हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–८ स्थित स्याँडा पहिलो पटक सडक सञ्जालमा जोडिएको छ ।
सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२।०८३ मा स्याँडा यांगु सडक खण्डमा १ करोड १२ लाख रुपियाँ वजेट कार्यान्वयनले सडम निर्माण भएपछि पालिकाको वडा नम्बर ८ औपचारिक रुपमा सडक सञ्जालमा जोडिएको हो ।
आज स्याँडा गाउँमा पहिलो पटक गाडी पुगेको छ । पहिलो पटक गाडी पुगेपछि स्थानीयबासी खुसि भएका छन् । संघियता आएको एघार वर्ष वर्ष पछि स्याँडाका नागरिकले गाउँमै पहिलो पटक गाडी गुडेको देखेका छन् ।
सिंगो हुम्ला जिल्ला नैं राष्ट्रिय सडक सञ्जालमा जोडिएको एक वर्ष पछि स्याँडा पालिका केन्द्र र कर्णाली कोरिडोरसँगको सडक सञ्जालमा जोडिएको हो । यो सँगै जिल्ला सदरमुकाम समेत रहेका सिमकोटका आठ वटै वडा सडक पहुँचमा पुगेको सिमकोट गाउँपालिका अध्यक्ष बिजय भण्डारी प्रतिरोधले जानकारी दिए ।
'निकै लामो प्रयास र मेहनतका साथ हामीले पालिकाका सबै वडालाई सडक सञ्जालमा जोड्न सफल भएको छौं', पालिका अध्यक्ष भण्डारीले नेपाल वोटसँग भने, 'यद्यपी वडा नम्बर आठलाई जाड्ने बाटो कर्णाली नदिमा भएकाले नदि माथिको पुल भने अँझै प्रभावकारी रुपमा निर्माण् ागर्न सकिएको छैन् ।'
कर्णाली नदि साँघुरो भएको स्थानमा सामान्इ काठे पुलको सहायताले गाडी पास गराउन काम भएको बताएका भण्डारीले संघ र प्रदेश सरकारको सहयोगले त्यसलाई पक्की पुल निर्माणको काम अघि बढाइने प्रतिक्रिया दिए ।
पालिकाका अन्य सात वडामा यस अघि नैं सडक पुगेको भएपनि स्याँडागाउँ कर्णाली नदि भन्दा पारी परेको र भौगोलिक कठिनाई भएकाले सडकको पहुँचमा पुग्न निकै समय लागेको स्याँडाका स्थानीय लोकराज बुढाले जानकारी दिए ।
'यस अघि हामीहरुलार्य कर्णाली पार गरे र सिमकोट गाउँन होस् वा अन्यत्र कतै जान पैदलको विकल्प थिएन', स्थानीय बुढाले थपे, 'पालिकाको ठूलो मेहनतका कारण ढिलै भएपनि आज गाउँमै गाडी पुगेपछि यस अघि हामीले भोगेका सबै दुःख पिंडा भुलाउने काम भएको छ ।'
गाउँमै गाडी पुग्दा स्थानीय खुशी
पहिलो पटक आप्mनो गाउँमा सवारीसाधन पुगेपछि स्थानीय बासिन्दामा खुसी छाएको छ । सडक पहुँच नहुदा दशकौसम्म पैदल यात्रा र घोडा–खच्चडको भरमा दैनिक आवश्यक सामग्री ओसारपसार गर्दै आएका गाउँलेहरूलाई गाडी पुगेसँगै निकै धेरै सहज हुने अनुमान गरिएको छ ।
गाउँसम्मै गाडी पुगेपछि स्थानीयले फूलमाला, बाजागाजा सहित गाडीलाई स्वागत समेत गरेका छन् । गाउँमा पहलिो पटक पुगेको गाडीमा रहेका गाउँपालिका कर्मचारी, जनप्रतिनिधि, चालक तथा निर्माणमा संलग्न व्यक्तिहरूलाई स्थानीयले सम्मान गरेका छन् ।
बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म पहिलो पटक आफ्नै गाउँमा गाडी देख्न पाउँदा उत्साहित देखिएका छन । कतिपयले यस क्षणलाई गाउँको इतिहासमै नयाँ अध्यायको सुरुवातका रूपमा वर्णन गरेका छन् ।
स्थानीयका अनुसार सडक सञ्जालनमा आएपछि खाद्यान्न, निर्माण सामग्री, औषधि तथा अन्य अत्यावश्यक वस्तुहरू सहज रूपमा गाउँसम्म पुग्ने अपेक्षा गरिएको छ । यससँगै बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन, कृषि उत्पादन बजारसम्म लैजान तथा विद्यार्थीको आवतजावतमा समेत ठूलो राहत पुग्ने भएको छ । स्थानीय जनप्रतिनिधिहरूले सडक निर्माणले गाउँको आर्थिक, सामाजिक र शैक्षिक विकासमा सकारात्मक प्रभाव पार्ने सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले बताए । उनीहरूले अब सडकको नियमित मर्मत, सुरक्षित सञ्चालन तथा स्तरोन्नतिमा सबै पक्षले ध्यान दिनुपर्ने आवश्यकता भएको अधिकृत पंगालीले बताए ।
स्थानीयवासीले वर्षौंदेखिको सपना साकार भएको भन्दै सरकार, निर्माणमा खटिएका प्राविधिक तथा श्रमिकप्रति आभार व्यक्त गरेका छन् । उनीहरूका अनुसार गाउँमा पहिलो पटक गाडी पुग्नु केवल यातायातको सुविधा मात्र नभई विकास, अवसर र समृद्धिको नयाँ ढोका खुलेको वडा नम्बर आठका वडा अध्यक्ष कमल बुढाले बताए ।
गाउँमा गाडी पुगेपछि स्थानीयमा नयाँ आशा जागेको छ । अब शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा व्यापार–व्यवसायका क्षेत्रमा थप सम्भावना सिर्जना हुने विश्वास गरिएको छ । गाउँलेहरूले सडकको दिगो संरक्षण गर्दै विकासका आगामी योजनालाई पनि तीव्रता दिन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, असार १८, २०८३ ००:१५