काठमाडौं । रसुवा बाढीमा तीन जिल्लाका २५० विद्यार्थी र १६ शिक्षक सम्पर्कविहीन भएका छन् ।
रसुवा, नुवाकोट र धादिङका १२ विद्यालयमा बाढीका कारण शिक्षक र विद्यार्थी गरी २६७ जना सम्पर्कविहीन भएका छन्। जसमध्ये २५० विद्यार्थी र १६ जना शिक्षक रहेको विभागले जनाएको छ।
यस्तै, २३३ विद्यार्थी सम्पर्कविहीन भएका छन् भने १७ जनालाई बाढीले बगाएको विभागले जनाएको छ। बाढीमा १५ जना शिक्षक सम्पर्कविहीन भएको र एक जनालाई भने बाढीले बगाएको विभागले उल्लेख गरेको छ।

यसैगरी, निलकण्ठ माध्यामिक विद्यालयका दुई सय विद्यार्थी र चार शिक्षक, कोमिङ स्यामेवाङ्फेल विद्यालयका १६ विद्यार्थी र एक शिक्षक, चण्डेश्वरी विद्यालयका १३ विद्यार्थी तथा नेपाल राष्ट्रिय बेसिक स्कुलका ६ विद्यार्थी सम्पर्कविहीन भएका छन्। यस्तै चिप्लेटीका चार र नव विजय माविका दुई शिक्षकसहित पहिचान नखुलेका एक व्यक्ति सम्पर्कविहीन भएको विभागले जनाएको छ।
त्यस्तै, देउराली, न्यू किम्बोउ बोडिङ स्कूल, पाल्पा सामरी र पशुपति माध्यामिक विद्यालयका एक–एक जना शिक्षक र विद्यार्थी सम्पर्कविहीन छन्।
यस्तै, हाइल्यान्डका ६ र गोसाईकुण्ड माध्यामिक विद्यालयका नौ विद्यार्थी सम्पर्कविहीन रहेको विभागले जनाएको छ।
१७ विद्यालयमा क्षति
बाढीमा परेर १७ विद्यालयमा क्षति पुगेको छ भने करिब १० हजार विद्यार्थीको पठाइ ठप्प भएको शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षा विभागले जनाएको छ।
विभागका अनुसार रसुवा, नुवाकोट र धादिङका १७ विद्यालयमा क्षति पुगेको हो। विभागको तथ्यांकअनुसार, बाढीले नौ सामुदायिक, सात निजी र एक धार्मिक विद्यालयमा क्षति भएको छ।
बाढीले तीन जिल्लाका नौ विद्यालयमा पूर्ण क्षति पुर्याएको छ। त्यस्तै, ६ सामुदायिक, दुई निजी र एक धार्मिक विद्यालयमा पूर्ण क्षति भएको विभागले जनाएको छ। विभागका अनुसार, तीन सामुदायिक र पाँच निजी विद्यालयमा आंशिक क्षति भएको छ।
यसैगरी, नुवाकोटका नौ विद्यालय, रसुवा र धादिङको चार–चार विद्यालयमा क्षति भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ।
बाढीका कारण तीन जिल्लाका ३२ विद्यालयका करिब १० हजारभन्दा बढी विद्यार्थीको पढाइ प्रभावित भएको छ। यी जिल्लाका २१ वटा सामुदायिक, १० वटा निजी र एक धार्मिक विद्यालयमा पठनपाठन हुन नसकेको विभागले जनाएको छ। जसमा नौ हजार ७३२ जना विद्यार्थी अध्ययनरत छन्।
रसुवाका ११, नुवाकोटका १३ र धादिङका आठ विद्यालयको पठनपाठन प्रभावित भएको विभागको तथ्यांकमा उल्लेख छ। नुवाकोटका चार हजार २५८, धादिङका तीन हजार ७०५ र रसुवाका एक हजार ७६९ विद्यार्थीको पठनपाठन रोकिएको विभागले जनाएको छ।

बढी विद्यार्थी शिविरमा
सरकारले बाढी प्रभावित विद्यार्थीलाई शिविरमा राखेको छ। मंगलबारसम्म एक हजार २३० विद्यार्थी शिविरमा रहेको विभागले जनाएको छ।
नुवाकोटको बेलकोटगढी नगरपालिकामा दुई सय, विदुर नगरपालिकामा चार सय र शिवपुरी गाउँपालिकामा ४० विद्यार्थी शिविरमा रहेका छन्। यस्तै, रसुवाको गोसाईकुण्डमा १५० र उत्तरगया गाउँपालिकामा ४४० जना बालबालिकालाई शिविरमा राखिएको छ। सबै विद्यार्थीलाई विद्यालयमा नै राखिएको विभागले जनाएको छ।
विभागका अनुसार, आठ विद्यालय सेल्टरको रुपमा प्रयोग गरिएको छ। रसुवा र नुवाकोटका आठ विद्यालयमा एक हजार दुई सय व्यक्ति बसिरहेका छन्।
शिविरले गर्दा पनि एक हजार तीन सय विद्यार्थीको पढाइ रोकिएको छ। धेरै विद्यालयमा भौतिक क्षति नभए पनि विद्यार्थी सम्पर्कविहीन भइरहेको विभागले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३ २०:२२