मार्तडी । एक सातादेखि त्रिपाल मुनि बसिरहेका बाजुरा जिल्लाका पहिरो पीडितले सरकारको खोजि गरिरहेका छन् ।
४० परिवार एक सतासम्म पालमुनिको वास हुँदा समेत कोहि नआएपछि उनिहरुले सरकारको खोजि गरिरहेका छन् ।
गत बिहीबार मध्यरातिको पहिरोबाट घर भत्किनुका साथै चिराचिरा परेपछि विस्थापित बनेका बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुका ४० घरपरिवार त्रिपालमुनि बसिरहेका छन् । घर फर्किने अवस्था नभएपछि ४० घरपरिवार बल्दे–ताम्सु–मौरे सडकखण्डअन्तर्गत ताम्सु सडकमा त्रिपाल टाँगेर बसेको वडाध्यक्ष नन्द थापाले बताए ।
त्यस्तै, विस्थापितमध्ये १६ परिवार महालक्ष्मी आधारभूत विद्यालयमा र दुई परिवार बिउविजन बचत तथा सहकारी भवनमा आश्रय लिएर बसेका छन् । विस्थापित ६० परिवारमा ३१३ जना छन् । तीमध्ये १०६ महिला, ११३ पुरुष, ८६ बालबालिका र आठजना अपांगता भएका व्यक्ति छन् ।
गत बिहीबारको पहिरोले दुई घर भत्काउँदा २० वर्षीया प्रतीक्षा थापाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका छन् । प्रतीक्षासँगै घरमा सुतेकी उनकी फुपू धौलीदेवी रावल गम्भीर घाइते भएर धनगढीस्थित सेती अस्पतालमा उपचाररत छिन् । पहिरोमा परी गम्भीर घाइते भएकी रावलको उपचारमा समेत आफन्त र सहयोगीको भर पर्नुपरेको परिवारको गुनासो छ । रावलका आफन्त दीपेन्द्र थापाका अनुसार घाइतेको उपचारका लागि आफन्त र सहयोगीबाट संकलन भएको रकमले उपचार भइरहेको छ । स्थानीय, प्रदेश र संघीय सरकारका सम्बन्धित निकायबाट हालसम्म उपचारका लागि सहयोग प्राप्त नभएको उनको भनाइ छ । पहिरोमा परी मृत्यु भएकी प्रतीक्षाको परिवारलाई त्रिवेणी नगरपालिकाले दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । पहिरोले दुई घर पूर्ण रूपमा र २० घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । ३६ घर उच्च जोखिममा छन् । पहिरोले ३० रोपनीभन्दा बढी धानबालीमा क्षति पुगेको छ ।
तत्कालका लागि त्रिपाल र खाद्यान्न
पहिरोपीडितका लागि जिल्ला रेडक्रसले ६१ वटा त्रिपाल उपलब्ध गराएको छ । नगरपालिकाले खाद्यान्न, भाँडाकुँडा तथा ओढ्ने–ओछ्याउने सामग्री वितरण गरेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार जिल्ला प्रशासनले सरोकारवाला निकायसँग समन्वय गरेर तत्काल आवश्यक राहतको व्यवस्थापन गरिरहेको छ । ‘रेडक्रसमार्फत ६१ परिवारका लागि त्रिपाल, मृतक परिवारका लागि किरिया खर्च तथा उच्च जोखिममा रहेका परिवारको यकिन सूची तयार गरेर तत्काल खाद्यान्न र लत्ताकपडाको व्यवस्थापन गरेका छौँ,’ उनले भने ।
दिनमा शान्त हुन्छ, राति कसरी बस्ने ?
५० वर्षीया तुलादेवी थापाको परिवार पनि सडकछेउको त्रिपालमुनि बसेको छ । उनको घर पहिरोले पूर्ण रूपमा पुरिएको छ । ‘गाउँबाट टाढा सडकमा त्रिपाल टाँगेर बसेका छौँ । दिनमा त शान्त हुन्छ, राति कसरी बस्ने ? के खाने, के लगाउने ?’ देशमा नागकिको सरकार छ भन्छन हाम्रा लागि कहाँ छ सरकार ? उनले आँसु पुछ्दै भनिन् ।
त्रिपालले माथिबाट पानी रोकिए पनि जमिनबाट पानी आउने भएकाले ओछ्यानसमेत भिज्ने गरेको उनको गुनासो छ । १० जनाको परिवारसहित त्रिपालमुनि बसिरहेकी उनले सरकारका प्रतिनिधि आएर अवस्था हेरे पनि पर्याप्त राहत नआएको बताइन् ।
‘घटना भएको दिन सरकार गाउँमा आयो । त्यसपछि राहत आउँछ कि भनेर कुरिरहेका छौँ । रेडक्रसले एउटा त्रिपाल र पालिकाले खाद्यान्न दिएको छ । अरू केही पाएका छैनौँ । यस्तै हुने हो भने अबको केहि दिनमा हाम्रा वालबच्चा मात्रै नभएर सबै रोगले थलापर्छौ होला । सरकारको यसमा केहि ध्यान गएकोदेखेका छौनौं,’ उनले भनिन्, ‘सरकार आउँछ, जान्छ । कता हरायो सरकार ?’
छोरी आउँछे भनेर बाटो हेर्दै थिएँ
पहिरोले घर मात्र लगेन, राजुदेवी थापाको परिवारले २० वर्षीया छोरी प्रतीक्षालाई पनि गुमायो । प्रतीक्षाकी आमा राजु र उनका श्रीमान् कर्ण थापा केही महिनाअघि रोजगारीका लागि भारतको दिल्ली पुगेका थिए । बिहीबार साँझ प्रतीक्षाले आमालाई फोन गरेकी थिइन् ।
‘मम्मी, यसपालि भाइटीका लगाउन तपाईंकहाँ दिल्ली आउँछु है । अहिले मालिका पूजा गर्न जाने हुँ । मसँग पैसा छैन, अलिअलि पठाइदिनू,’ छोरीले फोनमा भनेको कुरा राजुले सम्झिइन् । काममा रहेको भन्दै पछि फोन गर्ने बताएर प्रतीक्षाले फोन काटेकी थिइन् । आमाबुबा छोरीको अर्को फोनको प्रतीक्षामा थिए । तर, शुक्रबार बिहान फोनको आवाज होइन, छोरीको शव देख्नुपर्यो । ‘छोरी आउँछे भनेर बाटो हेरेर बसेकी थिएँ । त्यही फोनमा कुरा गरेको आवाज नै अन्तिम बन्यो,’ राजुले आँसु झार्दै भनिन्, ‘पहिरोले घर मात्रै लगेन, २० वर्षकी छोरी पनि लग्यो । अब मसँग के बाँकी रह्यो र ?’
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३ ०९:०९