दैलेख । दैलेखमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले लापसे (लागू पदार्थ सेवन) र मापसे (मद्यपान) परीक्षणमा कडाइ गरिएको छ ।
डुङ्गेश्वर गाउँपालिका १, चुप्रामा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको सहयोग, जिल्ला प्रहरी कार्यालय दैलेखको समन्वय, स्वास्थ्य सेवा कार्यालय दैलेखको प्राविधिक सहयोग तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखको आयोजनामा लापसे र मापसे परीक्षण अभियान सञ्चालन गरिएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आनन्द सारुले सवारी चालकहरूलाई लागूपदार्थ वा मद्यपान गरेर सवारी साधन नलगाउन कडा आग्रह गरे । नियम उल्लंघन गर्नेलाई सरकारले कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी समेत उनले दिए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी श्रवण विकले सवारी दुर्घटना न्यूनीकरणका लागि कानुनको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताए । मादक पदार्थ तथा लागूपदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्तिप्रति प्रहरीले शून्य सहनशीलताको नीति अवलम्बन गरेको उनले स्पष्ट पारे । उनले चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै सडक सुरक्षालाई सबैको साझा जिम्मेवारीका रूपमा लिएर प्रहरीसँग सहकार्य गर्न आह्वान गरे ।
सुर्खेत–दैलेख सडकखण्डमा हुने सवारी दुर्घटना कम गर्न स्थानीय सरकारको दायित्व अर्न्तगत साझेदारीमा यो कार्यक्रम सञ्चालन गरिएको डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसीले बताए । त्यस्तै, वडा नं। १ का वडाध्यक्ष श्याम रानाले आफ्नो वडा क्षेत्रमा सञ्चालन गरिएको यो अभियानले चालकहरूमा सचेतना जगाउनुका साथै दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष कमल शर्माले सडक सुरक्षा अभियानलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए । ट्राफिक सचेतना, जिम्मेवार सवारी सञ्चालन तथा दुर्घटना न्यूनीकरण सम्बन्धी सन्देश जनस्तरसम्म पुर्याउन सञ्चार क्षेत्रले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता उनले जनाए ।
सवारी दुर्घटना न्यूनीकरण तथा यात्रुहरूको सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख वरिष्ठ प्रहरी निरीक्षक जयसिंह गुरुले जानकारी दिए । चालक तथा सहचालकले लापसे वा मापसे गरेर सवारी चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक बढ्ने भएकाले विशेष निगरानी बढाइएको उनले स्पष्ट पारे । चालकहरूको लापसे तथा मापसे जाँच गर्ने यो अभियान आगामी दिनमा पनि आकस्मिक रूपमा निरन्तर सञ्चालन गरिने उनले बताए । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने सर्वसाधारणको जिउधनको सुरक्षामा मत्वपूर्ण सहयोग पुग्ने कार्यालय प्रमुख गुरुलले विश्वास व्यक्त गरे ।
यस अभियानले सडक सुरक्षामा सकारात्मक प्रभाव पार्नुका साथै सवारी दुर्घटना नियन्त्रणमा उल्लेखनीय सहयोग पुग्ने विश्वास गरिएको छ । चालक तथा सहचालकलाई जिम्मेवार भएर ट्राफिक नियमको पालना गर्दै सुरक्षित रूपमा सवारी सञ्चालन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले अनुरोध गरेको छ ।
प्रकाशित मिति: सोमबार, असार २९, २०८३ २०:०७