सुर्खेत । गत २५ चैतमा कडा मधुमेहका कारण स्वास्थ्य समस्या बल्झिएपछि जुम्लाको हिमा–६ का ७१ वर्षीय कलबहादुर अधिकारीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत शिक्षण अस्पतालमा भर्ना गरियो ।
त्यहाँ मधुमेह नियन्त्रण भएन । त्यसमाथि ‘प्रोस्टेट’ को समस्या बढेपछि शिक्षण अस्पतालले ‘युरो सर्जरी’ का लागि बाँकेको नेपालगन्ज रिफर गर्यो ।
जुम्लाबाट छिट्टै अस्पताल पुर्याउन बिरामीका आफन्तले दिनभर जहाज कुरे पनि उडान भएन । बिरामीको अवस्था जटिल बनेपछि हिमा गाउँपालिकाको एम्बुलेन्समार्फत नेपालगन्ज लैजाने निधो भयो । तर, उनीहरू नेपालगन्ज पुग्न पाएनन् । ०१००१ झ ००२४ नम्बरको उक्त एम्बुलेन्स कालीकोटको खाडाचक्र–२ मेयरखोलानजिक दुर्घटना हुँदा कुलबहादुरका छोरा ३२ वर्षीय भीमबहादुर र हिमा–७ मचीगाउँका एम्बुलेन्स चालक २६ वर्षीय शक्तिबहादुर शाहीको मृत्यु भयो । बिरामी अधिकारी घाइते भए । ‘त्यस दिन प्लेन आएको भए मेरो उपचार सहज हुन्थ्यो,’ अधिकारीले भने, ‘अकालमै छोरा गुमाउनुपर्यो ।’
कर्णालीका हुम्ला, डोल्पा, मुगु र जुम्लामा सडक जीर्ण र जोखिमपूर्ण भएकाले सर्वसाधारण सुरक्षित यात्राका लागि जहाज कुर्छन् । तर, तालिकाअनुसार उडान नहुँदा एकातिर सास्ती त छँदै छ, अर्कोतिर बिरामीहरू समयमै अस्पताल पुग्न पाइरहेका छैनन् ।कर्णालीका हुम्ला, डोल्पा, मुगु र जुम्लामा सडक जीर्ण र जोखिमपूर्ण भएकाले सर्वसाधारण सुरक्षित यात्राका लागि जहाज कुर्छन् । तालिकाअनुसार उडान नहुँदा एकातिर सास्ती त छँदै छ, अर्कोतिर बिरामीहरू समयमै अस्पताल पुग्न पाइरहेका छैनन् । यस्तैमध्येकी एक हुन्, जुम्लाको चन्दननाथ–८ की २१ वर्षीया सवि कामी । मुटु, छाती र फोक्सोमा समस्या देखिएपछि उनी सोमबार प्रतिष्ठानको शिक्षण अस्पतालमा भर्ना भइन् । उनलाई अस्पतालले नेपालगन्ज रिफर गरेको छ । जहाजमै अक्सिजन लगाएर लैजान चिकित्सकले सल्लाह दिएका छन् । ‘बुधबार सेड्युल भए पनि जहाज आएन,’ उनका भाइ विनोदले भने, ‘मौसमको कारण भन्दै उडान नभएपछि शिक्षण अस्पतालमै फर्किनुपर्यो ।’
तिला–८ की दुर्गा रावतलाई लामो समयदेखि ‘ग्यास्ट्रिक’ को समस्या छ । मंगलबार समस्या बढेपछि उपचारका लागि नेपालगन्ज जाने योजना बनाइन् । ‘गाडीबाट कष्टकर यात्रा गर्न सकिन्न,’ उनले भनिन्, ‘बुधबार नेपाल एयरलाइन्सको फ्लाइट थियो, त्यसैले विमानस्थल पुगे, दुई दिनसम्म मौसमको समस्या देखाउँदै उडान भएन, अन्तिममा टिकट रद्द गर्नुको विकल्प भएन ।’
पर्यटकीय मौसम सुरु भएको भन्दै यतिबेला निजी विमान कम्पनीका जहाजहरू मुलुकका पूर्वी जिल्लातर्फ केन्द्रित भएपछि कर्णाली उडानविहीन जस्तै छ । नेपाल वायुसेवा निगमको जहाजको उडान पनि मौसम तथा प्राविधिक कारण देखाउँदै पटकपटक रद्द हुने गरेको छ । यसबाट कर्णालीका स्थानीय आजित छन् ।
गत साता नेपाल एयरलाइन्सले जुम्लामा नेपालगन्जबाट आइतबार, मंगलबार र बुधबार तथा सुर्खेतबाट मंगलबार उडान गर्ने तालिका सार्वजनिक गरेको थियो । ‘तर मंगलबार मात्र उडान भयो, अरू सबै उडान रद्द भए,’ स्थानीय चन्द्रलाल न्यौपानेले भने, ‘उडान अवरुद्ध हुँदा बिरामीको ज्यान जोखिममा परिरहेको छ ।’
