काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साढे पाँच महिना लामो विदेश बसाइ र उपचारपछि बिहीबार स्वदेश फर्किँदै छन् ।
जेन–जी प्रदर्शनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परी गम्भीर घाइते भएका देउवा उपचारका लागि १३ फागुनमा सिंगापुर गएका थिए ।
देउवा थाई एयरवेजको उडानमार्फत आज मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । देउवाको स्वागतका लागि विमानस्थलमा ठूलो संख्यामा नेता तथा कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गर्ने तयारी कांग्रेसको संस्थापनइतर पक्षले गरेको छ ।
इतर पक्षले देउवाको आगमनलाई शक्ति प्रदर्शनका रूपमा उपयोग गर्ने रणनीति बनाएको हो । कांग्रेसमा अहिले आधिकारिकताको विवाद फेरि सर्वोच्च अदालतमा पुगेका बेला देउवाको आगमनपछि अब के होला भन्ने कौतुहल छ ।
देउवाको स्वागतका लागि राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा। शशांक कोइरालाको नेतृत्वमा शीर्ष नेताहरू विमानस्थल पुग्नेछन् । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा। शेखर कोइरालासहित पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरूको ठूलो समूह पनि स्वागतका लागि विमानस्थल पुग्नेछ ।
सुदूरपश्चिमबाट देउवाको स्वागतका लागि ठूलो संख्याका कार्यकर्ताहरू काठमाडौं आएका छन् । देउवाले विमानस्थलमै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्ने कार्यक्रम छ ।
त्यसपछि उनलाई नेता–कार्यकर्ताले बाजागाजासहित स्कर्टिङ गरेर लैजाने तयारी छ । त्यसका लागि काठमाडौं, ललितपुर र भक्तपुरका कार्यकर्तालाई पार्टीको झण्डा र देउवाको तस्वीरसहित उपस्थित हुन निर्देशन दिइएको छ ।
स्वदेश फर्किएलगत्तै देउवाले भोलिदेखि सुरु हुने संस्थापनइतर समूहको राष्ट्रिय भेलालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नेछन् ।
देउवाको स्वागतको लागि ठूलो संख्यामा कार्यकर्ता भेला हुने भएपछि सोहीअनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज कँडेलले सुरक्षाको उचित प्रबन्ध मिलाइएको जानकारी दिए ।
स्वागतका लागि भेला हुन तीन स्थान तोकियो
स्वदेश फर्किन लागेका कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वागतका लागि भेला हुन तीनवटा स्थान तोकिएको छ ।विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटको अगाडिको खाली ठाउँ, नमस्ते गेटको अगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पताल अगाडिको खाली ठाउँमा भेला हुन कार्यकर्ताहरूलाई आग्रह गरिएको हो ।
पूर्वप्रधानमन्त्री देउवा साढे पाँच महिना लामो विदेश बसाइ र उपचारपछि बिहीबार स्वदेश फर्किँदै छन् । जेन–जी प्रदर्शनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परी गम्भीर घाइते भएका देउवा उपचारका लागि १३ फागुनमा सिंगापुर गएका थिए ।
देउवा थाई एयरवेजको उडानमार्फत आज मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । देउवाको स्वागतका लागि विमानस्थलमा ठूलो संख्यामा नेता तथा कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गर्ने तयारी कांग्रेसको संस्थापनइतर पक्षले गरेको छ ।
इतर पक्षले देउवाको आगमनलाई शक्ति प्रदर्शनका रूपमा उपयोग गर्ने रणनीति बनाएको हो ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३ १०:०२