सिमकोट । हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा बिहानैे असिना–पानी सहितको बाढीपहिरोले क्षती पुर्याएको छ ।
बाढीसँगैको पहिरोले गाउँको डाँफे आधारभूत विद्यालय र खेतीयोग्य जग्गा बगाएको चंखेली–५ का वडा अध्यक्ष हर्कधन तामाङले जानकारी दिए ।
वडाध्यक्ष तामाङका अनुसार गोठ पुरिए पनि मानवीय क्षति नभएको र क्षतिको पूर्ण विवरण आउन नसकेको बताए । गाउँमा बाढी पसेर क्षती गर्ने बित्तिकै आफूले जिल्ला प्रशसन कार्यालय र पालिकामा जानकारी गराएको बताएका वडा अध्यक्ष तामाङले अहिलेपनि क्षतीको विवरण संकलन गरिरहेको जानकारी दिए । उनका अनुसार गाउँमा आएको बाढीपहिरोले ठूलो क्षति पुगेको छ ।
बाढीको जानकारी पाउने बित्तिकै नजिकैको मेल्छाम प्रहरीचौकीबाट प्रहरीको टोली बाढीस्थल नेप्कामा पठाउने काम भएको प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले जानकारी दिए ।
‘गएराति एक्कासी असिना–पानी सहितको बाढीले डाँफे आधारभूत विद्यालय नै बगाएको छ । गाउँको खेतीयोग्य जग्गा र गोठहरु पनि बगाएको प्रारम्भिक जानकारी आएको छ’, गाउँका स्थानीय छक्कबहादुर तामाङले भने, ‘बाढीसँगैको पहिरोले वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको छ । त्यसबाट भेँडाबाख्रामा क्षति पुगेको छ । तर कति क्षती भयो भन्ने एकिन गर्न सकिएको छैन् ।’
‘म गाउँपालिकाको केन्द्रमा छु, राति गाउँमा बाढी–पहिरो आएर मेरो र धनसिंह तामाङको गोठ पुरिँदा भेँडाबाख्रा पुरिए रे थप कुरा बुझ्दैछु’ वडा अध्यक्ष तामाङले नेपालबोटसँग भने, ‘गााउँमा कोदो खेती हुने धेरै जग्गा बाढीले क्षतविक्षत बनाएको छ । गाउँभरको जग्गा त तहसनहस पारेर केही बाँकी छैन रे । रातिको घटना भएकाले क्षतिको एकिन हुनसकेको छैन । अहिले पिप्लाङ्ग प्रहरी चौकीको टोलीसहित म गाउँमा पुग्न लागेको छु ।’
घटनास्थलमा मेल्छाम प्रहरीचौकीको टोली आज बिहान प्रस्थान गरेको छ ।
जिल्ला प्रकोप व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले नेप्का गाउँ दुर्गममा भएकाले क्षतिको पूर्ण विवरण आउन नसकेको बताए । बाढी–पहिरोले क्षति पुगेको भन्ने सूचना पाएको छु । स्थानीय र प्रहरीमार्फत बुझ्ने काम भइरहेको जानकारी उनले दिए ।
हुम्ला सदरमुकाम सिमकोटदेखि टाढाको दूरीमा रहेको नेप्का गाउँ सडक सञ्जालमा नजोडिएकाले पनि विवरण संकलन गर्न र उद्धारका लागि काम गर्न सुरक्षा निकायलाई समस्या भएको हो । जिल्लाको दुर्गम वस्तीका रुपमा चिनिनिे नेप्कादेखि गाउँपालिकाको केन्द्रसम्म पुग्न अप्ठ्यारो बाटोमा ज्यानकै जोखिम मोलेर पाँच घण्टा पैदल हिँड्नुपर्ने बाध्यताले पनि त्यहाँ सुरक्षाकर्मी जान ढिलाई भएको जिल्ला प्रही कार्यालयका प्रहरी नायव उपरिक्षक शंकर खड्काले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३ ०९:०५