२ सय ३२ किलोमिटरको कर्णाली राजमार्ग ‘सिंगल लेन’ को छ । सोही कारण स्थानीयलाई महँगो भए पनि जहाजकै भर पर्नुपर्ने बाध्यता रहेको न्यौपाने बताउँछन् । ‘सामान्य पानी परे पनि गाडी नरोकिएको र हिलोमा नफसेको दिनै हुँदैन । एउटा गाडी रोकिए घण्टौं जाम हुने समस्या छ,’ उनले भने, ‘त्यसमा पनि ५ वर्षअघि गरिएको राजमार्गको कालोपत्र पूरै उप्किएपछि हिउँदको समयमा सडक धुलाम्मे हुने गरेको छ ।’
मुगुको गमगढीका रत्नबहादुर शाहीले सडक र जहाज दुवैका कारण यात्रुले सास्ती भोग्नुपरिरहेको गुनासो गरे । ‘न सडक गतिलो छ, न त प्लेन नै आउँछ,’ उनले भने, ‘कोही जटिल बिरामी परिहाले ज्यान गुमाउनुको विकल्पै छैन ।’ नेपाल एयरलाइन्स जुम्ला स्टेसन इन्चार्ज उमाकान्त अधिकारीले मौसम खराबीले उडानमा समस्या भइरहेको दाबी गरे । ‘सेड्युल भएपछि यात्रुलाई विमानस्थलमा बोलाउँछौं,’ उनले भने, ‘तर जहाज नै नआएपछि फर्काउनुपर्ने बाध्यता छ ।’ उनका अनुसार हरेक उडानमा २र२ सिट बिरामी र सरकारी कर्मचारीका लागि छुट्याइएको छ ।
जुम्लामा सीता, तारा, समिट र नेपाल एयरलाइन्सले उडान गर्दै आएका छन् । यात्रु अभाव देखाउँदै निजी एयरलाइन्सले दैनिकजसो उडान रद्द गर्ने गरेको स्थानीय रमानन्द आचार्यले बताए ।जुम्लामा सीता, तारा, समिट र नेपाल एयरलाइन्सले उडान गर्दै आएका छन् । यात्रु अभाव देखाउँदै निजी एयरलाइन्सले दैनिकजसो उडान रद्द गर्ने गरेको स्थानीय रमानन्द आचार्यले बताए । जहाज नियमित नहुँदा रिफर गरिसकेका बिरामीलाई समेत फर्काएर फेरि अस्पतालमै भर्ना गर्नुपर्ने बाध्यता रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक डा। कमल थानीले बताए ।
सडक मार्ग भरपर्दो नहुँदा मुगु र हुम्लाका अधिकांश यात्रुले हवाई यात्रा रोज्ने गरेका छन् । तर, ३र४ दिनसम्म एयरलाइन्सका कार्यालय धाउँदासमेत टिकट नपाइने मुगुमकार्मारोङ गाउँपालिकाका गुरु तामाङले बताए । ‘कि त एयरलाइन्सका कर्मचारी चिन्नुपर्यो कि नेताको मान्छे हुनुपर्यो,’ उनले भने, ‘एक त जहाजै आउँदैन, आए पनि टिकट पाइँदैन ।’ रारा घुम्न आउने पर्यटकले दोहोरो टिकट बोकेर आउँदा स्थानीय जहाज चढ्नबाट वञ्चित भइरहेको उनले गुनासो गरे ।
कर्णालीमा उडान गरिरहेका निजी कम्पनीले पर्यटक ओसार्न भन्दै जहाज पूर्वतिर पठाएपछि नेपाल एयरलाइन्सकै भर पर्नु परिरहेको हुम्लाको सिमकोटका राजबहादुर रोकायाले बताए । ‘इन्धनले २र३ जनाको ठाउँ ओगट्छ, दुईरदुई सरकारी र बिरामी कोटा भएकाले टिकट पाउन मुस्किल छ,’ उनले भने, ‘एउटा टिकटका लागि कम्तीमा एक साता धाउनुपर्छ ।’
गत असारमा मात्र हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो । सदरमुकाम सिमकोटबाट सुर्खेतसम्मको दूरी ३ सय ३४ किलोमिटर छ । जसको भाडा ५ हजार ८ सय रुपैयाँ छ भने गाडीलाई उक्त दूरी पार गर्न झन्डै २ दिन लाग्छ । भर्खरै खनिएको कच्ची सडकमा कष्टकर यात्रा गर्नुपर्ने बाध्यताले अझै पनि हवाई यातायातको विकल्प नभएको उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले बताए ।
