सिमकोट। दुई साता बित्दापनि सरकारले कुनै कदम नचालेपछि हुम्ला-बाजुराको सिमाना विवाद थप उत्कर्षमा पुग्नै देखिएको छ ।
दुई जिल्लाका सिमा क्षेत्रमा भएको विवादको विषयलाई लिएर बाजुराको हिमाली गाउँपालिकाको हिमाली युवा क्लबले कर्णाली कोरिडोर अनिश्चितकालका लागि बन्द गरेको छ। क्लबले आइतबार (आज)देखि अनिश्चितकालका लागि कर्णाली कोरिडोर बन्द गरेको हो।
यसअघि जेठ ८ गते जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र राजनीतिक दलहरूबिच भएको २४ घण्टे सम्झौता कार्यान्वयन नभएको र उल्टै स्थानीयका घरहरूमा लुटपाट र तोडफोडका घटना थपिएकाले आरोपसहित बन्दको आह्वान गरिएको क्लबले जनाएको छ।
हिमाली गाउँपालिका वडा नं ३ को लाम्पाटामा स्थानीयका घरहरूमा लुटपाट र तोडफोड हुनुका साथै स्थानीय बासिन्दामाथि निर्मम कुटपिट भएको थियो। क्लबका अनुसार हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकाका केही व्यक्तिहरू यस घटनामा संलग्न रहेका छन्। उनीहरूले स्थानीय बासिन्दाका साथै भ्रमणमा आएका पर्यटकहरूको समेत व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति लुटेको आरोप लगाइएको छ।
लाम्पाटामा भएको घटनाको स्थलगत अनुगमन गरी तत्काल सर्जमिन मुचुल्का तयार गर्नुपर्ने, हुम्ला जिल्लाका संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याई लुटिएको धनमालको क्षतिपूर्ति पीडितलाई उपलब्ध गराउनुपर्ने, कुटपिटबाट घाइते भएका स्थानीयहरूको उपचारको जिम्मा पीडक पक्षले लिनुपर्ने, लाम्पाटा च्याचौरका विस्थापित परिवारलाई पुनर्स्थापित गरी सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने र निर्माणाधीन प्रहरी चौकी भवनमा पुर्याइएको क्षतिको क्षतिपूर्ति भराई भवन निर्माण कार्य तुरुन्त अगाडि बढाउनुपर्ने क्लबको माग छ ।

हुम्लामा आन्दोलनको तयारी
सिमा समस्यालाई लिएर गैर कानूनी रुपमा कर्णाली कोरिडोर बन्द गरेको भन्दै हुम्लाका स्थानीयले आन्दोलनको तयारी तयारी गरेका छन् ।
हुम्ला-बाजुराको सिमा क्षेत्रमा विवादित भएका भूभागहरु लाम्पाटा, च्याचौर, रानीखर्क (रानीचौर) हुम्लाका भएको यथेष्ठ प्रमाण हुँदाहुदैं बाजुराले एकतर्फ आप्mनो दावी गर्दै उत्तः क्षेत्रमा भोक चलन गरेको नागरिकलाई अनावश्यक दोषी करार गरेको भन्दै सर्व पक्षिय बैठकले आन्दोलनको तयारी थालेको हो ।
आज बिहान सिमको गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीको अध्यक्षतामा बसेको जिल्लाका जनप्रतिनिधि, राजनीतिक दल, सञ्चारकर्मी, उद्योगी व्यावसायीहरुको बैठकले सर्वपक्षिय बैठकले बाजुराको तर्फबाट कर्णाली कोरिडोर पटक पटक अवरुद्ध गरेर हुम्लाका नागरिकलाई बन्धक बनाउने काम गरेको उल्लेख गर्दै आन्दोलनको तयारी गरेको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलले जानकारी दिनुभयो ।
'बाजुरा तर्फबाट प्रतिबन्धीत राष्ट्रिय चरा डाँफेको चोरी शिकारी गर्ने, अवैध रुपमा जंगल फणानी गरेर काठ तस्करी गर्ने जनप्रतिनिधिले नैं उल्टै तस्करीको करार हुम्ली नागरिकलाई गर्ने काम गर्नु कुनैपनि हालतमा राम्रो होइन भन्ने निष्कर्ष जिल्लाको सर्वपक्षिय बैठकले गरेको छ', रावलले नेपालवोटलाई भने, 'अवैध काम गर्ने जनप्रतिनिधि र बाजुरा पक्षलाई कानून बमोजिम कारबाहीको माग र अवरुद्ध बनाईको कर्णाली कोरिडोरलाई नियमित सूचारु गर्ने माग सहित जिल्लामा समेत आन्दोलनको तयारी भैरहेको छ ।'
प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३ १५:०५