखि एसपीसम्मका प्रहरीलाई केन्द्र र जिल्लाहरुमा स्ट्यान्डबाई बस्न प्रहरी प्रधान कार्यालयले सर्कुलर जारी गरेको छ । त्यस्तै प्रहरी कर्मचारीको बिदामा पनि रोक लगाइएको डीआईजी काफ्लेले बताए ।
जिल्ला प्रमुखहरुलाई आफ्नो क्षेत्रमा गस्ती पट्रोलिङ बढाउन र रणनीतिक योजना अनुसार परिचालन हुन निर्देशन गरिएको छ ।
सशस्त्रले पनि आफ्ना सुरक्षाकर्मीलाई स्ट्यान्डबाई राखेको छ । भिड नियन्त्रण गर्दा लगाउने चुस्तामा स्ट्यान्डबाई बस्न देशभर सर्कुलर गरिएको सशस्त्र प्रहरीका एक एच्च अधिकृतले रातोपाटीलाई बताए ।
गृहमन्त्री र सुरक्षा प्रमुखहरूको छलफल
भदौ २३ र २४ को घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसको आधारमा ओली र लेखकलाई पक्राउ गरेपछि शनिबार गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरुसँग छलफल गरेका थिए ।
पक्राउपछि नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताले काठमाडौँ सहितका ठाउमा विरोध प्रदर्शन गरे । प्रदर्शनपछि गृहमन्त्रीले आईजीपी दानबहादुर कार्की र सशस्त्रका आईजी राजु अर्याल सहितका उच्च अधिकारीहरुसँग सम्भावित परिस्थितिबारे छलफल गरेका हुन् ।
छलफलमा सहभागी एकजना उच्च सुरक्षा अधिकृतका अनुसार पूर्वप्रधानमन्त्री ओलीको पक्राउको विरोधमा ‘अपेक्षाकृत’ प्रदर्शन नभएको निष्कर्ष निकालिएको छ । बैठकमा सहभागी ती अधिकृतले भने, ‘अपेक्षाकृत कमजोर प्रदर्शन भएको हाम्रो निष्कर्ष छ ।’
अपेक्षा गरेभन्दा कमजोर प्रदर्शन भएपछि सुरक्षा रणनीति तयार गरेर देशभर उच्च सुरक्षा सतर्कता अपनाउने निर्णय गरिएको उनले बताए । आज काठमाडौँसहित २१ ठाउँमा एमाले र कांग्रेसका कार्यकर्ताले प्रदर्शन गरेका छन् । काठमाडौंको बबरमहलमा प्रदर्शनमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शनिबार, चैत १४, २०८२ २०:१६