काठमाडौं । रसुवाको भोटेकोसी बाढीमा परेकी चन्द्रिका श्रेष्ठको जीवित उद्धार गरिएको छ ।
नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार भएको छ।
सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार बिदुर नगरपालिका १० बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरबाट उनकी श्रीमती चन्डिकाको सशस्त्र प्रहरीको टोलीले जीवितै उद्धार गरेको हो।
उनी आफै घरको चौथो तालमा फेला परेकी हुन्। बाढीले घर पुरिएको छ। सशस्त्र प्रहरीको टोली पुरिएको घरभित्र खोज तथा उद्धार गर्ने क्रममा श्रेष्ठलाई भेटेको हो।
बाढी प्रभावित बस्तीका घरमा रहेका सामग्री हटाउने क्रममा उद्धार टोलीले उनको आवाज सुनेको खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरी बल १९ नं. गुल्मका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र राउतले बताए। घरभित्र आवाज सुनेपछि सशस्त्र प्रहरीको टोली उद्धार गरेको उनले बताए।
हिलोमा गाडिएको अवस्थामा रहेकी श्रेष्ठलाई उद्धार गरेर थप उपचारका लागि काठमाडौं ल्याइएको छ। अचेत अवस्थामा भेटिएकी उनी उद्धारपछि होसमा आएकी छन्।
त्यस्तै, नेपाली सेना र कोरियाली टोलीले माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको सुरुङबाट शनिबार दिउँसो एक जना चिनियाँ नागरिकको उद्धार गरेको छ। आयोजनाको अडिट-४ सुरुङबाट उनको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
उनी पनि सकुसल छन्। उद्धार पछि उपचारका लागि उनलाई नुवाकोटको त्रिशूलीस्थित सैनिक ब्यारेकमा लगिएको छ।
यसअघि शुक्रबार पनि दुई जनाको उद्धार गरिएको थियो। त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कविर महर्जनलाई उद्धार गरिएको थियो। दुवै जनाको उपचार भइरहेको छ।
बाढीमा परेर हालसम्म एक हजार ३४४ जनाको मृत्यु भएको छ। त्यस्तै, चार हजार ८८७ जना सम्पर्कविहीन छन्। उनीहरूको खोजी जारी रहेको छ।
प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३ १५:४४