नेपाल एयरलाइन्सले नेपालगन्जबाट सिमकोटसम्म ११ हजार ८ सय १४, मुगुसम्म ९ हजार ३ सय र जुम्लाका लागि ८ हजार ९ सय ३३ रुपैयाँ भाडा लिने गरेको छ । निजी एयरलाइन्सले ५ सय, हजारदेखि २ हजार रुपैयाँसम्म बढी भाडा लिने गरेका छन् । त्यस्तै सुर्खेतबाट हुम्लाका लागि ६ हजार ७८, जुम्लाको ६ हजार ५ सय ९२ र मुगुको रारा विमानस्थलको ७ हजार २ सय ६५ रुपैयाँ भाडा तोकिएको नेपाल एयरलाइन्सका सुर्खेतस्थित स्टेसन इन्चार्ज गोविन्द गिरीले बताए । उनका अनुसार निजी एयरलाइन्सले भने सुर्खेतबाट उडान गर्ने गरेका छैनन् ।
जहाज एउटा, गन्तव्य धेरै
नेपालगन्ज ‘बेस’ भएको जहाजलाई उडान तालिका पूरा गर्न भ्याइनभ्याइ छ । ६ दिनमा झन्डै ४० पटक उडान गर्नुपर्छ । तर पुरानो जहाजमा आइरहने प्राविधिक समस्या र मौसम खराबीका कारण उडान रद्द हुने गरेका छन् ।नेपाल एयरलाइन्ससँग दुईवटा ट्वीनअटर जहाज छन् ।
एउटा जहाजले काठमाडौंबाट पूर्वतिरका जिल्लामा उडान गर्छ । अर्को जहाज नेपालगन्ज ‘बेस’ बनाएर राख्ने गरिएको छ । उक्त जहाजलाई आइतबार बिहान काठमाडौंबाट नेपालगन्ज ल्याउने र शुक्रबार साँझ काठमाडौं लैजाने गरिएको एयरलाइन्सका कर्मचारी बताउँछन् । उक्त जहाज लामो समय ‘ग्राउन्डेड’ भएर मर्मतपछि सञ्चालनमा ल्याइएको हो । जसका कारण जहाजमा बेलाबेला प्राविधिक समस्या देखिइरहने नेपाल एयरलाइन्स नेपालगन्जका प्रमुख यमराज सिंहले बताए ।
नेपालगन्ज ‘बेस’ भएको जहाजलाई उडान तालिका पूरा गर्न भ्याइनभ्याइ छ । ६ दिनमा झन्डै ४० पटक उडान गर्नुपर्छ । तर पुरानो जहाजमा आइरहने प्राविधिक समस्या र मौसम खराबीका कारण उडान रद्द हुने गरेका छन् । नेपाल एयरलाइन्सले भर्खरै रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा उडान थप गरेको छ । २०७० सालदेखि बन्द भएको विमानस्थलमा नेपाल एयरलाइन्सले अब प्रत्येक शुक्रबार उडान गर्नेछ ।
एउटै जहाजको जताततै तालिका हुँदा उडान रद्द हुने जोखिम बढेको ट्राभल एजेन्ट अमरराज पुनले बताए । ‘नेपाल एयरलाइन्सले जताततै फ्लाइटको तालिका बनाएको छ, तर पाइलटको उडान अवधि, मौसम र जहाजको प्राविधिक पक्षका कारण दिनहुँजसो ३र४ फ्लाइट रद्द हुने गरेको छ,’ उनले भने, ‘नेपाल एयरलाइन्सको उडान तालिका जथाभाबी हुँदा यात्रुलाई झन् सास्ती थपिएको छ ।’ अर्का व्यवसायी विमल केसीले नेपाल एयरलाइन्सले नेपालगन्जमै ‘बेस’ बनाएर उडान थाले पनि तालिका अव्यावहारिक भएको बताए ।
नेपाल एयरलाइन्सले रुकुम–नेपालगन्जका लागि आइतबार र बुधबार, जुम्लाका लागि आइतबार, मंगलबार र बुधबार, सिमकोटका लागि सोमबार र बुधबार, ताल्चाका लागि आइतबार, मंगलबार, बिहीबार र शुक्रबार तथा डोल्पाका लागि मंगलबार, बिहीबार र शुक्रबार उडान तालिका सार्वजनिक गरेको छ । त्यस्तै जुम्लादेखि नेपालगन्ज आइतबार, मंगलबार र बुधबार, सिमकोट–नेपालगन्ज सोमबार र बुधबार, ताल्चा–नेपालगन्जका लागि आइतबार, मंगलबार, बिहीबार र शुक्रबार तथा डोल्पा–नेपालगन्ज उडानमा मंगलबार, बिहीबार र शुक्रबारको उडान तालिका बनाएको छ । जहाजले नेपालगन्ज–बाजुरामा पनि ३ दिनको ‘सेड्युल’ बनाएको छ । सुर्खेतबाट सोमबार हुम्ला, मंगलबार जुम्ला र बिहीबार रारा विमानस्थलमा उडान गर्ने गरेको सुर्खेतका स्टेसन इन्चार्ज गोविन्द गिरीले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, वैशाख २७, २०८३ १५:३४