काठमाडौं । सरकारले रसुवाको भोटेकोसी बाढीले घरबार बिहिन बनाएका नुवाकोट र रसुवाका नागरिकको अस्थायी आवास निर्माणको गर्न जग्गाको खोजि गरिरहेको छ ।
दसैँअगाडि नै बाढीबाट बिस्थापितहरुलाई अस्थायी आवासमा सार्ने योजनाका साथ अस्थायी आवास निर्माण गर्न जग्गाको खोजि भैरहेको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।
'उनीहरूलाई होल्डिङ सेन्टरबाट अस्थायी आवासमा सार्ने तयारी अनुसार काम अघि बढेको छ । अहिले बसेको ठाउँबाट सबै हिसाबले पायक पर्ने ठाउँमै बन्छ। केही क्षेत्रहरू पहिचान भइसकेको छ।’, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले थपिन, ‘बाढी प्रभावित परिवारलाई होल्डिङ सेन्टरमा लामो समय नराख्ने भनेर हामीले अस्थायी बासस्थान बनाउने तयारी थालिसकेका छौं ।’
स्थानीय र प्रदेश सरकारसँगको समन्वयमा सो कार्य अघि बढाइने जानकारी मन्त्री रावलले दिइन् ।
बिहीबार बाढी प्रभावित नुवाकोटका केही वडाको स्थलगत अवलोकन गरेकी मन्त्री रावलले केही पालिकाका जनप्रतिनिधिसँग पनि छलफल समेत गरेको बताइन् ।
‘दसैँका लागि नै बनाइसक्ने चाहना हो। त्यही भएर पहिला स्थानीय तहलाई कति परिवारलाई पुनर्स्थापित गर्नुपर्ने हो, त्यो विवरण छिटोभन्दा छिटो उपलब्ध गराउन भनेको छु,’ भनले थपिन्, ‘स्थानबारे वडाबाट सहमति आइसकेपछि सम्भवतः प्रिफ्याबको घर बनाउने प्रक्रिया अघि बढ्छ।’
पुनर्स्थापनाकै लागि विभिन्न मन्त्रालयका अधिकारी रहेको कार्यदल गठन गरिँदैछ। जसले जग्गाको विषयमा पालिका र वडासँग समन्वय गरेर त्यसको जानकारी मन्त्रालयलाई दिनेछ।
‘बाढीबाट विस्थापितको यकिन संख्या नभएकोले कति जग्गा आवश्यक पर्ने हो, त्यो प्रस्ट छैन। तर, जति परे पनि पर्याप्त जग्गा हामीसँग छ । भदौ १० गतेको बाढीले रसुवा, नुवाकोट र धादिङमा व्यापक क्षति पुर्याउँदा दसौँ हजार मानिसको थातथलो बगाएको छ। विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले विस्थापित परिवारलाई राख्नको लागि १० ठाउँ हेरेका छौं, ,’ मन्त्री रावलले भनिन् ।
पूर्वाधार विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभागको टोलीले विदुरमै बसेर केही दिनदेखि जग्गाको अवस्थाबारे अध्ययन गरिहेको छ।
टोलीले दिएको प्रारम्भिक विवरण अनुसार नुवाकोटमा सबैभन्दा बढी ३ हजार ९७७ वटा घरमा क्षति पुगेको छ। त्यसमध्ये विदुरमा ३ हजार २६, किस्पाङमा ६९६, बेलकोटगढीमा २९२ र तारकेश्वरमा ४३ घर क्षतिग्रस्त भएका छन्। त्यस्तै, रसुवामा १ हजार ७७९ घरमा क्षति पुगेको छ। जसअनुसार गोसाइँकुण्ड गाउँपालिकाको २ र ३ नम्बर वडा तहसनहस भएको छ। सो पालिकामा मात्रै १ हजार ४० घरमा क्षति पुगेको छ।
यस्तै, उत्तरगयामा ५६७ घर क्षतिग्रस्त भएको छ। वेत्रावतीमा ठूलो विध्वंस गर्दा सयौँ मानिस बेपत्ता भएका छन्। दुई वटा ठूला विद्यालय नै बगाउँदा दुई सयभन्दा बढी विद्यार्थी हराइरहेका छन्।
उता, कालिकामा ११२, आमाछोदिङ्मोमा ५७ घरमा क्षति पुगेको छ। अहिले विस्थापितहरूलाई नुवाकोटकै विभिन्न सेन्टरमा राखिएको छ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३ २२:१३