काठमाडौं । रसुवाको भोटेकोसी बाढीपछि सम्पर्कविहीन हुनेको संख्या बढ्न थालेको छ ।
बाढी प्रभावित क्षेत्रमा आफन्त र विभिन्न निकायहरुको चहलपहल बढ्न थालेपछि सरकारले भन्दै आएको य सअघिको संख्या भन्दा बढ्दै जान थालेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार बाढीबाट बेपत्रा हुनेको संख्या पाँच हजार नाघेको छ।
प्राधिकरणले साँझ दिएको जानकारी अनुसार बाढीमा पाँच हजार ८३ जना सम्पर्कविहीन भएका छन् ।
अझै बाढी प्रभावित परिवारले आफन्तको खोजीका लागि निवेदन दिने क्रम जारी रहेकाले यो संख्या पनि बढ्न सक्नेतर्फ प्राधिकरणले संकेत गरेको छ ।
हालसम्म सबैभन्दा बढी नुवाकोट जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ३ सय ४० जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ।
त्यस्तै, रसुवा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार १३० जना सम्पर्कविहीन रहेको जानकारी आएको प्राधिकरणले जनाएको छ।
भदौ १० गते बुधबार रसुवाको भोटेकासीमा गएको बाढीपछि ५८३ जना विदेशी पर्यटक सम्पर्कविहीन छन्।
ज्यान गुमाउनेको संख्या १२ सय ५९
बाढीमा परेर एक हजार दुई सय ५९ जनाले ज्यान गुमाएका छन्।
उनीहरूको शव भोटेकोसी र त्रिशूली नदी किनारका विभिन्न स्थानमा भेटिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पुष्टी गरेको छ ।
बाढीमा परेका मृत्यु भएका मध्ये सबैभन्दा बढी चितवनमा ३५५ जनाको शव भेटिएको छ।
शव भेटिनेमा रसुवा जिल्लामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिममा २१२ जनाको रहेको प्राधिकरणले जनाएको छ ।
बाढी प्रभावितको खोज तथा उद्धारको कार्य जारी रहेको छ। नेपाली सुरक्षाकर्मीसँगै भारत, चीन, दक्षिण कोरियाको टोली पनि खोजबिनमा जुटिरहेका छन्।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३ २१:४९