सिमकोट । वर्षभरी कहिले सुख्खा पहिरो त कहिले हिलाम्य पहिरो खसिरहने भएपछि कर्णाली कोरिडोरमा मेसिनरी र जैविक (बायो–इन्जिनियरिङ) प्रविधि अपनाएर स्तरोन्नतीको काम अघि बढाउन थासर्लको हो ।
ुहम्ला, मुगु, बाजुरा लगायत कर्णाली क्षेत्रको जीवन मार्गका रुपमा रहेको कोरिडोर अन्तर्गत हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका–१ को बालुकुनादेखि सलीसल्लासम्मको सडक स्तरोन्नति कार्य दुई वटा प्रविधिबाट गरिने भएको छ।
यस क्षेत्रमा सधैँ सुख्खा पहिरो र पहिरो खसिरहने भएकाले मेसिनरी र जैविक (बायो–इन्जिनियरिङ) प्रविधि अपनाउन लागिएको कर्णाली कोरिडोर उत्तरी खण्ड (हिल्सा सिमकोट) सडक आयोजनाका प्रमुख वेलबहादुर नेपालीले जानकारी दिए ।
'कोरिडोरको खच्चा खण्डको कच्ची क्षेत्रको तीन सय मिटरभन्दा बढी सडकमा वर्षामा पहिरो र हिउँदमा सुख्खा पहिरो बारम्बार खसिरहने भएकाले आधुनिक प्रविधिको मेसिनरी वाल र ग्याभिन लगाउने र जैविक प्रविधि पनि अपनाएर निर्माण कार्य अगाडि बढाउन थालिएको छ', आयोजना प्रमुख नेपालीले नेपालवोटसँग भने, 'यो कार्य सम्पन्न भएपनि खच्चाको बाटोमा जाने पहिरोका कारण हुने बाटो अवरुद्ध केहि कम हुन सक्छ ।'
उनका अनुसार सडकलाई दिगो र गुणस्तरीय बनाउनका लागि यस्तो कार्य गर्न लागिएको र पहिरो खस्ने कच्ची खण्डमा सो समस्या समाधानका लागि यी दुवै प्रविधिबाट सडक स्तरउन्नति गर्न लागिएको हो ।
हाल दैनिकजसो पानी परेको समयमा पहिरो र घाम लागेको समयमा सुख्खा पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ।
यो समस्या समाधानका लागि सडक विभागले एक वर्ष अगाडि विज्ञ टोली खटाएर स्थलगत रूपमा अध्ययन गराएको थियो र सोही टोलीको अध्ययन प्रतिवेदन तथा सम्भाव्यता अनुसार अहिले उक्त सडक निर्माण गर्न लागिएको हो।
अब आगामी आर्थिक वर्ष २०८३र२०८४ मा बालुकुनादेखि सलीसल्लासम्मको सडक स्तरउन्नति तथा कालोपत्रे गर्नका लागि एक अर्ब बजेटको व्यवस्था भएको छ।
उक्त खण्डको सडक स्तरउन्नति र कालोपत्रे गर्ने कार्य अब चाँडै सुरु हुनेछ। सो खण्ड १३ किलोमिटर दूरीको रहेको छ।
साउनमा टेन्डर लाग्ने र त्यसको लगत्तै निर्माण कार्य अगाडि बढ्ने जनाइएको छ।
यता खुलालु–सलीसल्ला अन्तर्गत खुलालु–बालुकुना सडकका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेर बजेटको व्यवस्था गरेपछि निर्माण कार्य भइरहेको छ।
यस कार्यले कोरिडोर अन्तर्गत उक्त खण्ड स्तरउन्नति तथा कालोपत्रे गर्ने योजना अघि बढिसकेको छ।
कालिकोटको खुलालुदेखि कोटसम्म १३ किलोमिटर र भुक्काखोलादेखि बाजुराको पिलुचौरसम्म १५ किलोमिटर सडक कालोपत्रे गर्न करिब दुई अर्ब १५ करोड रुपैयाँ बराबरको बहुवर्षीय ठेक्का सहमतिका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाइएको थियो।
उक्त खण्डको स्रोत सुनिश्चित भइसकेको छ र ४१ किलोमिटर सडकको ठेक्का चाँडै व्यवस्थापन गरिनेछ।
कोरिडोर प्रवेशद्वार खुलालु–सल्ली खण्डको ३५ किलोमिटर ग्राभेल सडक स्तरोन्नति भइसकेको छ।
पालतातडीको घाटचौरदेखि भुक्काखोलासम्म ११।५ किलोमिटर क्षेत्रमा नेपाली सेनाले कडा चट्टान फुटाउने काम गरिरहेको छ।
पिलुचौरदेखि कुवाडी २३ किलोमिटर र कुवाडीदेखि तुम्चा २७ किलोमिटर खण्डमा कालोपत्रेका लागि ठेक्का व्यवस्थापन भई काम सुरु भइसकेको छ।
कोरिडोरका १५ मध्ये नौ वटा पुल निर्माणाधीन अवस्थामा छन् भने ६ वटा पुलका लागि बजेट सुनिश्चित भएको छ।
ती पुल निर्माणका लागि करिब ६२ करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको आयोजनाले जनाएको छ।
कालिकोट–बाजुरा सीमामा पर्ने भुक्काखोला, सेराखोला, बाँधुखोला, तुसारेखोला, पैमाखोला र मकैखोलामा पुल निर्माणका लागि बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाइएको छ।
चालु वर्षको अन्त्यसम्म पिलुचौर–कुवाडी खण्डको केही भागमा कालोपत्रे गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ।
प्रकाशित मिति: शनिबार, असार २७, २०८३ ०९:२०