सुर्तेत । सत्ता साझेदार नेपाली कांग्रेसका मन्त्रीहरूले कर्णाली प्रदेश सरकार परित्याग गरेपछि मुख्यमन्त्री यामलाल कडेलले “अलि अधैर्य भएको हो कि” भन्ने टिप्पणी गरेका छन्।
उनले आफू मुख्यमन्त्री पदमा बसिरहनुपर्छ भन्ने मान्यतामा नरहेको पनि बताए। तर त्यसका निम्ति केन्द्रीय तहमा समग्र निर्णय आवश्यक हुने उनको भनाइ छ।
कांग्रेसका मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। कांग्रेस कर्णाली प्रदेश सरकारको नेतृत्व आफूले पाउनु पर्ने पक्षमा छ।
नेकपा एमालेका सचिव समेत रहेका मुख्यमन्त्री कडेलले आफूले निर्वाचन सकिएपछि चैत महिनामै आफ्नो पार्टी नेतृत्वलाई सरकारको नेतृत्वबारे स्मरण गराएको सुनाए।
“मैले त आफ्नो पार्टी नेतृत्वलाई तपाईँहरूको भद्र सहमतिअनुसारको समय सकियो, के गर्ने हो बेलैमा छलफल गर्नूस् भनेकै हो,” मुख्यमन्त्री कडेलले भने, “कांग्रेस नेताहरूलाई पनि मुख्यमन्त्री परिवर्तनबारे आफ्नो केन्द्रीय तहमा छलफलको विषय बनाउनूस् भनेको हो, नछाड्ने भए किन त्यो सल्लाह दिन्थेँ। तर उहाँहरूमा अलि अधैर्य भयो कि।”
देशभरका ७ मध्ये कांग्रेसले ४ र एमालेले ३ प्रदेश सरकारको नेतृत्व गरिरहेका छन्। त्यसैले प्रदेश मुख्यमन्त्री परिवर्तनको विषय अन्तरप्रदेश विषय भएको उनको भनाइ छ। जुन दुवै दलका केन्द्रीय नेताहरूको निर्णयबाट मात्र सम्भव हुने कडेलले बताए।
“मन्त्री परिवर्तन गर्न सकिन्छ, कांग्रेसले गर्ने नगर्ने तपाईँहरूको कुरा हो तर एमालेका फेरिन्छन् भनेको हो,” उनी भन्छन्, “राजीनामा दिएर कर्णालीमा मात्रै समीकरण तोड्ने कुरा गरेको भए अलग हो, तर उहाँहरूले दिएको पत्र र प्रतिक्रियामा त्यस्तो आएको छैन।”
प्रकाशित मिति: बुधबार, असार ३१, २०८३ १५:१२