काठमाडौं । संस्थापन पक्षप्रति चिढिदैं गएको नेपाली कांग्रेस संस्थापन इतर समूहले आगामी मंसिर २१, २२ र २३ गते १५ औं केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
चण्डोलस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले महाधिवेशनको पूर्ण कार्यतालिका सार्वजनिक गरेको हो ।
समितिका संयोजक प्रा.डा. सशांक कोइरालाको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनका लागि असोज १५ गतेदेखि तल्लो तहका अधिवेशनहरू सुरु गर्ने निर्णय गरेको सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कुइँकेलले बताए।
सार्वजनिक कार्यतालिका अनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन र असोज २३ गते प्रदेश सभा निर्वाचन क्षेत्र एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन हुनेछ । यस्तै, कार्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते सातै प्रदेशको अधिवेशन गर्ने निर्णय भएको कुइँकेलले बताए । रसुवा, नुवाकोट र धादिङमा बाढीका कारण अधिवेशनको तालिका पछि सार्वजनिक गरिने समितिले जनाएको छ ।
बैठकले महाधिवेशन सम्पन्न गर्न आवश्यक पर्ने विभिन्न समितिहरू गठन गर्ने पूर्ण जिम्मेवारी संयोजक डा. कोइरालालाई सुम्पेको छ । उनले केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति र अनुशासन समिति गठन गर्नेछन् ।
त्यसैगरी, नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल, नेपाल दलित सङ्घ लगायतका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको तदर्थ समिति गठन गर्ने जिम्मेवारी पनि कोइरालालाई नै दिइएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३ ०५:२३