सिमकोट । हुम्ला–बाजुराबीच भएको सीमा स्वामित्व विवादको अध्ययन गर्न सरकारद्धारा गठित समिति समक्ष हुम्लावासीले तथ्य र कानूनी प्रमाण पेश गरेका छन् ।
अध्ययन समितिको टोली हुम्ला पुगे लगत्तै जिल्लाका तर्फबाट जिल्ला समन्वय समिति प्रमुख शिवराज शर्माले कानूनी, प्रशासनीक र सामाजिक प्रचलनमा आधारित तथ्यहरु सहितको प्रतिवेदन नापी विभागका उपमहानिर्देशक एवं अध्ययन समितिका संयोजक सुशील डंगोललाई पेश गरेका हुन् । जिल्ला प्रशासन कार्यालय हुम्लामा आयोजना गरिएको कार्यक्रममा उक्त विवादित भूमिक हुम्लाको स्वामित्वमा रहेको उल्लेख गर्दै समितिलाई विभिन्न सुझाव दिएका हुन् ।
विवाद हुने वित्तिकै हुम्ला जिल्लाको तर्फबाट गठित तथ्य संकलन समितिका संयोजक नवराज महताराले जिल्लाको तर्फबाट संकलित तथ्यहरुलाई समिति समक्ष प्रस्तुत गरेका छन् । जिल्लाका विभिन्न क्षेत्रमा खोजविन गर्दा वि.सं. १९६२ सालयताका प्रमाण, अदालतका फैसला र ७ नम्बरे फारम, मुडहरुका आधारमा पनि लामपाटा, च्याचौरदेखि रानीखर्क हुम्लाकै स्वामित्वमा रहेको उल्लेख गर्दै महताराले समिति समक्ष प्रमाण् सहितको तथ्यगत प्रस्तुति गरेका हुन् ।
सीमा विवाद अध्ययन टोलीसँग हुम्ला जिल्लाको तर्फबाट भएका प्रमाण, पुस्तौदेखि गर्दै आएको भोगचलन र स्थानीयले भोगेका अनुभव सुनाएको छलफलमा सहभागी खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए ।
दुई जिल्लाबीच देखिएको सीमा विवाद भएको क्षेत्रमा हुम्लाकै तत्कालीन गाउँपञ्चायत र गाउँ विकास समितिबीच विवाद भएपछि जिल्ला अदालत र जुम्ला अदालतमा पुगेको र त्यसको फैसला, जरिवाना, मिलापपत्र गरिएको प्रमाणसमेत पेस गरिएको उनले बताए ।
त्यसैगरी खार्पुनाथ गाउँपालिका– २ का पूर्व वडाध्यक्ष ७० वर्षका कर्णबहादुर रावलले नौ वर्षको उमेरबाटै आफू भेडा पालनका लागि लाम्पाटा च्याचौर क्षेत्रमा गएको, जडस्बुटी सङ्कलन गरेर आफूहरूले अहिलेसम्म भोगचलन गर्दै आएको टोलीलाई सुनाए ।
२०३४ सालमा लाम्पाटा च्याचौरमा आफू एउटा अध्ययनका लागि पुगेको बताउँदै हुम्ला जिल्लाका पूर्व सांसद छक्कबहादुर लामाले सीमाबारे आफ्नो अनुभव सुनाएका थिए ।
उनले गुगलभन्दा पनि भूगोलमा पुगेर मात्र सीमा विवाद समाधान गर्नुपर्ने सुझाव दिए। कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी, नाम्खा गाउँपालिकाका अध्यष प्रेमबहादुर लामा, सर्केगार्ड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया, ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले पनि स्थानीयको भोगचलन, हालको अवस्थाका वारेमा समितिको टोलीलाई जानकारी गराएका थिए ।
कार्यक्रम नाम्खा गाउँपालिका– ३ का ८३ वर्षका खगालगाउँका रघु लामाले आठ वर्षको उमेरबाट रानी खर्कमा चौरीको गोठालो लागेको सुनाए। टोलीलाई हुम्लावासीको तर्फबाट तत्थ्य, प्रमाण, अदालतको फैसलालगायत कागजात प्रमाणका रूपमा पेस गरेका छन् ।
समितिका संयोजक डंगोलले तथ्य र यथार्थ स्थानीय स्तरबाटै बुझ्न टोली जिल्लामा आइपुगेको बताए। टोलीमा प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव हरिप्रसाद गुरागाई, गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारी, कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयका उपसचिव खिमानन्द अर्याल र सुदूरपश्चि प्रदेश मुख्यमन्त्री कार्यालयका उपसचिव नारायण शाह हुम्ला आइपुगेका हुन् ।
लाम्पाटा झडपको छानबिन गर्न यसअघि गृह मन्त्रालय नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विमलराज पौडेलको संयोजकत्वमा एक जाँचवुझ समिति गठन गरेको थियो । सो समितिले दुवै जिल्लाको स्थलगत अध्ययनपछि प्रतिवेदन गृह मन्त्रालयमका बुझाइसकेको छ ।
प्रकाशित मिति: शनिबार, असार ६, २०८३ १५:५८