सिमकोट । सीमा क्षेत्रको भूभाग स्वामित्वको विषयमा लामपाटा क्षेत्रमा भएको झडपमा संलग्न भएको आरोपमा मुद्धा दायर भएका हुम्लामा २२ जनालाई प्रहीले नियन्त्रणमा लिएको छ ।
गएको जेठ ४ गते हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्र लामापाटामा दुई जिल्लाका स्थानीय बीच भएको झडपमा भाइते भएका बाजुराको हिमाली गाउँपालिका ३ का पेमागारा गुरुङसहितका बाजुरा जिल्लाका घाइतेको तर्फबाट जिल्ला प्रहरी कार्यालय बाजुरामा दर्ता गराएको मुद्धाको छानविनका लागि प्रहरीले हुम्लाका २२ जनालाई नियन्त्रणमा लिएर बाजुरा पुर्याएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नयाव उपरिक्षक शंकर खड्काले जानकारी दिए ।
‘घटनाका बारेमा थप छानविन गर्नका लागि जिल्ला अदालत बाजुराबाट जारी भएको पक्राउँ पुर्जिका आधारमा आज हामीले घटनामा दोषी दावी गरिएका खार्पुनाथ गाउँपालिका २ थालीका २१ र सर्केगाड गाउँपालिका २ रिपका १ जना गरेर २२ जनालाई बाजुरा पठाउने काम गरेका छौं’, डिएसपी खड्काले नेपालवोटसँग भने, ‘सीमा स्वामित्वको विषयलाई लिएर हुम्ला र बाजुरा जिल्ला बीच भएको विवादलाई शान्त पार्न हुम्लाका स्थानीय तह, राजनीतिक दल र नागरिक अगुवाहरुको सहयोगमा सबैजनालाई एकमुष्ठ रुपमा हामीले बाजुरा जिल्लाकमा पठाउन सफल भएका हौं ।’
सीमा स्वामित्वका विषयमा नेपाल सरकारले गठन गरेको अध्ययन समिति हुम्ला पुगेकै भोलीपल्ट बाजुरा जिल्लाकातर्फबाट अभियुक्त बनाइएका सबैजनालाई हुम्ला प्रहरीले बाजुरा लिएको हो ।
बाजुराका तीन विरुद्ध पनि पक्राउ पुर्जी जारी
हुम्लाको डिभिजन वन कार्यालयले बाजुराका तीन जना विरुद्ध पनि पक्राउ पूर्जि जारी गरेको छ ।
हुम्ला र बाजुरा जिल्लाको विवादित सीमा क्षेत्रमा वैशाख ३ गते थला सामुदायिक वन क्षेत्रमा राष्ट्रिय पंक्षी डाँफे, लोपउन्मुख जंगली जनावर झारल र फल्याक ५ सय थान, कडी २ सय थान काठ सहित फेला परेका बाजुराका पेमागारा गुरुङ, खडक सिंह गुरुङ र छपिलाल कुँवरलाई पक्राउ पुर्जी जारी गरिएको डिभिजन वन कार्यालय हुम्लाले जनाएको छ ।

नेपालको कानूनले बन्देज गरेका पंक्षी, जंगली जनावर र काठ सहित फेला परेका तिनैजना विरुद्ध जेठ २८ गते नै पक्राउ पूर्जी जारी गरिएको डिभिजन वन अधिकृत महेश कुमाइले जानकारी दिए ।
‘थला सामुदायिक वनका अध्यक्ष हितको टोलीले गएको जेठ ३ गते उक्त वन क्षेत्रमा फेला परेका उक्त पंक्षी, जनावर, काठ, केहि काठ काट्ने मेशिन बरामत गरेको मुचुल्का सहितको निवेदनका आधारमा दर्ता भएको मुद्धाको तहकिकात सँगै निज अभियुक्तहरुलाई पक्राउ गरी अनुसन्धानका लागि बाजुरा जिल्लामा लेखि पठाइएको छ’, वन अधिकृत कुमाइले भने, ‘हामीसँग बाजुरा जिल्ला प्रहरीले केहि दिनमा नियन्त्रणमा लिएर छिठ्ठै यता (हुम्ला) पठाउँछ होला ।’
यो विषयमा बाजुरा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक शैलेश्वरी बेहराले पक्राउ पूर्जि जारी गरिएका व्यक्तिलाई नियन्त्रणमा लिने प्रक्रिया पुरा भएको पुष्टी गरिन् । ‘हुम्ला र बाजुराको सीमा स्वामित्वका विषयमा भएको विवदामा पहिले हातापात र मान्छेलाई बन्धक बनाएको भन्दै बाजुरा पक्षबाट दायर भएको मुद्धामा दोषी दावी गरेका २२ जनालाई आज (शुक्रबार) यहाँ (बाजुरा) पुर्याइएको छ । अब हामी हुम्लाबाट दोषी दावी गरिएका व्यक्तिलाई पनि नियन्त्रणमा लिएर उता (हुम्ला) पठाउने काम गर्ने छौं’ प्रहरी प्रमुख बोहराले थपिन् ।
प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३ २०:०४