सिमकोट । हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले जिल्लाको सार्वजनिक सेवालाई प्रभावकारी, चुस्त, दुरुस्त र प्रभावकारी बनाउने आप्mनो प्राथमिकतामा रहेको बताएका छन् ।
प्रमुख जिल्ला अधिकारीको रुपमा पदभार ग्रहण गरेलगत्तै जिल्लाका क्रियाशील पत्रकारहरूसँग भेटघाट कार्यक्रमको आयोजना गर्दै प्रमुख जिल्ला अधिकारी गुरागाईले यस्तो बनाएका हुन् ।
हुम्ला भौगोलिक रूपमा विकट र ठूलो जिल्ला भएकाले सेवा प्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने काम मेरो पहिलो प्राथमिकता हुनेछ, अधिकारी गुरागाईले थपे, जिल्लाको शान्ति सुरक्षा, विपद् व्यवस्थापन, विकास निर्माणमा सहजीकरण, नागरिकता लगायतका प्रशासनिक सेवा सहज रूपमा उपलब्ध गराउन म सँधैप्रतिबद्ध हुनेछु ।
प्राकृतिक तथा अन्य विपद्को व्यवस्थापनमा सबै निकायसँग समन्वय गरेर काम गर्ने र नागरिकले कुनै पनि प्रशासनिक सेवामा दुःख नपाउने वातावरण निर्माण गर्न आफू लागि पर्ने जानकारी गुरागाइले दिए ।
कार्यक्रममा जिल्लामा हुने विकास निर्माणका कामलाई प्रभावकारी बनाउन, हुम्लामा भित्रिने चिनियाँ मदिराको निगरानी गर्न, बजार अनुगमनलाई नियमित बनाउन, दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न तथा सरकारी कार्यालयका प्रमुखहरूलाई नियमित रूपमा कार्यस्थलमा उपस्थित हुने वातावरण निर्माण गर्न जिल्लामा कार्यरत पत्रकारहरूले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।
कार्यक्रममा जिल्लाका ञ्चारकर्मीले हुम्ला–बाजुरा सीमा विवादको विषयमा सत्यतथ्य छानबिन गरी समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् । साथै बाजुराको हिरासतमा रहेका २१ जना हुम्ली नागरिकको घटनाबारे छिटो अनुसन्धान गरी आवश्यक समन्वय गर्न जिल्ला प्रशासन कार्यालयले सक्रिय भूमिका खेल्नुपर्ने माग गरेका छन् ।
बिहीबार हुम्ला आइपुगेर जिल्ला प्रशासन कार्यालयमा पदभार ग्रहण गरेका अधिकारी गुरागाईले शुक्रबार पत्रकारहरूसँग जिल्लाको वस्तुस्थिति, रहनसहन, विकासका चुनौती तथा सञ्चार क्षेत्रसँग समन्वयका विषयमा छलफलको आयोजना गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले प्रमुख जिल्ला अधिकारीलाई हुम्लाको समग्र अवस्था, यहाँको भौगोलिक चुनौती र स्थानीय सरोकारका विषयमा जानकारी गराउने उद्देश्यले पत्रकारसँग भेटघाट कार्यक्रम आयोजना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, असार २७, २०८३ १०:२५