काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गेग्य्रानसहितको भीषण बाढी आएको एक साता हुँदा पनि उद्धार सकिएको छैन ।
जलविद्युत् आयोजनाका सुरुङ तथा रसुवाका विकट क्षेत्रमा अझै उद्धार प्रयास जारी छ । सरकारी तथ्यांकअनुसार चार हजार ५७१ जना सम्पर्कविहीन छन् ।
उद्धारमा ढिलाइ भएको भन्दै पीडितका आफन्त थप आक्रोशित हुँदै गएका छन् । यद्यपि, सरकारले खोज तथा उद्धार जारी राखेको छ । सीमित स्रोत–साधन र समन्वयको कमजोरीका कारण खोज तथा उद्धार प्रभावकारी हुन सकेको छैन । १० भदौमा बाढी आएको थियो ।
मंगलबार बेलुकासम्म एक हजार ९३ शव फेला परेका छन् । रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा आइतबारदेखि बल्ल सुरक्षाकर्मी पुगेर खोज तथा उद्धार थालेका छन् । सोमबार वेत्रावतीस्थित एउटै घरमा २४ जनाको शव भेटिएको थियो । त्यस्तै, रसुवामा मंगलबार ३५ शव भेटिएका छन् । सोमबार मात्र टिमुरे क्षेत्रमा ६१ शव भेटिएका थिए । रसुवाको टिमुरे क्षेत्रमा बल्ल खोज तथा उद्धार अभियान थालिएको छ । स्याफ्रुबेँसी, मैलुङलगायत क्षेत्रमा अझै खोज तथा उद्धार टिम पुग्न सकेको छैन ।
रसुवा र नुवाकोटका ६ जलविद्युत्का सुरुङ बाढीले पुरिएका छन् । त्यहाँ करिब पाँच सय कर्मचारी फसेको अनुमान छ । ती सुरुङबाट एक साता हुँदा पनि उद्धार हुन नसकेपछि सुरुङमा फसेकाहरूका आफन्त आक्रोशित हुँदै गएका छन् । गृहमन्त्री सुधन गुरुङले भने प्राप्त स्रोत–साधनअनुसार अधिकतम प्रयास भइरहेको बताए । धेरै लेदो भएको र सुरुङ टालिएकाले उद्धारमा कठिनाइ भएको उनको भनाइ छ । जलविद्युत् आयोजनामा कार्यरत करिब नौ सय कर्मचारी अझै सम्पर्कविहीन छन् । सुरुङभित्र रहेकाको अझै सकुशल उद्धारको आशा जीवितै भए पनि ढिलाइ भइरहेको छ ।
त्यस्तै, भोटेकोशीआसपासका कतिपय विकट क्षेत्रमा आफ्नो मान्छे अलपत्र परेको हुन सक्ने भन्दै खोजी गरिदिन आफन्तहरूले अनुरोध गरेका छन् । तर, हेलिकोप्टरमार्फत पटक–पटक रेकी गर्दा केही नभेटिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री गुरुङले बताए ।
बाढीले बगाएकाहरूको हकमा भने उद्धारभन्दा शवको प्रतीक्षा हुन थालेको छ । बाढीले बगाएकाहरूलाई सकुशल भेट्टाउने सम्भावना क्षीण हुँदै गएपछि कतिपय आफन्तले कुशको प्रतीकात्मक शव बनाएर दाहसंस्कार गर्न थालेका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३ ०७:४९